बाबुलाल भण्डारी, टोखा टाइम्स । सन् १९८९ डिसेम्बरमा रोमानियाको इतिहासमा आतङ्क र आशाको अन्तिम द्वन्द्व देखियो । जनता कुशासनले थिलथिलो भएपनि सेकुरिटेट (गोप्य प्रहरी)को तीखो आँखा र निर्दयी पञ्जाले सबैलाई मौन बनाएको थियो । अमेरिकीहरूको विश्वासपात्र र २४ वर्षदेखि “कम्युनिष्ट” नामको व्यापक दुरुपयोग गर्ने निकोलाइ चाउचेस्कुले देशलाई एउटा विशाल जेलमा परिणत गरेको थियो । त्यसैले यो विद्रोह कुनै आकस्मिक घटना नभई वर्षौंदेखि सञ्चित आक्रोशको ज्वालामुखी लावा बनेर फुटेको अवस्था थियो ।
असफल षडयन्त्रहरू
एउटा हंगेरियन पादरीले आफ्नो विरोधमा बोलेकोमा उसले त्यस पादरीलाई गिरफ्तार गरी हत्या गरायो र यसैको विरोधमा डिसेम्बर १७ मा त्यहाँ विद्रोह सल्कियो । चाउचेस्कुको आदेशमा सेकुरिटेटले तत्काल ‘अपरेसन स्प्रिङ्’ नामक दमन योजना लागु गर्यो र सडकमा सेनाले अन्धाधुन्ध गोली चलाउँदा रगतको खोला बग्यो । विद्रोहलाई ‘विदेशी तत्वको उक्साहट’ भन्ने व्यापक हल्ला फैलाई दबाउन खोजियो । आम-हत्याको प्रमाण नष्टगर्न मृतकहरूलाई रातारात नजिकैको चिहानबाट निकालेर बुखारेस्ट लगी जलाइयो । यो क्रूरताको चरम सीमा थियो ।
तर षडयन्त्र लुक्न सकेन । मानिसहरूको डर अब साहसमा बदलिई सकेको थियो । अब देशभर रोमानियाका जनताले ‘Now or Never’ भन्ने महसुस गरे ।
निर्णायक दिन:
जनतालाई तर्साउन चाउचेस्कुले डिसेम्बर २१ मा बुखारेस्टको दरबार स्क्वायरमा एउटा विशाल ‘शक्ति प्रदर्शन’को आयोजना गर्यो । भीडबाट जयजयकार गराई आफ्नो भ्रष्ट शासनको वैधता स्थापित गर्न मान्छे खरिद गरेर लाखौंको भिड जम्मा गरिएको थियो ।
चाउचेस्कुले मञ्चबाट पुरानै शैलीमा बोल्दैजाँदा भाषणको बिचमै भिडबाट “हत्यारा चाउचेस्कु – मुर्दावाद !” को नारा गुञ्जियो । यस्तो अप्रत्याशित गर्जनले उसको अनुहारमा पहिलो पटक भय देखियो र उसको आवाज काँप्यो । अब उसले हात हल्लाउँदै भीडलाई शान्त पार्न खोज्यो, तर ढिलो भइसकेको थियो । क्रुद्ध भिड आवासमै छिर्न थालेपछि उसलाई सुरक्षित स्थानमा लुकाइयो ।
त्यस रात, चाउचेस्कुले बुखारेस्टमा कर्फ्यू लगाएर भारि सैन्य उपस्थितिमा आफ्नो नियन्त्रण कायम राख्ने अर्को षडयन्त्र गर्यो । सडकमा उत्रिसकेका जनतामाथि उसले दनादन गोली चलाउने आदेश दिँदापनि सेनाले अब थप नागरिक मार्न इन्कार गरे ।
नाटकीय पतन
डिसेम्बर २२ मा सबैभन्दा ठूलो धक्का तब लाग्यो जब सेनाले विद्रोहीहरूको पक्ष लियो र उसको सेकुरिटेट एक्लो भयो । अब बल्ल चाउचेस्कुको सातो गयो र उसका मन्त्री र सहयोगी पनि एकपछि अर्को गर्दै भागे ।
आफ्नी पत्नी एलेनासङ्गै उ हेलिकप्टरबाट भाग्यो । त्यो जोडी हताशमा एकपछि अर्को ठाउँमा पुग्दा पनि कहिँ सुरक्षित हुन सकेन । तल जहाँसुकै सडकमा विद्रोही जनता मात्र देखिन्थे । उ सवार हेलिकोप्टर नै निशानामा पर्ने स्थिति आएपछि अन्तत: उनीहरू टार्गोविस्टे नजिकै पक्राउ परे ।
सजाय र अन्त
क्रिसमसको दिन, डिसेम्बर २५ मा ती २ लाइ एक द्रुत सैनिक अदालतमा उभ्याइयो । सुनुवाई अवधि भरि चाउचेस्कुले विद्यमान सरकार असंवैधानिक र आफूलाई देशको वैध राष्ट्रपति भन्दै अदालतको खिसिट्युरी र अवहेलना गरिरह्यो । तर जनताको रगतले लतपतिएको इतिहासले उसलाई माफी दिन तयार थिएन । आखिर मृत्युदण्डको फैसला भयो ।
देशका गल्लीगल्ली र चोकचोकमा फोटो राखिएको क्रूर चाउचेस्कु र राष्ट्रमाता भनिएकी पत्नी एलेनाको चिसो सैनिक ब्यारेकमा अन्त्य भयो । यसरी डर र अँध्यारोको युग समाप्त भयो । जनताले रगत र जीवनको मूल्यमा स्वतन्त्रता किनेको त्यो क्रान्ति भ्रष्ट र दमनकारी शासकलाई सधैं एउटा मृत्युको घण्टा बनेर बजिरहेको छ ।