टोखा टाइम्स, काठमाडौँ । आज विश्वभर विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदैछ । त्यसक्रममा टोखामा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।
“पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जीवनयापन” भन्ने मुल नाराका साथ टोखा नगरपालिका वडा नम्बर २ र ३ को संयुक्त आयोजनामा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरु, टोल विकास संस्था, महिला समुह, राजनितीक दलका प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, बुद्धिजीवी, विभिन्न संघसंस्था लगायत वडाबासीहरुले सरसफाई तथा वातावरणसम्बन्धी जनचेतनामूलक र्याली कार्यक्रममा सहभागिता रहेको थियो । गणेशस्थानदेखि सरसफाई तथा वातावरणसम्बन्धी जनचेतनामूलक र्याली टोखावस्ती परिक्रममा पश्चात टोखा -२ को गले पाचाको फूटपाटमा पुगी वृक्षारोपण गरेका थिए । पूर्व उपप्रधान मन्त्री इश्वर पोखरेलले वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रमका लागि नेपाल बैंक लिमिटेड ग्रान्डी शाखा, सेन्चुरी कमर्सियल बैंक टोखा शाखा,ज्योति विकास बैंक टोखा शाखाले क्रमशः ६०० र ४००/४०० विभिन्न वोट विरुवाहरु उपलब्ध गराएको टोखा-२ का वडासदस्य आर्यन डंगोलले जानकारी दिए । साथै प्रगतिशील धारा सुधार समितिको समेत विशेष सहयोग रहेको डंगोले बताए ।
वातावरणको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ । स्वच्छ हावाका लागि आफ्नो परिवेश हराभरा र सफासुघार राख्न वातावरणप्रतिको सजगता अपनाउन टोखा-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले नगरबासीलाई अनुरोध गरेका छन् ।
६ जुन, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनु पर्नेमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता प्राप्तभयो । त्यसै अनुरुप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो वर्ष अर्थात ५ जुन १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रुपमा अंगिकार गरिएको हो ।