टोखा टाइम्स, काठमाडौं । नेपालको संघीय राजधानी काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली कति कमजोर र सम्वेदनशील छ भन्ने कुरा बुधबार बुढानिलकण्ठ नगरपालिकाको चप्पली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएपछि छताछुल्ल भयो । चप्पली सबस्टेसनका १०–१० एमभीए क्षमताका तीन वटा ट्रान्सफर्मरमध्ये एउटाले काम नगर्दा टोखा, झोर, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बुढानिलकण्ठ, तारेभीरलगायत क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भयो । बुधबार बिहान ५ बजेदेखिको यो समस्या अहिलेसम्म समाधान भएको छैन ।
बिग्रिएको ट्रान्सफर्मरबाट निकालिएका पाँचवटा फिडर क्षेत्रमा चाबहिल, बालाजु र लैनचौर सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी बिजुली दिन प्रयास गरेको विद्युत् प्राधिकरणका प्रवक्ता तथा विद्युत् भारण प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराई बताउँछन् । ‘तर, कतिपय क्षेत्रमा विद्युत् आपूर्ति नियमित नभएको हुनसक्छ’ उनले भने ।
समस्याग्रस्त ट्रान्सफर्मर हटाएर जगेडामा ट्रान्सफर्मर जोड्न अझै कति समय लाग्छ भन्ने यकिन छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं चपली पुगेर मर्मतको काम छिटो गर्न निर्देशन दिएका छन्, तर प्राविधिक काम भएकाले चाहेअनुसार हुन सकेको छैन ।
गत तिहारअघि चितवनको भरतपुरस्थित बसेनी सबसस्टेसनको ट्रान्सर्फमर बिग्रिंदा यस्तै समस्या भएको थियो । प्राधिकरणले ३६ घण्टापछि बल्लतल्ल लक्ष्मीपूजाको बिहानबाट घरायसी ग्राहकलाई लाइन दिन सकेको थियो ।
ठूला शहरमा एकैसाथ धेरै घरधुरी प्रभावित हुने गरी भएका यी दुई परिघटना उदाहरण मात्रै हुन् । प्राधिकरणका सबस्टेसनहरुमा यस्ता समस्या बारम्बार आउने गरेका छन् । यस्तो बेला वैकल्पिक सबस्टेसनमार्फत प्रभावित क्षेत्रमा बिजुली आपूर्ति गर्नसक्ने पूर्वाधार बनेकै छैन ।
प्राधिकरणले दैनिक १० करोड रुपैयाँको बिजुली भारतमा बेचिरहँदा प्रणालीकै कमजोरीले देशभित्रै सर्वसाधारण अन्धकारमा बस्नुपर्ने बिडम्बनापूर्ण अवस्था कायम छ । विद्युत् खपत बढाउन अनुरोध गरिरहेको सरकारले त्यसका लागि गर्नुपर्ने पूर्वाधार विकास र स्तरोन्नतीमा चासो दिएको छैन । स्वभाविक रुपमा बढेको विद्युत् खपतसमेत धान्न मुस्किल अवस्थामा पुगिसकेको प्रणालीमा आकस्मिक रुपमा आउने समस्या हटाउने विकल्प प्राधिरकणसँग छैन ।
ट्रान्सफर्मरमा समस्या आइरहँदा वितरण तथा प्रसारणलाइन सुधारको लागि प्राधिकरणमाथि थप दबाव सिर्जना भएको छ । प्राधिकरणले विद्युतको मागसँगै बढेका यस्ता समस्या हल गर्ने काम अगाडि बढाएको छैन ।
अघि बढेका योजना पनि सुस्त गतिमा छन् । कतै मुआब्जा विवाद, वन र रुख कटानको झमेला त कतै स्थानीयको अवरोध छ । प्राधिकरणले प्रणालीमा बढ्दो मागलाई सम्बोधन हुने गरी देशव्यापी पूर्वाधार विकासको काम पनि थाल्न सकेको छैन ।
चरम चापमा चलिरहेको वितरण प्रणालीमा समस्या बढ्दै गए सबस्टेसनहरु नै ‘सटडाउन’ हुने जोखिम रहेको प्राधिकरणका प्राविधिकहरु बताउँछन् । निर्माणाधीन पूर्वाधारलाई छिटो सम्पन्न गर्न नसक्दा पनि समस्या समाधानको बाटो असहज भएको उनीहरुको भनाइ छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ विद्युत् वितरण लाइनलाई भरपर्दो बनाउन ‘रिङ सर्किट’ अपरिहार्य भइसकेको बताउँछन् । उनका अनुसार एउटा सबस्टेसन वा लाइनमा समस्या भएर लाइन काटिए अर्को सबस्टेसनबाट तत्कालै मागअनुसारको लाइन दिनसक्ने प्रणाली बनिसकेको छैन ।
वितरण पूर्वाधारलाई भूमिगत गर्दै विश्वसनीय बनाउने काम पनि तीव्र गतिमा अघि बढाउनुपर्ने उनी बताउँछन् । #अनलाइन अबरबाट