• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२१ असार २०७९, मंगलवार


    बिज्ञापन
  • टोखा नगरपालिकाः आ.व २०७९/०८० आय व्ययको अनुमान सहितको वजेट वक्तव्य (पूर्ण पाठ)

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिकाको सोमबार सम्पन्न  एघारौं अधिवेशन नगरसभामा आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सर्बसम्मति रुपमा पारित गरिएको छ । नगरसभामा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७९।०८० को लागि २ अर्ब ११ करोड ५६ लाख ७ हजार रुपैंयाँको बार्षिक बजेट प्रस्तुत गरेका थिए ।


     टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदैँ  

    आ.व २०७९/०८० आय व्ययको अनुमान सहितको वजेट वक्तव्य (पूर्ण पाठ)

    टोखा नगरसभाको एघारौं अधिवेशनको दोश्रो वैठकका अध्यक्ष एवं नगरप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू,

    सभामा उपस्थित नगरसभा सदस्यज्यूहरु,

    नगरपालिकाका सम्पुर्ण कर्मचारीहरु, उपस्थित पत्रकार, सुरक्षाकर्मीहरु सबैमा हार्दिक अभिवादन तथा सम्मान व्यक्त गर्दछु ।

    नेपालको संविधानको धारा २३० वमोजिम टोखा नगरपालिकाको उपप्रमुखको हैसियतले यस गरिमामय सभा समक्ष टोखा नगरपालिकाको आगामी आर्थिक बर्ष २०७९/८० को वजेट प्रस्तुत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ ।

    २. यस अवसरमा लोकतन्त्र प्राप्ती र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाको लागि विभिन्न कालखण्डमा भएका आन्दोलन, राजनीतिक क्रान्ति एवं संघर्षमा जीवन वलिदान गर्नु हुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । घाईते योद्धा र वेपत्ता नागरिकहरु प्रति उच्च सम्मान र परिवार प्रति गहिरो सहानुभूति प्रकट गर्दछु ।

    ३. संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधार स्तम्भको रुपमा रहेको स्थानीय तह सदस्य निर्वाचन दोश्रो पटक मिति २०७९ वैशाख ३० गते सम्पन्न भएको छ । यस निर्वाचनमा मतदानको प्रकृयामा सहभागि भई टोखा नगरपालिका संचालनको लागि नयाँ जनादेश उपलब्ध गराउनु भएकोमा सम्पूर्ण टोखा नगरपालिकाका मतदाता एवं आम टोखा वासीहरुलाई हृदयदेखि नै आभार व्यक्त गर्दछु । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, स्वच्छ र भय रहित तवरमा सम्पन्न गर्न योगदान गर्नुहुने सवैमा हार्दिक धन्यवाद दिन चाहान्छु ।

    ४. नेपालको संबिधानले आत्मसात गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्थाको आधारभूत मूल्य मान्यता, र सुशासन कायम गर्न समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई आत्मसात गर्दै ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर भन्ने दीर्घकालीन सोच हासिल गर्ने दिशामा आगामी आर्थिक वर्षको वजेट तथा कार्यक्रम केन्द्रित गरेकोछु ।

    ५. दोश्रो स्थानीय तहको निर्वाचनवाट निर्वाचित भई नगर उपप्रमुखको हैसियतमा पहिलो पटक नगरपालिकाको आगामी आर्थिक वर्षको वजेट तथा कार्यक्रम प्रस्तुत गरिरहँदा मैले गहन जिम्मेवारी वोध गरेको छु । यस वजेटले नगरको विकास र सुशासन मार्फत मुलुकको समृद्धिको यात्रामा टेवा पुर्याउनेछ भन्ने ठानेकोछु ।

    ६. वजेट तर्जुमा गर्दा मैले मूलतः नेपालको संविधान र कानुनहरु, दीर्घकालिन विकास लक्ष्य, १५ औं योजना, दीगो विकासको लक्ष्य, संघीय सरकार र प्रदेश सरकारको नीति तथा कार्यक्रम, वजेट तथा मार्गदर्शन, श्रोत अनुमान तथा सीमा निर्धारण समितिको सिफारिस, नगरपालिकाको आगामी आ.व. को लागि पारित नीति तथा कार्यक्रम, राजस्व परामर्श समितिको सिफारिस साथै विज्ञहरु एवं अन्य सरोकारवाला महानुभावहरुको सल्लाह सुझावलाई मुख्य आधार वनाएकोछु ।

    सभाध्यक्ष महोदय,

    अव म चालु आ.व. को वजेट कार्यान्वयनको समिक्षा प्रस्तुत गर्न चाहान्छु ।

    ७. आर्थिक बर्षको शुरुवातमा कोभिड-१९ महामारीको पुनरावृत्ति, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री लगायत वस्तु तथा सेवाको मूल्यवृद्धि तथा आर्थिक वर्षको अन्त्यमा स्थानीय तह सदस्य निर्वाचनको कारण चालु आर्थिक बर्षको बजेट कार्यान्वयनमा अपेक्षित उपलब्धी हासिल गर्न चुनौति देखिएकोछ । यसका बावजुत चालु आ.व. मा वडा नं. ९ र ११ को वडा कार्यालय भवन निर्माण सम्पन्न भई आफ्नै कार्यालय भवनवाट सेवा प्रवाह सूचारु भएकोछ । मेयर उज्यालो कार्यक्रम अन्तर्गत मुख्य मुख्य सडकहरुमा सडकवत्ती जडान गर्ने कार्य सम्पन्न भएकोछ । जनता सुरक्षा कार्यक्रम अन्तर्गत सुरक्षा संवेदनशिल स्थानहरुमा सिसि क्यामेरा जडान गरिएकोछ । विष्णुमति, साङ्गले खोला, सपनातिर्थ लगायतका नदीहरुको अत्यावश्यक स्थानहरुमा नदी नियन्त्रणका कार्यहरु गरिएकोछ । विभिन्न सडकहरु पक्की गरिएकोछ । खानेपानीका पाईपलाईनहरु विस्तार गरिएकोछ । विद्युत, टेलिकम तथा ईन्टरनेटका लाईनहरु भूमिगत गर्ने कार्यको लागि पहल गरिएकोछ । नगरपालिकाको प्रशासनिक भवन एवं वडा नं. २ र ६ को वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेकोछ । मेयर दीर्घायू कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई होलवडी चेकअपका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएकोछ । फोहोरमैलालाई स्रोतमा नै वर्गीकरण गर्ने कार्यलाई कार्यान्वयन गर्ने कार्यको थालनीको लागि विभिन्न वडाहरु मार्फत कम्पोष्ट वीन वितरण कार्यको थालनी गरिएकोछ । कोभिड-१९ महामारी नियन्त्रण, रोकथाम र उपचारको लागि चालेको कदम, कोभिड-१९ विरुद्धको खोप अभियान, कर छुट लगायतका आर्थिक पुनर्स्थापनाको कार्यक्रमको परिणाम स्वरुप नगरवासीको स्वास्थ्य, आर्थिक तथा सामाजिक जीवन सहज भएको विश्वास लिएको छु ।

    ८. चालु आर्थिक बर्ष २०७८/०७९ मा कूल संशोधित आयव्यय अनुमान रु १ अर्व ९७ करोड ६७ लाख ३८ हजार रहेको छ । राजस्व असुली आन्तरिक श्रोत तर्फ २२ करोड ३६ लाख ७९ हजार अनुमान गरिएकोमा २०७९ जेष्ठ मसान्त सम्म कूल यथार्थ राजस्व आम्दानी (आन्तरिक श्रोत) रु. १९ करोड २५ लाख ३१ हजार (८६.०७ प्रतिशत ) रहेको छ ।

    ९. यस नगरपालिकाको चालु आ.व. मा विनियोजनको करिव ६५ प्रतिशत खर्च हुने संशोधित अनुमान छ । कूल विनियोजन मध्ये चालु तर्फ ७० प्रतिशत र पुजीगत तर्फ ५० प्रतिशत खर्च हुने संशोधित अनुमान गरेको छु । १०. आर्थिक बर्ष २०७७/७८ को विनियोजनको यथार्थ खर्च ६०.५४ प्रतिशत रहेको थियो । सो मध्ये चालु खर्च ७१.५६ प्रतिशत र पुजीगत खर्च ५५.७९ प्रतिशत रहेको छ भने चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा कूल विनियोजनको ४६.५७ प्रतिशत खर्च भएको व्यहोरा अवगत गराउन चाहान्छु ।

    ११. चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको तुलनामा करिव ९० प्रतिशत राजस्व संकलन हुने संशोधित अनुमान छ । कूल आन्तरिक राजस्व संकलन मध्ये सम्पति कर क्षेत्रको राजस्व उच्च रहने र यसको अंश करिव ३६.४६ प्रतिशत हुने अनुमान गरेको छु । सभाध्यक्ष महोदय,

    अव म यस वजेटका उद्देश्यहरु र प्राथमिकता प्रस्तुत गर्न चाहन्छु । १२. प्रस्तुत वजेटका उद्येश्यहरु निम्नानुसार रहेका छन् ।

    क. उपलब्ध स्रोत, साधन, श्रम, पुँजी र प्रविधिको परिचालन मार्फत रोजगारी सिर्जना र गरिवी निवारण गर्ने ।

    ख. जनचेतना, सशक्तिकरण, सीप विकास मार्फत सामाजिक रुपमा पछि परेको वर्ग, लिङ्ग, क्षेत्र, समुदायको उत्थान मार्फत राज्यको मूल प्रवाहमा ल्याउने ।

    ग. दीगो, भरपर्दो, गुणस्तरीय पूर्वाधार निर्माण मार्फत नगरवासीको जीवनस्तर सहज र सुविधा सम्पन्न वनाउने ।

    घ. स्वच्छ, स्वस्थ्य, प्रदुषण रहित वातावरण निर्माण गर्ने ।

    ङ. विपद् तथा संकट विरुद्धको पूर्व तयारी, विपद् व्यवस्थापन मार्फत विपद् तथा विपदवाट हुने जनधनको क्षतिको न्यूनिकरकण गर्ने ।

    च. सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रविधिमैत्री, गुणस्तरीय छिटो छरितो वनाई नागरिकलाई सहजता प्रदान

    १३. बजेट तयार गर्दा निम्न विषयलाई मुख्य प्राथमिकतामा राखेको छु ।

    क. पूर्वाधार विकास र पुँजी निर्माण

    ख. प्रभावकारी सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन

    ग. वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन तथा जलवायू परिवर्तनका जोखिम न्यूनिकरण

    घ. सरकारी, नीजि र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरिवी निवारण

    ङ. सामाजिक सशक्तिकरण

    सभाध्यक्ष महोदय,

    अव म आगामी आ.व. २०७९/८० को वजेटका मुख्य मुख्य कार्यक्रम र विनियोजन प्रस्तुत गर्न चाहन्छु । १४. आगामी आ.व. मा नगरपालिका भित्रका सम्पूर्ण घरहरुमा डिजिटल घर नम्वर वितरण गरिनेछ । सो को लागि रु. १ करोड ५० लाख विनियोजन गरेकोछु ।

    १५. मेयर दीर्घायू कार्यक्रमलाई थप प्रभावकारी बनाउदै निश्चित कार्यक्रमहरुलाई निरन्तरता एवं थप कार्यक्रमहरु समावेश गरिनेछ । सो को लागि रु. ३० लाख विनियोजन गरेकोछु ।

    १६. वालवालिका संग उपमेयर कार्यक्रमलाई निरन्तरता दिएकोछु । सो को लागि रु. १० लाख विनियोजन गरेकोछु ।

    १७.रेडक्रस सोसाईटीसंगको सहकार्यमा नगरवासीलाई रगत तथा रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने कार्यको लागि आवश्यक वजेट विनियोजन गरेकोछु ।

    १८. मेयर उज्यालो कार्यक्रम तथा जनता सुरक्षा कार्यक्रम अन्तर्गत सडक वत्ती तथा सिसि क्यामेरा जडान कार्यलाई निरन्तरता दिईनेछ । सो को लागि रु.१ करोड ५० लाख विनियोजन गरेकोछु ।

    १९. सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरु लक्षित मेयर दिवा खाजा कार्यक्रमको लागि रु ७५ लाख विनियोजन गरेकोछु ।

    २०. वडा समितिवाट सिफारिस भई आउने योजना तथा कार्यक्रमहरुको लागि रु. ३३ करोड विनियोजन गरेकोछु ।

    २१.नगर पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत गुणस्तरीय आयोजना पहिचान गरी कार्यपालिकाको निर्णयानुसार कार्यान्वयन गरिनेछ । सोको लागि रु. ३ करोड विनियोजन गरेकोछु ।

    २२. नगरपालिकामा रहेका घरनक्सा पास सम्वन्धी सम्पूर्ण फाईलहरुको डिजिटलाईजेशन गरिनेछ । सो को लागि रु.५० लाख विनियोजन गरेकोछु ।

    २३.नगरपालिकाको उपयुक्त स्थानमा शौचालय तथा घुम्ति शौचालय स्थापना गरिनेछ । सो को लागि रु. ५० लाख विनियोजन गरेकोछु ।

    २४.नगरपालिका भित्रका उपयुक्त स्थानमा पार्क पूर्वाधार निर्माण एवं पानी पुनर्भरण पोखरी निर्माण गरिनेछ । सो को लागि रु. २ करोड विनियोजन गरेकोछु ।

    २५.नगरपालिका भित्रका विभिन्न खोला, खोल्सी, नदी नियन्त्रणको लागि रु. २ करोड ५० लाख विनियोजन गरेकोछु ।

    २६. नगरपालिकावाट लक्षित वर्गको लागि विभिन्न सीप मूलक, आय मूलक तथा चेतनामूलक कार्यक्रम संचालनको लागि रु ३ करोड विनियोजन गरेकोछु । सो को लागि तालिम प्राप्त व्यक्तिहरुको अभिलेखिकरण गर्दै तालिमको प्रभावकारीता अध्ययनको व्यवस्था मिलाई सोहि अनुसार तालिम तथा कार्यक्रमहरु संचालन गर्ने व्यवस्था मिलाईनेछ

    २७.गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन निर्देशिका, २०७७ बमोजिम लघु उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना तथा प्रविधि हस्तान्तरण कार्यक्रमको लागि आवश्यक वजेट विनियोजन गरेकोछु ।

    २८. नगरवासीसंगको साझेदारीमा समपुरक कोष मार्फत संचालन हुने योजना तथा कार्यक्रमहरुको लागि रु २ करोड ६० लाख विनियोजन गरेकोछु ।

    २९. चालु आ.व. मा सम्झौता भई कार्य सम्पन्न हुन नसकि भुक्तानी हुन नसकेका योजना तथा कार्यक्रमहरुको लागि रु ५५ करोड विनियोजन गरेकोछु ।

    ३०. स्वास्थ्य शाखालाई रु ३ करोड २५ लाख, शिक्षा, युवा तथा खेलकूद शाखालाई रु ३ करोड ५० लाख विनियोजन गरेकोछु ।

    ३१. कृषि शाखालाई रु. ९० लाख, महिला तथा वालवालिका शाखालाई रु. ४० लाख, पशु सेवा शाखालाई रु. ५५ लाख र सहकारी शाखालाई रु. ४० लाख विनियोजन गरेकोछु । वडास्तरवाट कार्यान्वयन गरिने गरी विनियोजन भएका कार्यक्रमहरुलाई नगरपालिकाको विषयगत शाखावाट तयार गरिएको ढाँचामा कानुन वमोजिम खर्च गर्ने व्यवस्था गरेकोछु ।

    ३२. नगरपालिका भित्रका विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहयोग गर्न विपन्न नागरिक स्वास्थ्य उपचार कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार कोषमा थप रु. २५ लाख विनियोजन गरेकोछु । ३३. नगरपालिका भित्रका सडक, ढल, सडकवत्ती, खानेपानी लगायतका संरचनाहरुको मर्मत सम्भार र दिगोपनाको लागि मर्मत सम्भार कोषमा रु. ३ करोड विनियोजन गरेकोछु ।

    ३४. नगरपालिकामा संचालन हुने विभिन्न खेलकूद गतिविधिहरुको लागि खेलकूद विकास कोषमा रु. १ करोड विनियोजन गरेकोछु । खेलकुदमा खेल मैदान, विभिन्न दलको बेवाया ३५. टोखा नगरपालिकाको संस्कृति प्रवर्द्धन, संरक्षण र विकासको लागि संस्कृति संरक्षण कोषमा रु. ८० लाख विनियोजन गरेकोछु ।

    ३६. कुहिने तथा नकुहिने फोहोरलाई स्रोतमै छुट्याई फोहोर मैला व्यवस्थापनमा सहजिकरण गर्न नगरवासीलाई अनुदानमा डष्टवीन वितरणको लागि रु. २ करोड विनियोजन गरेकोछु ।

    ३७. संघीय सरकार र प्रदेश सरकारवाट प्राप्त समपुरक योजना तथा कार्यक्रमहरुको लागि रु. ९ करोड १६ लाख ४२ हजार विनियोजन गरेकोछु ।

    ३८.प्रधानमन्त्री रोगजार कार्यक्रम अन्तर्गत संचालन हुने योजना तथा कार्यक्रमहरुको लागि आवश्यक पर्ने उपकरणहरु खरिदको लागि रु. २० लाख विनियोजन गरेकोछु ।

    ३९.खानेपानी संरचना निर्माण तथा खानेपानी लाईन विस्तारको लागि रु. ३ करोड ५० लाख विनियोजन गरेकोछु ।

    ४०. नगरपालिकाभित्रका सबै सार्वजनिक जग्गा संरक्षणका विविध कार्यको लागि रु. २० लाख विनियोजन गरेकोछु ।

    ४१. न्यायीक समितिको पूर्वाधार निर्माण तथा क्षमता अभिवृद्धि कार्यका लागि रु २० लाख वजेट विनियोजन गरेकोछु ।

    ४२. निर्माणाधिन नगरपालिकाको प्रशासनीक भवन तथा वडा कार्यालय भवनहरुको लागि आवश्यक वजेट विनियोजन गरेकोछु ।

    ४३. उपप्रमुख संग बालबालिका कार्यक्रमलाई निरन्तरता दिदै सो कार्यको लागि रु २० लाख रकम विनियोजन गरेकोछु ।

    ४४. संघ र प्रदेश सरकारवाट सशर्त अनुदानको रुपमा प्राप्त हुने कार्यक्रम र आयोजनालाई तोकेको वजेट शर्त तथा कानुन अनुसार कार्यान्वयन गर्ने व्यवस्था मिलाएकोछु ।

    ४५. संघीय सरकारवाट हस्तान्तरण भई आएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई सम्वन्धित वैकसंग सहकार्य गरी थप व्यवस्थित तवरले वितरण गर्ने व्यवस्था मिलाईनेछ ।

    ४६.संघ, प्रदेश र अन्य निकायवाट दायीत्व सिर्जना भई चालु आ.व. मा सम्पन्न हुन नसकेका योजना तथा कार्यक्रमहरुको निरन्तरताको लागि रु. ४ करोड विनियोजन गरेको छु ।

    ४७.नगर सभाको एघारौं अधिवेशनबाट आर्थिक बर्ष २०७९/०८० मा कार्यान्वयन हुने कार्यक्रमले समृद्ध नगर निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएकोछु ।

    ४८. चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकि दायित्व सिर्जना भएका योजना तथा कार्यक्रमहरुलाई सम्पन्न गराउन उच्च प्राथमिकतामा राखेको छ भने आगामी आ.व. को नीति तथा कार्यक्रम मार्फत नगरको लागि बिशेष प्राथमिकतामा छु रहेका आयोजनाहरु कार्यान्वयनको लागि आर्थिक बिकास, सामाजिक बिकास, पूर्वाधार बिकास, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत बिकास तथा सेवा प्रवाह क्षेत्रमा आवश्यकताको आधारमा बजेट विनियोजनको व्यवस्था मिलाएको छु ।

    ४९. आगामी आर्थिक बर्षमा वडा समितिवाट प्राथमिकतामा राखि सिफारिस भै आउने एवं नगरस्तरिय अन्य सवै कार्यक्रमहरु विषेश प्राथमिकताका साथ संचालनमा ल्याइने छ । आगामी आर्थिक बर्षलाई अभियानका रुपमा सबै योजना तथा कार्यक्रमहरु समयमानै सम्पन्न गर्ने व्यवस्था मिलाईनेछ ।

    ५०. आर्थिक ऐन मार्फत आगामी आ.व. मा करका विभिन्न दरहरुमा निश्चित समयको लागि १० प्रतिशत सम्म छुटको व्यवस्था गरेकोछु भने आ.व. २०७७/७८ सम्मको सम्पतिकर आ.व २०७९/८० को पौष मसान्त सम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट हुने व्यवस्था मिलाएकोछु । ५१. आगामी आ.व. भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशिलताको नीति अपनाईनेछ । भ्रष्टाचार र अनियमितता नियन्त्रणको लागि प्रभावकारी उपायहरु अवलम्वन गरिनेछ ।

    ५२.सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री वनाई पारदर्शिता सुनिश्चित गर्ने, प्रकृयागत सरलीकरण गर्ने र सेवा प्रवाहको समग्र लागत घटाईनेछ । सार्वजनिक सेवालाई मुहार रहित, सम्पर्क रहित र कागज रहित वनाउन आवश्यक प्रवन्ध मिलाईनेछ ।

    ५३. नेपाल सरकारले आ.व. २०७९/८० को वजेट वक्तव्य मार्फत राष्ट्र सेवकहरुको तलवमानमा १५ प्रतिशत वृद्धि गरे अनुसार टोखा नगरपालिका वा अन्तर्गत कार्यरत स्थायी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको तलवमानमा वि.सं. २०७९ श्रावण १ गते देखि लागू हुने गरी १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउनको लागि थप स्रोतको प्रवन्ध गरेकोछु ।

    सभाध्यक्ष महोदय,

    ५४.अव म आ.व. २०७९/८० को लागि स्वीकृत क्षेत्रगत नीति तथा कार्यक्रमहरुको कार्यान्वयनको लागि वजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्न चाहान्छु ।

    ५५. आगामी आर्थिक बर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु. २ अर्व ११ करोड ५६ लाख ७ लाख रकम विनियोजन गरेकोछु । कूल विनियोजन मध्ये चालु तर्फ रु ६३ करोड ४६ लाख ५६ हजार ( ३० प्रतिशत) र पुजीगत तर्फ रु १ अरव ४८ करोड ९ लाख ५१ हजार ( ७० प्रतिशत) रहेकोछ ।

    ५६. आगामी आर्थिक बर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये संघीय सरकारवाट रु. ५९ करोड १३ लाख ४८ हजार, बागमती प्रदेश सरकारवाट रु. १३ करोड २३ लाख ५९ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत रु. ४० करोड ९ लाख, आन्तरिक एवं अन्य आयवाट रु. २९ करोड १० लाख र चालु आ.व. वाट अल्या रहेको रकम रु. ७० करोड वाट व्यहोरिने छ ।

    सभाध्यक्ष महोदय,

    ५७. अव म आगामी आर्थिक बर्ष २०७९/८० को राजस्व परिचालनको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

    ५८.संघीय सरकार र प्रदेश सरकारवाट प्राप्त हुने अनुदानमा निर्भर रहेको राजस्व संरचनालाई परिवर्तन गरी आन्तरिक राजस्वको हिस्सा वढाउने र राजस्वको दायरा विस्तार गर्ने लक्ष्य लिएकोछु ।

    ५९. नगर क्षेत्र भित्रका ठुला करदाताहरुलाई करको दायरामा ल्याई हाल सम्म उठ्न वाँकी वक्यौता कर उठाईनेछ । हाल सम्म उठ्न वाँकी वक्यौता कर उठाउन २०७९/८० को पौष मसान्त सम्म वक्यौता कर तिरेमा लाग्ने जरिवानामा मिनाहा हुने व्यवस्था गरेकोछु ।

    ६०. २०७९ असोज मसान्त सम्म आ.ब २०७९/८० को लागि सम्पति कर, वहाल कर तिरेमा १० प्रतिशत छुट हुने व्यवस्था मिलाएकोछु ।

    ६१. आगामी आ.व. २०७९/८० मा करदाताहरुलाई करको वारेमा सूसुचित गराउने, कर तिर्ने अभियान संचालन गर्ने

    उदेश्यले कर सप्ताह अभियान संचालन गरिनेछ ।

    ६२. नयाँ करका शिर्षकहरु पहिचान गरि करको दायरा विस्तार गरिनेछ ।

    ६३.आगामी आ.व. २०७९/८० मा कर अनुगमन प्रभावकारी रुपमा गरिनेछ । करको प्रशासन तथा संकलन कार्यलाई व्यवस्थित गरिनेछ ।

    ६४.राजस्व परामर्श समितिको छलफलवाट सिफारिस भएको व्यावसाय करको वार्षिक शुल्क दरमा १० प्रतिशत वृद्धि तथा छुटलाई आर्थिक ऐन, २०७९ मा समावेश गरी २०७९ श्रावण १ गते देखि लागू हुने गरी करका दर तथा दायराहरुलाई समय सापेक्ष हुने व्यवस्था मिलाएकोछु ।

    ६५. भवन संहिताको पूर्ण पालना गराउदै भवन निर्माण स्वीकृति नलिई निर्माण भएका घरहरुलाई जरिवानामा शतप्रतिशत वृद्धि गरी भवन संहिता विपरित निर्माण कार्यलाई निरुत्साहित गरिनेछ । सभाध्यक्ष महोदय,

    ६६.आर्थिक बर्ष २०७७/७८ को यथार्थ खर्च, आर्थिक बर्ष २०७८/७९ को संशोधित अनुमान र आर्थिक बर्ष २०७९/८० को अनुमानित आय व्यय विवरण अनुसूचिमा उल्लेख गरेको छु ।

    ६७. मैले प्रस्तुत गरेको आगामी आ.व. २०७९/८० को वजेटको कार्यान्वयनवाट रोजगारी सिर्जना, गरिवी निवारण, गुणस्तरीय र जीवन उपयोगी शिक्षा, आधारभूत स्वास्थ्य सेवाको पहुँच वृद्धि, सडक, विद्युत, पुल, खानेपानी, सिसि क्यामेरा जडान, पार्क लगायतका पूर्वाधार निर्माण, सामाजिक शसक्तिकरण मार्फत “ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर” स्थापना भई समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालिन राष्ट्रिय सोचलाई सार्थक वनाउनमा योगदान पुर्याउने छ भन्ने विश्वास लिएको छु ।

    ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर

    ६८. वजेट तर्जुमाको क्रममा मार्गदर्शन गर्नुहुने नगरप्रमुखज्यू प्रति हार्दिक आभार प्रकट गर्दछु । वजेट तर्जुमाको क्रममा महत्वपूर्ण सुझाव सल्लाह प्रदान गर्नुहुने विभिन्न राजनीतिक दल, अर्थविद्, नीजि क्षेत्र, सहकारी क्षेत्र, विभिन्न विधाका विज्ञ, वुद्धिजीवि, नागरिक समाज तथा आम नगरवासीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै वजेट तर्जुमामा सहयोग गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत लगायत सबै कर्मचारीहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।

    ६९. यस वजेटको कार्यान्वयनमा सबैको सहयोग रहने विश्वास लिएकोछु ।

    ७०. अन्त्यमा, सवै टोखावासी दिदी वहिनी तथा दाजुभाईहरुलाई टोखाको विकास र नगरवासीको जीवनस्तरमा उल्लेखनीय रुपमा परिवर्तन ल्याउन एकजुट हुन समेत हार्दिक अनुरोध गर्दछु ।

    धन्यवाद !

    २० आषाढ, २०७९

    Facebook Comments Box