टोखा टाइम्स, काठमाडौं । काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा पशुपति टाइम्स डट कमका सम्पादक सन्तोष भण्डारी माथिभएको दुर्व्यवहारको घटनाप्रति समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै घोर भर्त्सना गरेको छ।
उक्त अनलाइनका सम्पादक भण्डारीका अनुसार श्रावण ३ गते मंगलबार ५/३० बजेतिर बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको कार्यकक्षमा स्थानीयवासीले भोगेका समस्या अवगत गराउँदै गर्दा मेयर अधिकारीका आफन्त बताउने रबिन्द्र अधिकारी भन्ने व्यक्ति एक्कासि आई अभद्र व्यवहार गरी कार्यालयबाट बाहिर निकाल्न खोजेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
उक्त घटनालगत्तै सामाजिक सञ्जालमा निज रबिन्द्र अधिकारी दोषी नभई पत्रकारनै दोषी जस्तो देखिनेगरी केही जनप्रतिनिधिहरूले लेखेको स्टाटस दुःखद् विषय हो । समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटी जनप्रतिनिधिहरूको यस्तो गैरजिम्मेवार कार्यको विरोध गर्दछ विज्ञप्तिमा भनिएको छ ।
समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीमा सचिव आशिष गुरागाईंले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ-´ कुनै पनि बहानामा यस किसिमको दुर्व्यवहार हुनु निन्दनीय हुनुका साथै प्रेसविरोधी काम हो । समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटी प्रेसविरोधी यस्ता कार्यमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउन र पत्रकार तथा सञ्चार माध्यमलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग माग गर्दछ ।`