टोखा टाइम्स, काठमाडौं । टोखाका शिक्षासेवी भक्त श्रेष्ठको निधन भएको छ । टोखा नगरपालिका ३ त्वापचा निवासी श्रेष्ठको शनिवार ८३ वर्षको उमेरमा घरमै निधन भएको हो ।
कम बोल्ने धेरै सुन्ने, सबैलाई आदर र सम्मान गर्ने व्यक्ति हुन उनी । मिलनसार अनि प्रगतिशील विचार भएका श्रेष्ठकोे टोखामा शिक्षाको ज्योति छर्ने काममा अविस्मरणीय योगदान रहेको छ । उनी आफ्नो युवा अवस्थामा राजनीतिमा सक्रिय थिए । उनी नेपाली काङ्गे्रसका सक्रिय कार्यकर्ता थिए । त्यसताका आफ्ना सहपाठीहरूसँग मिलेर समाजिक कार्यमा लाग्ने गर्दथे । २०१७ सालमा टोखामा पहिलो सरस्वती विद्यालयको स्थापना भयो । उनी यस विद्यालयको संस्थापक नै भए । उनले विद्यालयको व्यवस्थापकीय जिम्मेवारी पनि निर्वाह गरे । उनको यो कार्य टोखाको शैक्षिक क्षेत्रमा अतुलनीय छ । श्रेष्ठ टोखा परम्परागत चाकु संरक्षण समाजका प्रमुख सल्लाहकार समेत हुन ।
मध्यमवर्गीय किसान परिवारमा जन्मेका उनका पाँच छोरा र दुई छोरी रहेका छन् । उनले आर्थिक उपार्जनका लागि बढी जसो समय कृषिमा लगाउने, चाकु उत्पादन, नोकरी, दैनिक ज्याला मजदुरी र घरनिर्माण सम्बन्धिको ठेकेदारको काम समेत गरेका थिए । श्रेष्ठले त्यस समयमा दरबारमा समेत नोकरी गरेका थिए ।
श्रेष्ठको आजै स्थानीय भख्य घाटमा अन्त्येष्टि गरिएको छ । श्रेष्ठलाई जेठा छोरा राजाराम श्रेष्ठले दागबत्ती दिएका थिए ।