• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१७ भाद्र २०७९, शुक्रबार


    बिज्ञापन
  • अव्यस्थित सवारी पार्किङ तथा व्यवस्थापनका लागि वडा कार्यालय कडाईका साथ अगाडि बढ्न सुझाव

    टोखा टाइम्स, काठमाडौं । मूल वस्ती भित्र अव्यवस्थित पार्किङ तथा अस्तव्यस्त सवारी साधन व्यवस्थापन गर्न वडा कार्यालय कडाईका साथ अगाडि बढ्नु पर्ने सुझाव दिएका छन्  । टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको आयोजनामा अव्यवस्थित पार्किङ तथा अस्तव्यस्त सवारी साधन व्यवस्थापन सम्बन्धि बृहत छलफल कार्यक्रममा सहभागिहरुले यस्तो सुझाव दिएका हुन्  ।

    अव्यवस्थित पार्किङ तथा अस्तव्यस्त सवारीका कारण जात्रा पर्व तथा दैनिक आवतजावतमा समेत प्रभावित हुने गरेको छ । यसलाई व्यवस्थापन गर्नका लागि शुक्रबार टोखा २ र ३ वडाका जनप्रतिनिधि, क्रियाशील संघसंस्था, सांस्कृतिक दाफा भजन खलः, राजनीतिक दलका प्रतिनिधिहरु लगायतसँग छलफल सम्पन्न भएको थियो ।

    सांस्कृतिक संरक्षित क्षेत्रको मूल, सहायक र गल्ली सडक तथा चोकलगायतमा जताततै अव्यवस्थित पार्किङ देखिएका छन् । मूल सडकमा सडकको भारवहन क्षमता भन्दा ठूला गाडीका कारण सडक विग्रदै जानु र त्यसका कारण सडकमा जाम्म हुने समस्या बढ्दो छ । व्यवसायीहरुले सडक पेटीसम्म पसल राख्ने जस्ता क्रियाकलापले आवतजावत गर्नसमेत मुस्किल बन्ने गरेको छ ।

    मूल वस्ती भित्रका थनेलाछी र क्वने लाछी लागयत सार्वजनिक स्थानमा अव्यवस्थित रुपमा राख्ने गरेको नीजि सवारी साधन तत्काल हताउन वडा कार्यालयले कडा नियम कानुन बनाएर अगाडि बढ्न बैठकमा बोल्ने बक्ताहरुले जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए ।

    कार्यक्रममा टोखा नगरपालिका २ वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले बैठकमा उठेका विषय र सुझावहरुलाई आत्मसात गर्दै त्यसको व्यवस्थापनका लागि वडा कार्यालय तयार रहेको भन्दै यसको व्यवस्थापनका लागि हामी सबै सहकार्य गरेर लाग्नु पर्ने बताए । उनले टोखाको मूल बस्ती भित्र प्रवेश गर्न धेरै सहायक र वैकल्पिक बाटो रहेको र ती बाटोहरुको व्यवस्थापन लग्तै ठूला गाडीहरु मूल बस्ती भित्र प्रवेशमा रोक्न लागाईने, ट्राफिक प्रहरी र नगर प्रहरीसँगको सहकार्यमा यातायातलाई सुव्यवस्थित गर्न छलफल भैरहेको बैठकमा बताएका थिए ।

    त्यस्तै टोखा ३ वडाका वडासदस्य हरिकृष्ण श्रेष्ठले भुतखेल फैरचा बैकल्पिक मार्ग निर्माणका लागि आवश्यक गृहकार्य सकेको भन्दै वर्षा लग्तै उक्त मार्गले निर्माणको गतिलिने बैठकमा जानकारी गराएका थिए ।

    त्यस्तै जात्रा पर्वको बेला अनावश्यक रुपमा मोटर साइकल चलाउने र जथाभावि पार्किङ गर्ने चलनको अन्त्यका लागि सामुदायीक स्तरमा नै सचेतना कार्यक्रमको समेत आयोजना गर्नु पर्ने र त्यस्ता जोकोही भए पनि कार्वाही गर्नु पर्ने समेत कुरा बैठकमा छलफलका क्रममा उठेका थिए ।

    टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा टोखा भगवती क्लवको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा तलेजु मन्दिरमा मुल नाय हेमराज श्रेष्ठ टोखा २ वडाका वडासदस्य आर्यन डंगोल,  टोखा ३ वडाका वडासदस्य, शान्ता राई, नेवा गुथिः तोखाका अध्यक्ष रमेश नापित,  टोखा २ वडाका निवर्तमान सदस्य हेराकाजी महर्जन, टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ, टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका सदस्य मनिष जोशी,  हेराकाजी डंगोल, रविना श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box