• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२३ कार्तिक २०७९, बुधबार


    बिज्ञापन

    दोहोरिने दाउमा ईश्वर, नरहरिको विरासत जोगाउने कसरतमा प्रदीप

    टोखा टाइम्स, काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच कडा टक्कर हुने देखिएको छ ।

    यो क्षेत्रमा एमालेका इश्वर पोखरेल र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल चुनावी मैदानमा छन् । पोखरेल यसअघिको प्रतिनिधि सभा निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए भने पौडेल तनहुँमा नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मतान्तरले पराजित भएका थिए ।

    एमालेका प्रभावशाली नेता तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेताको प्रतिस्पर्धाले पनि यो निर्वाचन क्षेत्रको चुनावी सरगर्मी रोमाञ्चक बन्दै गएको छ । बढी चर्चामा पोखरेल र पौडेल रहेपनि काठमाडौं-५ मा २८ उम्मेदवार प्रतिनिधि सभा सदस्यको भिडन्तमा छन् । १४ दलगत उम्मेदवार छन् भने १४ जना स्वतन्त्र उम्मेदवार छन्।

    सत्ता गठबन्धनले कांग्रेस नेता पौडेललाई उम्मेदवार बनाएपछि एमाले र जसपाबीच चुनावी तालमेलको चर्चा भएको थियो । तर पछिल्लो समय यो तालमेल हुन सकेन् । सत्ता गठबन्धनलाई लोसपाले सघाउने भनिए पनि त्यो कार्यान्वयनमा आउन सकेन । जसले पार्टीगत गतिविधिले ठूला दलका उम्मेदवार नै विजयी बन्ने विश्लेषण राजनीतिक वृत्तमा हुने गरेको छ ।

    नेमकिपाका शैलेश डंगोल, जसपाका भीमबहादुर मगर, लोसपाका दानिन्द्र जोशी लगायत दलगत उम्मेदवार चुनावी अभियानमा होमिएका छन् ।

    स्वतन्त्र उम्मेदवार रन्जु न्यौपाने(दर्शना), सुशान्त श्रेष्ठ, प्रणय राणा, बिजय कँडेल, हेमराज थापाले पनि काठमाडौं क्षेत्र नम्बर ५ मा राम्रो मत तान्न सक्ने स्थानीय बताउँछन् ।

    २०७४ सालको निर्वाचनमा एमाले उपाध्यक्षसमेत रहेका पोखरेल २३ हजार २९ मत ल्याएर निर्वाचित भएका थिए । त्यसबेला उनले कांग्रेसका हालका प्रवक्ता डा.प्रकाशशरण महतलाई ९ हजार ८६० मतले हराएका थिए । महतले १३ हजार १६९ मत ल्याएका थिए । तेस्रो स्थानमा विवेकशील साझा पार्टीका नेता उज्जवल थापाले ६ हजार ५५३ मत ल्याएका थिए । थापाको कोभिड संक्रमणबाट गत वर्ष ज्यान मृत्यु भएको थियो । त्यस्तै नेमकिपाका वीरबहादुर डंगोलले ६३६ मत ल्याएका थिए ।

    काठमाडौं-५ मा जित्ने दावेदारी गर्दै आएका एमाले नेता पोखरेल २०६४ र २०७० सालको निर्वाचनमा कांग्रेस नेता नरहरि आचार्यसँग पराजित भएका थिए । उनी एमालेका प्रभावशाली नेता मानिन्छन् । २०५४ मा एमाले स्थायी कमिटी सदस्य बनेका पोखरेल ०५९मा पार्टीको केन्द्रीय सचिवालय सचिव बनेर काम गरे । २०६० सालमा उनी संगठन विभाग प्रमुख भएर काम गरे । पार्टीको संस्थापन पक्षमा रहेर काम गर्दै आएका उनी ०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री बन्दा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरेका थिए । त्यसपछि उनी  उद्योग, वाणिज्य तथा आपूर्ति, रक्षासहित उपप्रधानमन्त्रीको जिम्मेवारीमा काम गरेका छन् ।

    अर्को जितको दाबेदारीसहित आएका सत्ता गठबन्धनतर्फका उम्मेदवार पौडेल नेपाली कांग्रेसका युवा नेता हुन् । विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका पौडेल यसअघि तनहुँ क्षेत्र नम्बर-२ मा उम्मेदवारी दिने चर्चा चले पनि अन्तिम समयमा काठमाडौं-५ बाट टिकट पाएका थिए ।

    २०७४ मा तनहुँ-२ ‘क’बाट निर्वाचन लडेका उनी माओवादी नेतृ आशा कोइरालासँग ५ मतको झिनो मतान्तरले पराजित भएका थिए । संघीय संसदका लागि पौडेलको यो पहिलो प्रतिस्पर्धा हो । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा सर्वाधिक  मत ल्याई पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए । उनले कांग्रेस भित्र प्रखर वक्ताको परिचय बनाएका छन् ।

    शैलेश डंगोल नेमकिपाका युवा नेता हुन् । विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका डंगोल पहिलो पटक निर्वाचन लड्दै छन् । प्रखर वक्ता, नेतृत्वदायी क्षमताका साथै स्थानीय उम्मेदवार समेत रहेका उनले राम्रो मत बटुल्ने आँकलन गरिरहेको छ ।

    २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेर चर्चामा आएकी रञ्जु दर्शना यस पटक काठमाडौं-५ बाट संघीय संसदको निर्वाचनमा होमिएकी छन् । उनको उपस्थितिलाई पनि स्थानीयले महत्वका साथ लिएका छन् । विवेकशील साझा पार्टी छाडेर स्वतन्त्रबाट चुनाव लडेकी उनलाई मतदाताले कति माया गर्ने हुन त्यो परिणामले देखाउला तर काठमाडौं महानगरको मेयरमा लड्दा पाएको २३ हजार ४३९ मतलाई नै आधार मान्दै उनले आफूलाई अब्बल उम्मेदवारका रुपमा चिनाउँदै आएकी छन् ।

    राप्रपाका ६४ वर्षीय रामप्रसाद उप्रेती पनि काठमाडौं-५ को उम्मेदवार छन्।

    स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले पनि चुनावी अभियानमा सशक्त भएर लागेका छन् । जर्मनीमा सुचना प्रविधीमा स्नातकोत्तर गरेर फर्किएका सुशान्त श्रेष्ठ बागमति प्रदेश सभाका सांसद गणेश दुलालको स्वकिय सचिवको रुपमा साढे चार वर्ष काम गरेको अनुभव छ । क्षेत्र नं ५ कै वासिन्दा उनि पार्टी राजनिति छोडेर स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो चुनावी अभियान चलाईरहेका छन्। सुशान्त श्रेष्ठले अरु उम्मेदवारको तुलनामा ग्राउण्डमा गतिविधी बढाईरहेका छन्।

    अष्ट्रेलियाबाट फर्किएर कृषि व्यवसायमा रमाईरहेका विजय कंडेल व्यवसायि हुन्। हाईजेनिक मिट सप नामक चेन मिट शप चलाईरहेका उनले सामाजिक संस्था मार्फत अभियानहरु चलाईरहेका छन्। चुनावि तयारी गरिरहेका उनले व्यक्तिगत भेटघाटको क्रमलाई तिव्रता दिएका छन्। उनी आफुलाई सिधा ईश्वर पोखरेल सँग प्रतिस्पर्धा गर्ने बताउछन् ।

    स्वतन्त्र उम्मेदवार हेमराज थापा पनि चुनावी अभियानमा सशक्त भएर लागेका छन् । विभिन्न सामाजिक अभियानमा सक्रिय उनी आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउने गर्दछन् । काठमाडौंमा हुने विभिन्न अभियानमा उनी अग्र मोर्चामा देखिने गरेका छन् ।

    नेपाली काङ्ग्रेसका महाधिवेसन प्रतिनिधि प्रणाय समशेर राणा पुर्व सैनिक अधिकृत तथा द्वन्द व्यवस्थापनका विज्ञ हुन्। प्राध्यापनमा समेत संलग्न उनि हालै नेपाली काङ्ग्रेसको कारवाहीमा परे पश्चात स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन ।  रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा अतिथी वक्ताको रुपमा गएकोले पार्टीले कारवाही गरेको उनको दाबि छ। सैनिक पृष्ठभुमि भएको र क्षेत्र नं ५ मा नै जन्मे हुर्केको हुनाले उनको व्यक्तिगत प्रभाव राम्रै रहेको छ।

    यस्तो छ अंकगणित
    काठमाडौं-५ मा २०७९ को निर्वाचनमा भोट हाल्न पाउने मतदाताको संख्या ७० हजार ९१९ रहेको निर्वाचन आयोगको अद्यावधिक तथ्यांकमा उल्लेख छ । २०७४ सालको निर्वाचनमा ६४ हजार ५५० मतदाता रहेकोमा यस पटक ६ हजार ३६९ मतदाता थपिएका छन् । थपिएका मतदातामध्ये २० देखि ४० वर्ष उमेर समूहका छन् ।

    यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरको वडा नम्बर २, ३, ४ र ५ पर्छन् । यस्तै, बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६ र ७ पर्छन् । टोखा नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ यही क्षेत्रमा पर्छन् । बढी जनघनत्वका लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार, हाडीगाउँ यो निर्वाचन क्षेत्रमा छन् ।

    गत स्थानीय तह निर्वाचन नियाल्दा काठमाडौं महानगरको २,३, ४ र ५ नम्बर वडा(वडाध्यक्ष)मा एमाले विजयी भएको थियो । बुढानीलकण्ठ नगरपालीकाको ३ मा स्वतन्त्र,४,५ कांग्रेस, ६ र ७ मा एमाले निर्वाचित भएको थियो । यस्तै टोखा नगरपालीकाको २,३,४,५ र ७ मा एमाले तथा ६ मा कांग्रेस विजयी भएको थियो ।

    स्थानीय तहको निर्वाचनमा खसेको मतको तथ्यांक हेर्दा यस निर्वाचन क्षेत्रको वडामा एमालेको मत धेरै छ । एमालेका वडाअध्यक्षका उम्मेदवारले पाएको मत मात्र १९ हजार ७३ छ । यस्तै, कांग्रेसका वडाध्यक्षका उम्मेदवार १४ हजार ८५३ मत ल्याएका छन् । माओवादी केन्द्रको मत १ हजार १६८ थियो भने नेकपा एकीकृत समाजवादीको १ हजार ८२७  मत छ ।

    राप्रपाको मत माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभन्दा बढी अर्थात् २ हजार ६२२ छ ।

    काठमाडौंमा सांगठनिक मतसँगै थपिएका मतदाताको मत चलायमान हुने भएकाले अहिले नै को कति पल्लाभारी भन्ने यकीन विश्लेषण गर्न नसकिने राजनीतिक विश्लेषक बताउँछन् । चुनावी अभियान, मतदातासँगको उम्मेदवारको प्रतिवद्धता तथा नेताका राजनीतिक गतिविधिले उनीहरूले पाउने मतलाई तलमाथि पार्न सक्ने देखिन्छ ।

     

    Facebook Comments Box