टोखा टाइम्स, काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेदवारहरुको ठूलो आर्कषण देखिएको छ । प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारहरु आ – आफ्ना एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र लोकतान्त्रिक सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसबाट प्रदीप पौडेल चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवारहरु आफु विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाले राजनीतिमा परिवर्तनको एजेण्डा सहित चुनावी मोर्चामा उत्रिएका छन् ।
यस क्षेत्रबाट २९ जनाले प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका छन् । यीमध्ये राजनीतिक दलका तर्फबाट १४ र स्वतन्त्रतर्फबाट १५ जनाले उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका प्रमुख उम्मेदवारहरु यस्ता छन् :
प्रणय शमसेर राणा : नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि त्यागेर चुनावी मैदानमा होमिएका युवा हुन डा. प्रणय शमशेर राणा । नेपाली सेनाका अधिकृतको जागिर छाडेर विदेशी नियोगहरुमा सेवा गरेर नेपाल फर्किएर राजनितिमा होमिएका उनी द्धन्द विज्ञ पनि हुन । आक्रामक प्रचार प्रसारमा लागेका राणा पिएचडी डाक्टर हुन । राणाले अधिकाँस बुढानिलकण्ठ क्षेत्रको भोट तान्न सक्ने आँकलन गरिएको छ ।
ई . सुशान्त श्रेष्ठ : इन्जिनियर सुशान्त श्रेष्ठले एक्लै चुनावी प्रचार सुरु गरे । राजनितिमा परम्परागत पार्टी भन्दा नयाँ विकल्प रोज्नु पर्ने अपील गर्दै चुनावी अभियानमा लागेका श्रेष्ठ अहिले आफ्नो अभियानमा सैयौ युवा जोडिएको दावी गर्छन । उनी कुनै समय नेकपा एमालेसँग नजिक थिए । उनको पक्षमा अन्य स्वतन्त्र उम्मेदवारको भन्दा बढी लोकप्रीयता देखिन्छ । विशेषगरी टोखा, धापासी, बुढानिलकण्ठ लगायतका युवा, नेवारी समुदाय र दलहरुसंग निराश भएका मतदाताहरुलाई उनले आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । सुशान्त श्रेष्ठले अरु उम्मेदवारको तुलनामा ग्राउण्डमा गतिविधी बढाईरहेका छन्।
श्री गुरुङ : व्यवसायीक पृष्ठभूमिका श्री गुरुङको चुनावी प्रचार पनि कम छैन् । ब्रडसिट पत्रिकाको पहिलो पृष्ठमै निरन्तर उनको प्रचार विज्ञापनका रूपमा आउँने गरेको छ । उनलाई व्यवसायी र सेलिव्रेटिले पनि साथ थिएका छन् । अन्य उम्मेदवार जस्तै श्री गुरुङले पनि परिवर्तनका नारा अघि सारेका छन् । व्यवसायी र जनजाती मत उनको पक्षमा पर्न सक्ने आकलन गरिएको छ । उनले विशेष गरी काठमाडौँ-५ (क) को मत तान्ने छ ।
रञ्जु दर्शना : पाँच वर्ष अघि काठमाडौं महानगर पालिकाको मेयरमा उठेर २१ हजार भन्दा बढी मत पाएकी ताकालिन विवेकशिल साझा पार्टीकी उम्मेदवार रञ्जु अहिले क्षेत्र नं . ५ मा स्वतन्त्र उम्मेदवार छिन् । रञ्जुलेले चुनाव जित्ने भन्दा पनि कांग्रेस उम्मेदवारलाई अप्ठ्यारो पार्ने सम्भावन बढी रहेको धेरैको बुझाई छ ।
उनले आवद्धता तोडेको विवेकशिल साझाको यो क्षेत्रमा करिव ७ हजार मत छ । अघिल्लो निर्वाचनमा उक्त पार्टीका अध्यक्ष समेत रहेका उज्वल थापाले करिव सात हजार मत पाएका थिए । दर्शनाको भोटको मूल स्रोत त्यहि हो । त्यो बाहेक केहि मत कांग्रेसबाट जान सक्ने देखिएको छ । दर्शनावाट एमालेलाई निकै कम खतरा छ । थापाको कोरोना संक्रमणवाट निधन भइसकेको छ ।
विजय कंडेल : अष्ट्रेलियाबाट फर्किएर कृषि व्यवसायमा रमाईरहेका विजय कंडेल व्यवसायि हुन्। हाईजेनिक मिट सप नामक चेन मिट शप चलाईरहेका उनले सामाजिक संस्था मार्फत अभियानहरु चलाईरहेका छन्। चुनावि तयारी गरिरहेका उनले व्यक्तिगत भेटघाटको क्रमलाई तिव्रता दिएका छन्। उनी आफुलाई सिधा ईश्वर पोखरेल सँग प्रतिस्पर्धा गर्ने बताउछन् ।
हेमराज थापा : स्वतन्त्र उम्मेदवार हेमराज थापा पनि चुनावी अभियानमा सशक्त भएर लागेका छन् । विभिन्न सामाजिक अभियानमा सक्रिय उनी आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउने गर्दछन् । काठमाडौंमा हुने विभिन्न अभियानमा उनी अग्र मोर्चामा देखिने गरेका छन् ।
अब नेतृत्व युवा र नयाँ पुस्ताले गर्नु पर्ने एजेन्टा बोकेर चुनावी मैदानमा होमिएका नयाँ स्वतन्त्र उम्मेदावारहरुको संख्या धेरै भएकाले स्वतन्त्र – स्वतन्त्र बीच प्रतिस्प्रदा हुने भएकाले ठूला राजनीतिक दलहरुलाई भने जित्न सहज हुने राजनीति वृतमा चर्चा हुन थालेका छन् ।