टोखा टाइम्स, काठमाडौँ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा टोखामा प्लेकार्ड सहित सचेतना र्याली गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत टोखा नगरपालिका २ नम्वर वडा कार्यालयको आयोजनामा टोखामा लैङ्गिक हिंसा सम्बन्धी सचेतना प्रभातफेरी गरिएको हो ।
‘सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान‘ भन्ने नाराका साथ शुक्रबार आयोजित कार्यक्रममा टोखा-२ वडामा रहेका विद्यालयका विद्यार्थी, महिला समूह तथा संघसंस्थाहरुको समेतको सहभागितामा मंसिर २३ गते महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा वडा कार्यालयवाट निकालिएको र्याली टोखा नगर परिक्रमा गर्दै पुनः वडा कार्यालयमा पुगेर समापन भएको छ ।
टोखा -२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्ने बताए ।
आफू हिंसामा परेको जानकारी हुँदाहुँदै पनि महिलाहरूले बाध्य भएर हिंसा सहेर बस्नु पर्ने टोखा-२ की वडासदस्य सविना श्रेष्ठले बताइन् । श्रेष्ठले कतिपय महिलालाई आफू हिंसामा परेपनि कसरी न्याय पाउँछु भन्ने बारेमा जानकारी नभएको बताइन् ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।