• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२९ पुष २०७९, शुक्रबार


    बिज्ञापन
  • टोखा नगरपालिकाको १२ औँ नगरसभाको अधिवेशन सम्पन्न

    काठमाडौँ (टोखा टाइम्स) । टोखा नगरपालिकाको १२ औँ नगरसभाको अधिवेशन सम्पन्न भएको छ । शुक्रबार टोखा- ३ स्थित सद्धभाव बैक्वेट तुरचामा नगरसभाको १२ औँ अधिवेशन सम्पन्न भएको हो ।

    नगरसभामा नगरका उपप्रमुख मुरारी तामाङले चालू आर्थिक वर्ष २०७९ र ०८० मा स्वीकृत योजना कार्यक्रम तथा बजेटको हालसम्मको कार्यान्वयनको अवस्थाबारे समीक्षा प्रस्तुत गरेका थिए । नगर उपप्रमुख तामाङका अनुसार चालू आवमा नगरपालिकाको ११ औँ नगरसभाबाट २ अर्व ११ करोड ५६ लाख ७ हजार बजेट विनियोजन गरिएको थियो । सोमध्ये हालसम्म चालू तर्फ १७ करोड ४१ लाख ५७ हजार अर्थात् २४ दशमलव ६५ प्रतिशत, पूजीतर्फ १६ करोड ४९ लाख ७४ हजार अर्थात् ११ दशमलव ७१ प्रतिशत गरी कूल ३३ करोड ९१ लाख ३१ हजार अर्थात् १६ दशमलव २ प्रतिशत खर्च भएको छ ।

    चालू आर्थिक वर्षमा ९२६  वटा विकास योजना स्वीकृत कार्यक्रममध्ये ३४९ कार्यान्वयनमा आएको उनले बताए । त्यसमध्ये १६७ वटा योजना सम्पन्न  भइसकेको र अन्य कार्यान्वयनको चरणमा रहेको उनले जनाएका छन् ।

    उनका अनुसार आर्थिक विकासमा २० दशमलव  ६२ प्रतिशत, सामाजिक विकासमा  १५ दशमलव ८१, पूर्वाधार विकासमा १४ दशमलव १४ प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापनमा शुन्य दशमलव ६७ प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २४ दशमलव ४६ प्रतिशत खर्च भएको छ । उनले नगरपालिकाले अन्य योजनालाई क्रमश  कार्यान्वयन गर्ने तयारीमा रहेको जनाएका छन् ।

    पछिल्लो ६ महिनायता नगरपालिका क्षेत्रमा भएको विकास निर्माण कार्यमा जनप्रतिनिधिले नै असन्तुष्टी जनाएका छन् । नगरपालिकाको योजना तथा कार्यक्रममा धेरै आयोजना रहेपनि सीमित मात्रै कार्यान्वयनमा आएको  कार्यक्रममा सहभागी वडा जनप्रतिनिधिले बताएका छन् ।

    पालिकाले गरेको विकास निर्माण कार्यले स्थानीय बासिन्दासँगै आफूहरु समेत सन्तुष्ट नरहेको उनीहरुले बताए । वडा नम्बर ८ का वडासदस्य अनुपकुमार राईले चालू वर्षमा स्वीकृत कार्यक्रममध्ये ३० प्रतिशत पनि योजना कार्यान्वयनमा नआउनुमा दुखेसो पोखे । उनले गाउँगाउँमा स्थानीय सरकार आएपनि नगरबासीले फोहोर, खानेपानी, सडक निर्माणमा ढिलासुस्ती, सडक बत्ती जडानमा समस्या भएको सुनाए  । नगरसभामा सहभागी भएका अधिका‌ंश जनप्रतिनिधिले साेही विषयमा गुनासाे पाेखेका छन् ।

    उनले टोखा नगरपालिकामा नेपाली ढाका टोपी उत्पादन गरेपनि बजारीकरणको समस्या रहेको सुनाए । ढाका टोपीको व्यवसायीकरणका लागि नगरपालिकाले अनिवार्य पोशाकको रुपमा राख्न नगरसभामा अनुरोध गरे ।

    महिला वडा सदस्य सविना श्रेष्ठले नगरपालिकाले लक्षित वर्गको कार्यक्रममा ल्याउन नसकेकोमा दुखेसो पोखिन् । उनले जनताको क्षमता र आर्थिक विकासको लागि  योजना स्वीकृत भएपनि कार्यान्वयनमा आउन नसकेको सुनाए ।

    उनले नगरपालिकाले सार्वजनिक सुनुवाई गरेपनि सोको समीक्षा नगरेको बताईन् । ‘सार्वजनिक सुनुवाई देखाउनको लागि मात्रै भयो । प्रभावकारी हुन सकेन,’ उनले भनिन्, ‘कार्यक्रमहरु अलपत्र छन । कहिलेदेखि कार्यान्वयनमा आउँछन् ।’

    नगरपालिकाले विभिन्न समितिको गठन गरेपनि जिम्मेवारी र दायित्व निर्धारण नभएको बताइन् । सो समितिलाई जिम्मेवारीसहित कार्यान्वयनमा ल्याउन उनीसँगै अन्य जनप्रतिनिधिले समेत माग गरे ।

    कार्यक्रमका अध्यक्ष तथा नगरप्रमुख प्रकाश अधिकारीले  कार्यपालिका सदस्य तथा जनप्रतिनिधिसंग समाधानकाे उपायकाे माग समेत गरेका छन् । उनले जनप्रतिनिधिले समस्या समाधानकाे उपाय दिएमा याेजना कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘समस्या देखाएर कुरा गरेर मात्रै भएन । उपाय पनि दिनुस् । हामीलाई कार्यान्वयन गर्न सहज हुनेछ ।’ विभिन्न कारणले योजना कार्यान्वयनमा ढिलाई भएको बताए । उनले योजना कार्यान्वयनमा आएपनि नतिजा आउन समय लाग्ने भएको सुनाए ।

    नगरप्रमुख अधिकारीले केही योजनाहरु कार्यान्वयनको क्रममा रहेको र क्रमश कार्यान्वयनमा आउने बताए ।

    उनका अनुसार नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन  २०७४ अन्तर्गत रही विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । केही योजना तथा कार्यक्रमहरु पालिकाको बेरुजुमा परेकोले स्थगित गरेको बताए ।

    उनले पालिकाको विकासको लागि नगरप्रमुखसँगै सम्पूर्ण जनप्रतिनिधिको सहयोग आवश्यक रहेको र सोही अनुरुप साथ दिन अनुरोध गरे । केही विकास निर्माण कार्यहरु स्थानीय बासिन्दाको विरोधले गर्दा कार्यान्वयनमा नआएको उनको दावी छ ।

    Facebook Comments Box