टोखा टाइम्स, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिसँगै संसदीय दलको नेतामा डोलप्रसाद अर्याल चयन भएका छन्। शुक्रबार राति बसेको पार्टीको संसदीय दलको बैठकले अर्याललाई संसदीय दलको नेता चयन गरेको हो ।
सर्वोच्च अदालतले हिजो पार्टीका तत्कालीन सभापति, गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकता निष्क्रिय तथा अवैध भएको ठहर गरेसँगै उनको सभापति, सांसद तथा मन्त्री पद गुमेको थियो ।
लगत्तै हिजै बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको छ ।
“कानूनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्दछ”, पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले भने ।