टोखा टाइम्स ,काठमाडौं । उपत्यकाभित्र मंगलबार बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् । नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारी साधन ठप्प पार्ने निर्णय गरेसँगै आज सार्वजनिक सवारी नचलेका हुन् ।
उपत्यका बाहिर जाने लामो दुरीका सवारी साधन भने फाट्टफुट्ट चलेका छन् । नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायत बस काउन्टरहरू बन्द छ । अहिले चोक चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन् ।
सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन् । निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालन भइरहेको छ । सोमबार बालाजु बसपार्क क्षेत्रमा ट्राफिक नियमविरुद्ध मजदुरहरू आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा उनीहरूले दुइटा प्रहरी भ्यान, प्रहरी बिट जलाएका थिए भने ट्राफिक आइल्यान्ड भत्काएका थिए ।
यातायात मजदुरहरूले १० बुँदे माग अघि सारेर गत माघ १७ गतेदेखि नै आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए । आफ्ना माग पूरा नभए फागुन ३ गतेदेखि देशभरको सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी उनीहरूको थियो ।
आइतबार मजदुरका प्रतिनिधिहरू भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर वार्ता गरेका थिए । उनीहरूले तत्काल सम्बोधन गर्न सकिने विषयहरू राखेका थिए । यसअघि ट्राफिक नियम उल्लंघन गरे पाँच सय, एक हजार र एक हजार पाँच सय रूपैयाँ जरिवाना हुने व्यवस्था थियो ।
पुस ३ गतेदेखि ट्राफिक प्रहरीले न्यूनतम जरिवाना नै एक हजार पाँच सय रूपैयाँ हुने नियम ल्यायो । यातायात मजदुरहरूले यसमा असन्तुष्टि जनाएका थिए । छलफलपछि यो व्यवस्था स्थगित गर्ने निर्णय भएको थियो ।