काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि छलफलका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।
यसअघि पनि सभामुख र प्रधानमन्त्री शेरबहादुर देउवाले पटक(पटक आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले अनुपस्थित हुँदै आएको छ । भोलिका लागि सभामुखले बोलाएको बैठकमा पनि एमाले जान्छ कि जाँदैन भन्ने विषयलाई चासोपूर्वक हेरिएको छ ।
सत्ता गठबन्धनका कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले २१ बुँदे आरोप लगाउँदै ९८ सांसदको हस्ताक्षरसहित महाभियोग दर्ता गरेका छन् । महाभियोगमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् ।