टोखा, काठमाडौँ । टोखा – ३ स्थिति स्थुलिका स्थानीयबासीदा तथा सरोकारवालाहरुले स्थु फल्चा सडक खण्ड तत्काल व्यवस्थापन तथा मर्मत गर्न टोखा – २ र ३ वडा कार्यालयका अध्यक्षद्वय धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोल तथा नगर उपप्रमुख मुरारी तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
टोखाको मूल सडकको स्थु फल्चा खण्ड केही महिनादेखि जीर्ण हुँदा अत्यधिक धुलो र हिलोका कारण स्थानीयबासीको शरीरमा प्रतिकुल असर पर्नुका साथै आवतजावत गर्नमा समेत सकस भएकोले तत्काल उक्त सडक खण्डको उचित व्यवस्थापन तथा मर्मतको माग सहित स्थानीयवासी तथा सरोकारवालाहरुले अध्यक्षद्वय र उपप्रमुखको कार्यकक्षमा गई आईतबार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
वडाध्यक्षद्वय र उपप्रमुखबाट यहि महिना भित्र उक्त बाटोको व्यवस्थापन तथा मर्मत कार्य सुरु गर्ने प्रतिवद्धता जनाएको सरोकारवाला मध्यका एक अमर वहादुर डंगोलले टोखा टाइम्सलाई बताए ।
टोखा-३ वडा कार्यालयले उक्त सडक खण्डको स्तरोन्तीका लागि बाटोको दायाँ बायाँ ३/३ फिट ड्रेन २६ फिट बाटो कायम हुने गरी निर्माण कार्य गर्ने र ११ सय मिटर बाटो २ इन्च मोटाइको डब्ल कालोपत्रे गर्ने तयारी भैरहेको टोखा-३ वडा अध्यक्ष रमेश डंगोले ध्यानाकर्षण पत्र बुझिलिने क्रममा जानकारी गराएको सरोकारवाल डंगोलले जानकारी दिए ।
सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा तत्काल जनप्रतिनिधिहरुले समाधानका लागि जागरुकता देखाउनु पर्ने स्थानीय तथा सरोकारवालाहरुले सुझाएका छन् ।