• टोखा टाइम्स

    • प्रकाशित मिति:२९ चैत्र २०७९, बुधबार


    बिज्ञापन
  • डिप्लोमा, एडभान्स डिप्लोमा, भाषा र तालिमका लागि विदेश अध्ययन भिसा आवेदनमा रोक

    टोखा टाइम्स, काठमाडौं । शिक्षा मन्त्रालयले ल्याएको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ कार्यान्वयनमा आएसँगै नेपाली विद्यार्थीहरु अब डिप्लोमा, एडभान्स डिप्लोमा, भाषा र तालिमका लागि विदेशमा अध्ययन भिसामा आवेदन गर्न नपाउने भएका छन् । नयाँ निर्देशिकाअनुसार अब विद्यार्थीहरुले उच्च शिक्षाका लागि मात्रै अध्ययन भिसाको आवेदन गर्न पाउनेछन् ।

    वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्रै एनओसी पत्र दिँदै आए पनि कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा -स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई पनि एनओसी दिँदै आएको थियो ।तर चैत १९ गतेदेखि वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ ले स्नातक तह पछाडिका शिक्षालाई मात्र उच्च शिक्षा परिभाषित गरेकाले स्नातक तहभन्दा मुनिका कुनै पनि शैक्षिक कार्यक्रमका लागि एनओसी दिन छोडिएको शाखा प्रमुख बासुदेव वस्तीले बताए ।

    नयाँ निर्देशिका लागू गर्ने सन्दर्भमा अहिले मन्त्रालयमा छलफल चलिरहेको छ । नयाँ निर्देशिका लागू भइसकेपछि अध्ययनको लागि विदेश जाने विद्यार्थीले अटोमेटिक प्रकृयाद्वारा आवेदन गर्ने प्रणाली भर्न पाउने व्यवस्था मन्त्रालयले लागू गर्न लागेको छ । त्यसका लागि अहिलेकै एनओसी आवेदन गर्ने पोर्टललाई व्यवस्थित गर्ने काम भइरहेको सहसचिव काप्रीले बताए ।

    नयाँ अटोमेटिक प्रणाली कार्यान्वयनमा आइसकेपछि विद्यार्थीहरुले अहिलेजस्तो एनओसी कार्यालयमा गएर भिडभाड गर्नु पर्दैन । मन्त्रालयले नयाँ प्रणालीमार्फत् राष्ट्रिय परीक्षा बोर्ड र बैंकसँग विद्यार्थीको तथ्यांकलाई जोड्ने काम गर्न लागेको छ । त्यसपछि विदेश जाने विद्यार्थीले शुरु गर्ने प्रकृया र उसले अध्ययन गर्न जाँदा गर्ने खर्चलाई एकीकृत प्रणालीमा समेटिने मन्त्रालयले जनाएको छ ।

    नेपालको संविधान र शिक्षा ऐनको संशोधनले विद्यालय शिक्षा भनेर कक्षा १२ सम्मलाई परिभाषित गरेको र सोही आधारमा निर्देशिका बनेको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ ।

    यसअघि जापानमा भाषा अध्ययन गर्न जानका लागि मात्रै पनि विद्यार्थीले एनओसी पाउँदै आएका थिए । तर अब भाषा पनि डिग्री सम्बन्धित अर्थात शैक्षिक कार्यक्रमसँग जोडिएको भए मात्रै पाउने भएका छन् ।

    जापानमा स्नातक अध्ययन गर्नका लागि पनि निश्चित समय भाषा अध्ययन गर्नुपर्ने भएकाले त्यसमा समस्या नहुने शाखाले जनाएको छ । विश्वविद्यालयले दिने अफर लेटरमा स्पष्ट उल्लेख गरिएको हुने र शैक्षिक कार्यक्रमसँग जोडिएको भाषा अध्ययन हुनुपर्ने छ ।

    चालू आर्थिक वर्षको माघ महिनासम्म ५९ हजार आठ सय ५७ जना विद्यार्थीले एनओसी लिएका थिए भने फागुन महिनामा मात्रै १३ हजार नौ सय ४५ जना विद्यार्थीले एनओसी लिएका छन् । फेकनका उपाध्यक्ष दुलालका अनुसार अहिलेको निर्देशिका कार्यान्वयनमा आउँदा विदेश अध्ययनमा जान चाहने ७५ प्रतिशत विद्यार्थी प्रभावित हुनेछन् ।

    ‘उच्च वर्गका छोराछोरीहरु राम्रो विश्वविद्यालयमा जान सक्छन्, हामीमार्फत् जाने भनेको कम खर्चमा मध्यम वर्गका विद्यार्थीहरु हुन्, जापान, अस्ट्रेलिया लगायत धेरै देशमा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई नयाँ निर्देशिकाले प्रभावित गर्छ’, उनले भने । गत फागुन १८ गते स्वीकृत भएको उक्त निर्देशिका आगामी वैशाख २ गतेदेखि लागु हुने बताइएको छ ।

    Facebook Comments Box