टोखा टाइम्स, काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड स्वामित्वको म्यानचेस्टर युनाइटेड सकर स्कुलले अपोलो टायरसँग सहकार्य गर्दै एन्फा कम्प्लेक्समा आयोजना गरेको दुई दिने कार्यक्रम ‘युनाइटेड वी प्ले’ मा रोहित श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
पहिलोपल्ट नेपालमा आयोजना गरिएको कार्यक्रमको प्रवर्द्धन सम्हालेको फ्रिज्बी कम एन मार्कका प्रमुख राजेश झाले भने, ‘म्यानचेस्टर युनाइटेडको ब्रान्ड भ्याल्यु विस्तार गर्न युवा खेलाडीको लागि आयोजित कार्यक्रममा नेपालका ४ सय ३५ जना खेलाडी सहभागी भए, जसमा कौशल प्रदर्शनको आधारमा रोहित श्रेष्ठ विजेता बनेका छन् । उनले म्यानचेस्टर युनाइटेडको घर ओल्ड ट्रफोर्डको भ्रमण गर्ने अवसर पाएउने छन् ।’
टोखाका रोहित काठमाडौं किकर्स फुटबल एकेडमीका नियमित खेलाडी हुन् । उनी एन्फाले आयोजना गरेको छनोटमा सफल हुँदै त्रिभुवन आर्मी फुटबल क्लबको एकेडेमीमा पनि पुगेका थिए ।
युनाइटेड वी प्लेका कार्यक्रम व्यवस्थापक अभिजित ओवरोयकाअनुसार रोहितले ओल्ड ट्राफोर्डमा एक हप्ता प्रशिक्षण गर्ने र युनाइटेडको खेल हेर्ने छन् । उनको यात्राको सम्पूर्ण खर्च युनाइटेड वी प्लेले बेहोर्ने छ । डच प्रशिक्षक रोबिन भान डेर लनसहित एक भारतीय र तीन नेपाली प्रशिक्षकको निगरानीमा १६ वर्षमुनिका बालबालिकाहरूले दुई दिन एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गरेका थिए ।- ईकान्तिपुर बाट