• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३ फाल्गुन २०७८, मंगलवार


    बिज्ञापन
  • खाली कागजमा हस्ताक्षर गर्न पाँच सांसदद्वारा अस्वीकार

    काठमाडौँ — प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलको बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

    संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो । ती कागजमा हस्ताक्षर गर्न रावलले लिखितरूपमा नै असहमति राखेका थिए । अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

    ‘चारवटा फाइलमा छुट्टाछुट्टै हस्ताक्षर गराउन खाली कागज ल्याइएको थियो । के प्रयोजनका लागि हो भन्ने थाहा नपाई हस्ताक्षर गरिएन,’ झपट रावलले भने ।

    एमाले प्रमुख सचेतक विशाल भट्टराईले त्यसरी हस्ताक्षर गराइएको र नेतृत्वले सोच विचार गरेर त्यसको प्रयोग गर्ने जानकारी दिएका थिए । उनले न्यायाधीशहरूलाई महाभियोग लगाउने लगायतका विषयमा छलफल भएको र त्यसमा विचार गरेर निर्णय हुने बताएका थिए ।

    सांसदहरूले भने प्रतिशोधको राजनीति गर्न नहुने भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । झपट रावलले भने, ‘मैले प्रस्ट के भनेको छु भन्दा प्रतिशोधको राजनीति गर्ने होइन । महाभियोगको सट्टा महाभियोग होइन । जनताका बीचमा गएर जे भन्नुपर्ने हो भन्ने हो । हामी अनिर्णयको बन्दी बन्ने होइन । जनताले सुन्ने, बुझ्ने र अनुभूति गर्ने गरी हामी जाने हो ।’

    खाली कागजमा हस्ताक्षर गर्नेमध्येका सांसदहरू कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मोहन बानियाँ, विमला विकलगायतले पनि प्रतिशोधको राजनीति नगर्ने नेतृत्वलाई भनेका थिए ।

    संसदीय दलको बैठकमा अध्यक्ष ओलीको पक्षमा लामो समयदेखि लाग्दै आएका सांसद महेश बस्नेतले भने सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अविश्वासको प्रस्ताव लानुपर्ने प्रस्ताव गरेका थिए । उनले न्यायाधीशविरुद्ध होइन सभामुखविरुद्ध लाग्नुपर्ने धारणा राखेका थिए । कान्तिपुर दैनिकबाट

    Facebook Comments Box