• टोखा टाइम्स

    • प्रकाशित मिति:२५ जेष्ठ २०८०, बिहीबार


    बिज्ञापन
  • साउन १ देखि स्वचालित प्रणालीमार्फत श्रम स्वीकृति पाइने

    टोखा टाइम्स, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी श्रावण १ गतेदेखि स्वचालित प्रणालीबाट पूर्व र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । सेवा प्रवाह नागरिक मैत्री र प्रविधि मैत्री हुँदै गएको सन्दर्भमा इजाजत पत्र संस्थालाई पूर्ण जिम्मेवार बनाउने र विभाग र कार्यालयबाट निरन्तर अनुगमन हुने प्रबन्ध गरिएको मन्त्रालयले जनाएको छ ।

    वैदेशिक रोजगार ऐन, २०६४ मा भएको वैदेशिक रोजगारमा जाने हरेक कामदारले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था भएकोमा वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मार्फत कामदारहरुले अनलाइन आवेदन गरी श्रम स्वीकृति लिने व्यवस्था छ । हाल एफइआइएमएसलाई समायानुकुल परिमार्जन गरी पूर्व/अन्तिम श्रम स्वीकृति सम्बन्धी कार्य स्वचालित प्रणालीबाटै गरी समयमा नै श्रम स्वीकृति प्रदान गर्ने, कार्यालयमा कार्यरत अधिकृत तहका कर्मचारीहरुलाई एफइआइएमएसको विवरण अनुगमनमा केन्द्रित गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

    आगामी दिनमा सम्बन्धित वैदेशिक रोजगारीमा पठाउने कम्पनीले नै आफ्नै कम्पनीमा बसेर सूचना प्रविष्ट गर्न सक्ने र स्वतः श्रम स्वीकृति प्राप्त हुने भएको छ । तर, वैदेशिक रोजगार व्यवसायीले गलत कागजात पेस गरी प्रविष्ट गरेमा वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली २०६४ बमोजिम कम्पनी खारेजीसम्मको  सजाएँ हुने गरी निर्णय गरिएको हो ।

    वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी सेवा प्रवाह गर्ने कार्यालय तथा निकायहरुबाट प्रवाह हुने सेवालाई सेवाग्राही मैत्री एवं आधुनिक सूचना प्रविधिमा आधारित बनाउँदै प्रभावकारी सेवा प्रवाह गर्न वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०७८ कार्यान्वयनमा रहेको छ । यस निर्णय अनुसार श्रम स्वीकृति प्रदान गर्नका लागि तय गरिएको दुई तहको व्यवस्थालाई खारेज गरी अधिकृतमुखी बनाइएको छ । श्रम स्वीकृतिको प्रक्रियालाई एक तहमा सीमित गर्दा सरल, सहज हुनुका साथै पारदर्शी एवं सेवाग्राही मैत्री हुने अपेक्षा मन्त्रालयले गरेको छ ।

     

    Facebook Comments Box