(टोखा टाइम्स) टोखा, काठमाडौँ । टोखामा ठूलो क्षमताको पानी ट्याङ्की निर्माण गर्न लागेको छ । टोखा २ र ३ वडामा बढ्दो जनघनोत्वका कारण खानेपानीको समस्या बढेसँगै टोखा शिवपुरी खानेपानी आयोजना अन्तर्गत टोखा शिवपुरी खानेपानी व्यवस्थापन समितिले आधुनिक प्रविधि जडिट १० लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गर्न लागेको हो ।
संघीय सरकार बागमती प्रदेश खानेपानी आयोजना डिभिजन ५ कार्यालयको आर्थिक सहयोगमा टोखा शिवपुरी खानेपानी आयोजना अन्तर्गत टोखा- २ स्थित चोबलीमा उक्त आयोजना बन्नेछ ।
टोखा शिवपुरी खानेपानी व्यवस्थापन समितिले परामर्शदाता ईन्भारामेन्टल एण्ड डेभलपमेन्ट रिसर्च सेन्टर प्रा.लिको सहजिकरणमा शनिबार बिहान टोखा – २ वडा कार्यालय भवनमा वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा खानेपानी आयोजनाको संक्षिप्त वातावरण अध्ययन तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।
उक्त आयोजनाको लागि शिवपुरी जलाधार तथा राष्ट्रिय निकुञ्जमा अवस्थित विष्णुद्वारको मुहानबाट पानी ल्याउनुका साथै आवश्यकता अनुसारको डिपबोरिङ्ग गरी पानी संचित गर्ने र वितरण गरिने टोखा शिवपुरी खानेपानी व्यवस्थापन समितिका अध्यक्ष मदनलाल श्रेष्ठले कार्यक्रममा बताउनु भयो ।
कुल लागत ५ करोडको लागतमा ४ रोपनी १३ आना २ पैसा २ दाम क्षेत्रफलको सार्वजनिक जग्गामा पानी ट्याङ्कीका साथै आवश्यक पूर्वाधारहरू निर्माण हुने समेत समितिका अध्यक्ष श्रेष्ठले कार्यक्रममा जानकारी दिनुभयो ।
उहाँले सो पानी ट्याङ्कीले वडा नम्बर २ र ३ का सर्वसाधारण लाभान्वित हुने समेत जानकारी दिनु भयो ।
टोखा -२ वडाका वडाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष समेत रहेका धर्मेन्द्र श्रेष्ठले पानी ट्याङ्की निर्माणले २ र ३ वडावासीले भोगिरहेको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
टोखा नगरपालिकाको गौरवको आयोजना अन्तर्गत यो सहित शिवपुरी जलाधार क्षेत्रको सिमावर्ति स्थान टोखा-१ झोर महाँकाल, चण्डेश्वरीमा खानेपानी संचित गर्न ठूलठुला भण्डारण क्षमता भएका ट्याङ्कीहरूको निर्माण कार्य भैरहेको समेत उहाँले कार्यक्रममा बताउनुभयो ।
कार्यक्रमा वोल्ने वक्ताहरूले ट्याङ्की निर्माण कार्य गर्दा वरिपरिको भू-बनोटको विस्तृत अध्ययन गरी पर्यावरणमा असर पुग्ने खालको कार्य नगर्न र मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले पानीको शुद्धता र स्वस्थतामा विशेष ध्यान दिएर आयोजना अगाडि बढाउन सुझाव दिएका थिए ।