• नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

    टोखा टाइम्स, काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । नयाँ नेतृत्वको लागि शनिबार भएको मतदानबाट उनी निर्वाचित भएका हुन् । कुल चार सय ६७ मतदातामध्ये भट्टराईले दुई सय ३८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी इक्यानका पूर्वअध्यक्षसमेत रहेका विष्णुहरि पाण्डेले एक सय ४६ मत पाए । यसैगरी अध्यक्षका अर्का उम्मेदवार कृष्णहरि केसीले २१ मत पाएका छन् भने देवीदास भट्टराईले ११ मत पाए । विजयी भएका भट्टराई र दोस्रो भएका पाण्डे प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । 

    त्यस्तै उपाध्यक्षमा लक्ष्मण पौडेलले २२८, भुवनबहादुर क्षेत्री १७२ र गीता शिवाकोटी १५३ मतसहित निर्वाचित भएका छन्। उपाध्यक्षमा निर्वाचित शिवाकोटी भट्टराई समूहकी हुन्। क्षेत्री र पौडेल पाण्डे समूहका हुन्।

    महासचिवमा भट्टराई नेतृत्वको समूहबाट दीपकराज भुसाल निर्वाचित भएका छन्। उनले २५५ मत प्राप्त गर्दा पाण्डे समूहका वासुदेव दाहालले १५५ मत प्राप्त गरे। सचिवको दुवै पदमा भट्टराई समूहबाट निर्वाचित भएका छन्। भावनाथ हुमागाईँ २६०, रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित भएका हुन्।

    कोषाध्यक्षमा पनि भट्टराई समूहकै आशिक कार्की निर्वाचित भएका छन्। उनले २०८ मत प्राप्त गर्दा पाण्डे समूहका विनोदकुमार सुवेदीले २०१ मत प्राप्त गरे। सहकोषाध्यक्षमा विकल्पराज पौडेल २१६ मतसहित निर्वाचित हुँदा पाण्डे समूहका हेमराज सिग्देलले १८७ मत प्राप्त गरे।

    त्यस्तै सदस्यहरूमा सुरज सिलवाल ३०१, साधना पुडासैनी २६६, उमा खड्का पाठक २४२, मञ्जित ढकाल २०९, गोविन्द खनाल २०२, आशिष रायमाझी १९८, एसपी भट्टराई १८५, विजयकुमार बस्नेत १८४ र श्रीराम गिरी १८४ मतसहित निर्वाचित भएका छन्। कुल १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन दर्ता भएको थियो ।

    इक्यानले चुनावलाई प्रविधिमैत्री बनाउनको लागि विद्युतीय भोटिङ प्रविधिको प्रयोग गरेको र चुनाव सकिएको एक घण्टामै नतिजा सार्वजनिक गरेको जानकारी दिएको छ । इक्यानको नवनिर्वाचित कार्य समितिले शनिबारै निर्वाचित भएको प्रमाणपत्र बुझ्दै पद तथा गोपनीयताको सपथग्रहण गरेको छ ।

    Facebook Comments Box