• टोखा टाइम्स

    • प्रकाशित मिति:१७ भाद्र २०८०, आईतवार


    बिज्ञापन
  • टी-२० महिला विश्वकप छनोट : नेपालको लगातार तेस्रो जित

    टोखा टाइम्स, काठमाडौँ । आईसीसी टी-२० महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । मलेसियामा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा आइतबार नेपालले भुटानलाई तीन विकेटले पराजित गर्‍यो ।

    यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा शुक्रवार बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।

    आइतबारको खेलमा हारी पहिलो ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ३९ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १३.२ ओभरमा सात विकेट गुमाएर ४१ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

    नेपालको जितमा कप्तान रुबिना क्षेत्रीले १२ रनको योगदान गरिन् । उनले २३ बलको सामना गरी एक चौका पनि हिर्काइन् । अन्य ब्याट्रले भने दोहोरो सँख्यामा रन बनाउन सकेनन् । कविता जोशीले नौ, सीता राना मगरले आठ र पूजा महतोले तीन रन बनाए । 

    नेपालका पाँच खेलाडीले त खातासम्म खोल्न सकेनन् । नेपालले अतिरिक्त रूपमा नौ रन पाएको थियो । भुटानका बलर अञ्जुली घालीले तीन र छिरिङ जाङ्मोले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भुटानका लागि डेचन वाङ्मोले २१ रन बनाइन् । 

    कप्तान डेचनले ४४ बलको सामना गरी एक चौका पनि प्रहार गरिन् । छिरिङ् जाङ्मोले पनि ६ रन बनाइन् । नेपाली बलर पूजा महतोले तीन विकेट लिइन् । कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले एक/एक विकेट लिए । भुटानले अतिरिक्त रूपमा सात रन पाएको थियो । 

    अब नेपालले मंगलबार कतार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा भने चीन, हङ्कङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् । दुबै समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

    प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले टीट्वान्टी महिला विश्वकपका लागि विश्वस्तरीय छनोट प्रतियोगिता खेल्न पाउने छन् । टीट्वान्टी महिला विश्वकप सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ ।

    Facebook Comments Box