टोखा टाइम्स, काठमाडौँ । नेपाली कांग्रेस नेता डा रामशरण महतले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (
एमसीसी) सम्झौता संसदबाट पास नगरे राष्ट्रघात हुने जिकिर गरेका छन् । शनिवार प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस टोखा २ नगर कार्य समितिद्वारा टोखामा आयोजित कार्यक्रमका प्रमुख अतिथि महतले कुनै पनि हालतमा एमसीसी फागुन १६ भित्रै संसदबाट पारित हुनुपर्ने बताएका हुन् ।
प्रवक्ता महतले एमसीसीबारे गलत प्रचार भएको भन्दै अहिले विरोध गर्नेहरू नै त्यसको सम्झौता प्रक्रियामा सहभागी रहेको बताए । ‘जो विरोध गर्दैछन्, उनीहरू नै एमसीसी सम्झौता प्रक्रियामा संलग्न छन् । अझ संसद्बाट अनुमोदन गर्नुपर्छ भन्ने बुँदा नै केपी ओलीजीको सरकारले गरेको हो,’ उनले भने, ‘हिजो एउटा कुरा, आज अर्को कुरा गरेर बोली फेरेको राम्रो होइन, त्यसको जनताले मूल्यांकन गर्छन् ।’
उनले नेपालले एमसीसीबारे लिने निर्णयले अन्य दातृ संस्थाबाट आउने सहयोगसमेत प्रभावित हुने बताए । ‘एमसीसीअन्तर्गत जुन सहायता नेपालमा उपलब्ध हुँदैछ, यो सहयोग प्रक्रियामा सबै ठूला राजनीतिक दल र नेताहरू सरकारमा हुँदा यसको प्रक्रियामा सहभागी हुनुहुन्छ । कोही अछुतो छैन । यसको प्रक्रिया थाल्दा नेकपा (माओवादी केन्द्र)कै सरकार थियो, त्यो बाबुराम भटराईजी प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो,’ उनले भने, ‘अस्ति ओलीजीको सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर संसद्मा दर्ता गराउनुभएको हो ।’
उनले बाहिर प्रचार भएजस्तो एमसीसी परियोजना आउँदैमा अमेरिकाले सेना पठाउँछ भन्ने भ्रममात्रै भएको बताए । ‘जो आफैं यो प्रक्रियामा सामेल छन्, उनीहरू नै यसबारे भ्रम फैलाएका छन् । नेताहरू आफैंले प्रस्ताव गरेर मन्त्रिपरिषद्बाट पास गर्ने अनि अहिले थाहा नपाएको जस्तो गर्ने कुरा राम्रो भएन,’ उनले भने ।
उनले गठबन्धन दलहरूबीचमा समेत सहमति गरेर एमसीसी पास हुने बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।