• टोखा टाइम्स

    • प्रकाशित मिति:१० आश्विन २०८०, बुधबार


    बिज्ञापन

    भविष्य प्रतिको चिन्ता ‘या: प्याखँ’

    टोखा टाइम्स, काठमाडौं । सांस्कृतिक नगर टोखामा याः प्याखँको ठूलो धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ। यो टोखाको मौलिक तथा प्राचीन नृत्य परम्परा हो भन्ने कुरामा दुईमत छैन। प्राचीन कालदेखि नै धार्मिक जात्रा तथा उत्सवमा या: प्याखँ देखाउदै आईरहेको प्रतीत हुन्छ। दाफा भजन खल:को सांगीतिक संग्लनतामा प्रस्तुत गरिने या: प्याखँ श्रेष्ठ गुरू खलःले मात्र नाच्ने गर्दथे।

    याः प्याखँ वर्षमा दुई पटक नचाइन्छ, यंलाथ्व द्वादसि र बिस्काः जात्रामा । येँया यंलाथ्व द्वादसिका दिन नसः द्यः को विधिवत पूजा गरिसकेपछि दाफा भजनको सांगीतिक तालमा मन्दिर अगाडि विशेष नृत्य प्रस्तुत गरे पश्चात् तपलाछि दबुः र क्वनेलाछि दबुः मा नृत्य प्रदर्शन गरिन्छ । बिस्काः जात्राको पहिलो दिन तपलाछी र दोस्रो दिन क्वनेलाछि दबुः मा याःप्याखँ प्रस्तुत गरिन्छ ।

    याः प्याखँ एक सौम्य र शिष्ट नृत्यको रूपमा देखिन्छ। यसमा तीन जना रहन्छग जसमा एक पुरूष र उनका दुईतिर दुई महिलाको भेषमा पुरूषहरू भद्र भएर नाच प्रस्तुत गरिन्छ। यहीं महिलाको भेषमा आउने दुई जनाले रातो पृष्ठभूमि भएको मुजावाल जामा लगाएको हुन्छ। शरीरमा भने थोरै दौरा जस्तो देखिने तर छोटो रातो भोटो लुगा लगाएको हुन्छन।

    याः प्याखँ नृत्य अत्यन्त सम्यमताका साथ नाचिन्छ। नृत्य गर्ने तीनै जना दर्शक तर्फ फर्कन्नन। मात्र वाधवादक तर्फ फर्केर नाचिन्छ। तीनै जना संगसंगै आफ्नो प्रस्तुती गरी सुरू गरिनेलाई “द्यः छाये” भनिन्छ। यिनको हिडने ढाँचा पनि अत्यन्त भद्र हुन्छ। उनीहरू दुवै हातहरू तल लगि एक माथि अर्को हात राखेर सौम्य भएर तीनै जना क्रमबद्ध भएरै हिडछन्।

    समग्रमा यो भन्न सकिन्छ कि टोखाका साँस्कृतिक प्रेमी जनताले याः प्याखँलाई अझै साँघुरो रूपमा बचाएर राखेका छन्। यो नाचलाई बचाउने राज्यको ध्यान जान सकेनन भन्ने अबको ५० वर्षपछि यो नृत्यले यसरी नै निरन्तरता पाइराख्ला भन्ने कुरामा विश्वस्त हुने ठाउँ कमै देखिन्छ ।

    Facebook Comments Box