• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२६ मंसिर २०८०, मंगलवार


    बिज्ञापन
  • चण्डेश्वरीमा खानेपानी ट्याङ्की बनाउन जग्गा संरक्षण गर्दै नगरपालिका

    टोखा टाइम्स, २६ मंसिर, टोखा । खानेपानी ट्याङ्की बनाउन टोखा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण थालेको छ । शिवपुरीको मुहानबाट बग्ने पानीलाई भण्डारण गरी टोखाबासीलाई खानेपानीको अभाव हुन नदिन वृहत् खानेपानी ट्याङ्कीको निर्माणका लागि साविक टोखा चण्डेश्वरी-३ हाल टोखा नगरपालिका–२ अवस्थित चोवलीमा नगरपालिकाले जनप्रतिनिधि, सार्वजनिक जग्गा संरक्षण समिति, टोखा नापी विभाग, नगरपालिकाका प्राविधिक, प्रहरी प्रशासन, स्थानीय, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज तथा  शिवपुरी राष्ट्रिय मध्यवर्ति क्षेत्र लगायतका प्रतिनिधिको सहयोग लिएर संरक्षण गरी खानेपानी ट्याङ्की बनाउन नापजाँच थालेको हो ।

    स्थानीयले भोगचलन गर्दै आएको उक्त सार्वजनिक जग्गामा नगरपालिकाको खानेपानी भण्डारण गर्ने योजना अनुरूप सार्वजनिक जग्गा नापजाँचपछि कानुन अनुसार नगरपालिकाको मातहतमा ल्याइ गुरु योजना अनुरूप प्रयोजनमा ल्याइने टोखा-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताए ।

    ‘चोवलीमा करिव ४ रोपनी भन्दाबढी जग्गा नापजाँच गर्ने कार्य मंगलबार सम्पन्न भएको छ र वडाको योजना अनुरुप ट्याङ्की बनाउने काम थाल्छौं’, वडाध्यक्ष श्रेष्ठले भने, ‘अतिक्रमण गरेर भोगचलन गरी बसेकालाई सार्वजनिक जग्गा रहेछ भन्ने देखाएर चित्त बुझाउन नापजाँच थालेका हौं ।’

    ‘चोबलिमा निकत भविष्यमा संचालनमा हुन लागेको अत्याधुनिक खानेपानी भण्डारण ट्याङ्कीको निर्माणको  लागि सार्वजानिक जग्गा नापजाँच गरी बासको पोल गाड्ने कार्य  सम्पन्न गरिसकेका छौं’ समितिका अध्यक्ष श्रेष्ठले भने, ‘अब निकत भविष्यमा खाने पानी वितरण प्रणाली थपिने छ । जसले सम्पूर्ण सार्वजनिक धाराहरुमा लगायत निरन्तर खानेपानी प्रवाह भइरहनेमा हामीले विश्वास गरेका छौं । अब पानीको गुणस्तरमा थप ध्यान पुर्‍याई आवश्यकता अनुसार थप धाराहरु थप्ने र वितरण प्रणाली व्यवस्थित गर्ने तिर हाम्रो ध्यानाकर्षण हुने छ ।’

    नगरपालिकाका प्राविधिक तथा नापी विभागका समूहले विभिन्न चरणमा आधुनिक प्रविधि सहित नापजाँच गरिएको टोखा नगरपालिकाका प्राविधिक उमेश श्रेष्ठले बताए ।

    यस अघि टोखा नगरपालिका नगरप्रमुख, उपप्रमुख, प्रशासनीक प्रमुख, जनप्रतिनिधि, काठमाडौं-५ का माननीय, सांसद तथा वागमती प्रदेशका खानेपानी मन्त्री, सचिवालय सचिव, शिवपुरी निकुञ्जका वाडेन लागयतको टोलीले खानेपानी मुहानको स्थलगत अनुगमन गरी सरोकारवालहरूसंग ट्याङ्की निर्माण आयोजना गर्ने विषयमा छलफल समेत गरेको थियो । यो योजनाबाट टोखा-२ र ३ का वासिन्दाहरू प्रत्यक्ष रूपान लाभान्वित हुनेछ ।

    टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सि, टोखा–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा सदस्य सविना श्रेष्ठ, लक्ष्मी हिङमाङ, आर्यन डंगोल अमर डंगोल, टोखा–३का वडाध्यक्ष रमेश डंगोल वडा सदस्य शान्ता राई हरिकृष्ण श्रेष्ठ, टोखा–४ का वडाध्यक्ष एवं सार्वजानिक जग्गा संरक्षण संयोजक धर्मेन्द्र श्रेष्ठ तथा समितिका सदस्यहरु, कार्यपालिका सदस्यहरु, शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज ढकाल चौर सेक्टरका प्रमुख, टोखा नापी कार्यालयका प्रमुख तथा सर्वेक्षक, प्राविधिक उमेश श्रेष्ठ, टोखा प्रहरी प्रभाग प्रमुख, टोखा नगरपालिका नगर प्रहरी तथा  नगर स्वंय सेवक, शिवपुरी राष्ट्रिय मध्यवर्ति क्षेत्रका अध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, समिति पदाधिकारी सदस्य, तथा स्थानिय जनताको रोहोबरमा नापजाँच तथा सिकामङ्कन कार्य सम्पन्न भएको हो ।

    Facebook Comments Box