टोखा टाइम्स , १८ पुस, हिक्मत डंगोल/ हरिसिद्धि । “सानै देखि स्कुल पढ्दा देखि मेरो कलामा रूचि थियो। म सिसाकलम , रंग र माटो संग खेल्ने गर्थे। स्कूलमा हुने प्रतियोगितामा भाग लिन्थे र पुरस्कार पनि जित्थे। “ भन्छिन् एक स्थानीय हरिसिद्धि कला मेलामा आर्ट गर्दे गरेकी एक स्कूले छात्रा। रोटरी क्लब अफ यलले हाम्रो माटोघर, ई-आर्दस नेपाल र चिवा चैत्यसँग मिलेर यही पुष १७ गते मंगलबार हरिसिद्धि कला मेलामा भएको प्रदर्शनले त्यही कुरालाई सावित गरेको छ।
समाजले व्यहोर्नु परेको समसामयिक विषयमा चित्र बनाउनु कलाकार सम्झना राजभण्डारीको रूचिको विषय हो। “ एक महिना अघि हामी कलकारको एक टोली यहांको सांस्कृर्तिक सम्पदा अवलोकनको लागि आएका थियौं। मैले यहांका दुई सम्पदालाई हुलाक टिकटमा छापेका जानकारी पाएं । सोही भगवान गणेश र हरिसिद्धि मन्दिरलाई हुलाक टिकटमा प्रयोग गरे। यसले यहांको पर्यटन व्यवसायलाई अझ महत्वपूर्ण टेवा दिने आशा गरेकी छु”। उनले भनिन। देशले गुमाउंदै गईरहेको सम्पदालाई यथार्थवादी शैलीमा प्रस्तुत गर्दा सम्झनालाई आत्मसन्तुष्टि मिल्छ।
“आजको हरिसिद्धि कला मेलामा हाम्रो मौलिक पहिचान बोध गराउनु मेरो उदेश्य हो। “ अग्रज कलाकार एरिना ताम्राकारले भनिन। त्यहॅा प्रदर्शित अर्को चर्चित कलाकार आशा डंगोलका चित्रहरूले पनि नेपाली समाज र देशले हाल भोगिरहेका त्रासदीलाई जीवन्त रूपले अभिव्यन्जन गरेको थियो। मानिसले प्रकृर्तिसंग पौठेजोरी खेल्दा वातावरणलाई कति खल्बल्याएको रहेछ भन्ने कुरा आशाको यस प्रदर्शनीमा प्रस्तुत कलाले प्रभावकारी ढंगबाट दर्शाएका छन्। आफ्ना विचार एवं भावनालाई कलाचित्रमा प्रस्तुत गर्न आशा सफल देखिन्छन्।
हरिसिद्धि कला मेलामा २२ समकालीन कलाकारहरुको ५० भन्दा बढी कलाकृति, स्थानीय विद्यालयको म्युजिक ब्याण्ड, तीन स्थानीय विद्यालयका लागि आर्ट वर्कसप, नेवारी खानाका स्वादिलो खानेकुरालगायत स्थानीय उत्पादनका स्टलहरू समावेश गरेका थिए।
हरिसिद्धि कला मेला ललितपुर महानगरपालिकाको २८ र २९ वडा कार्यालयहरु, स्थानीय कलाकारहरु र सामुदायिक अगुवाहरु साथै हरिसिद्धिका विद्यालयहरुको ठूलो सहयोग र स्वामित्वमा आयोजना गरिएको हो।