टोखा टाइम्स , २० पुस, हिक्मत डंगोल । काठमाण्डौं उपत्यका भित्र नचाइने अष्टमातृका नृत्यहरू मध्ये नरदेवीको श्वेतकाली नृत्य पनि एक हो। यो नाच ज्यापु र तुलाधरहरूको सामुहिक गुठीबाट चलाईन्छ। तुलाधरहरू बौद्द सम्प्रदायको भएको हुनाले महायान र बज्रयानमा दिक्षा प्राप्त गरेका हुनाले यो नाच सम्पूर्णता चर्या गीतमा आधारित छ। वर्षेनी पिशाच चतुर्दशीको राती यो नाच नरदेवी मन्दिर अगाडीको डबलीमा नचाइन्छ। श्वेतकालीको उत्पति बारे धेरै जसो जनश्रुतिहरू छन्।
‘एक पटक कंकेश्वरी अजिमा नाचिरहेको बेलामा एउटा तान्त्रिकले पशुको रूप लिएर नाच हेर्न आएछन्। यो कंकेश्वरी अजिमाले थाहा पाए। अजिमाले त्यो पशुरूपी तान्त्रिकको बलि लिन खोजेछ। बलि लिन लाग्दा तान्त्रिकले मान्छेको रूपमा आई देवीलाई क्षमा याचना गरी आराधना गरेछ। त्यो देखि मानिसहरूले नरबलि लिने अजिमाको नाच गर्न नहुने भनी कंकेश्वरीको नाच बन्द गरे। यो नाच बन्द गरेपछि यसको सट्टा श्वेतकालीको नाच शुरू गरेको हो”, भनी भनिन्छ।
राजा गुणकामदेवले काठमीण्डौं शहर बसाली शहरको आठ दिशामा अष्टमातृका गण स्थापना गर्नुको साथै ४ कालीहरू श्वेतकाली, दक्षिणकाली, रत्तकाली र कंकेश्वरी स्थापना गरी यो नाच चलाएको हुनु धेरै संभव छ भनी इतिहासकारहरू विश्वास गर्छन।
अर्को जनश्रुती अनुसार राजा अमर मल्ललाई एक दिन सपनामा श्वेतकालीले प्रत्येक १२-१२ वर्षमा उपत्यकाका तीनै शहरहरूमा श्वेतकालीको नाच देखाउन लैजानु यसले गर्दा नेपाल मण्जलको भलो हुन्छ भनी देवीबाट आज्ञा भए अनुसार राजा अमर मल्लले प्रत्येक १२-१२ वर्षमा श्वेतकालीको नाच उपत्यकाका विभिन्न १२ ठाउहरूमा शुभ दिनहरू हेरी नचाइने परम्परा बसाएका थिए भनिन्छ। १२ -१२ वर्षमा नचाइने श्वेतकाली नाच नरदेवीको डबली, तलेजु त्रिशूल चोक, कुमारी घर अगाडीको डबलीमा, पाटन कार्तिक नाच देखाउने डबलीमा, कीर्तिपुरको लायकुमा, भक्तपुर लायकुमा। ईन्द्रचोक आकाश भैरव अगाडी र राणाकलका सिंहदरबारमा र अन्तमा हुनमानढोका कालभैरव अगाडीको डबलीमा नचाइने चलन छ।