• चाकु दिवस तथा सम्मान कार्यक्रमको तयारी पुरा

    काठमाडौं (टोखा टाइम्स)। नेवाः गुथि तोखाको आयोजनामा माघेसङ्क्रान्ति पर्वको अवसर पारेर आउँदो माघ १ गते आयोजना हुन लागेको ‘तोखा चाकु दिवस, सम्मान तथा साँस्कृतिक कार्यक्रम’को तयारी पुरा भएको छ । नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले थनेलाछीमा आयोजना गर्न लागेको उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुराभएको जानकारी दिनुभएको हो ।

    उक्त कार्यक्रममा टोखाको मौलिक परम्परालाई जोगाइराख्न महत्वपूर्ण योगदान गर्ने विशिष्ठ व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान गर्न लागिएको नेवाः गुठी टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए ।

    नेवाः गुठीले उक्त कार्यक्रममा लामो समयदेखि टोखाको मौलिक परम्परागत बाजा तथा संस्कृतिलाई संरक्षण गर्दै आएका व्यक्तिहरुलाई नगद रु. ५० हजारसहित सम्मान गर्न लागेको छ । यस्तै, टोखाको मौलिक हस्तकलाको संरक्षण गर्ने दुई व्यक्तिलाई रु २५/२५ हजार नगदसहित सम्मान गर्न लागेको छ । यसैगरी टोखाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेर टोखाको साख जोगाएका खेलाडी, हास्यव्यङ्ग्य विद्या, मौलिक घर संरक्षणकर्ता र विभिन्न खलःलाई समेत सम्मान गर्न लागिएको अध्यक्ष नापितले बताए । नेवाः गुठीले टोखाको संस्कृति, सम्पदा, सङ्गीत, वाद्यवादन, शिक्षा तथा खेलकुदलगायत क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गर्न लागेको छ ।

    सो पुरस्कार टोखाको विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरुको स्मरण तथा नाममा स्थापना गरिएको ‘विद्वत पुरस्कार अक्षयकोष’बाट उक्त पुरस्कार प्रदान गरिने नेवाः गुठी टोखाका अध्यक्ष नापितले जानकारी दिए ।

    टोखा नगरपालिका–२ र ३ वडा कार्यालयको विशेष सहयोगमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति, टोखा परम्परागत चाकु संरक्षण समाजको सहयोगमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा टोखाको परम्परागत हस्तकलाको प्रदर्शनी, चाकुको प्रदर्शनी, विभिन्न बाजाको प्रदर्शनीका साथै नेवाः खाजाको परिकार स्टल समेत रहने छ ।

    चाकुको उद्गम थलो टोखामा यस वर्षदेखि प्रत्येक वर्ष माघ १ गतेलाई चाकु दिवसको रुपमा मनाउन लागेको हो । उक्त कार्यक्रम टोखाको थनेलाछिमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

    Facebook Comments Box