टोखा, १ माघ । टोखा नगरपालिका-३ स्थित बखुण्डोलमा श्रीमदभागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
शङ्केश्वर महादेव मन्दिरको भौतिक संरचना निर्माण तथा अक्षय कोष स्थापनार्थ आजबाट सुरु भएको महायज्ञको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उद्घाटन गरेका छन् ।
पुरानको पूर्वसन्ध्यामा बिहान शोभा कलश यात्रा निकालिएको छ । कलश यात्राले बखुण्डोल, टोखा बजार, धमल परिक्रमा गरेको थियो । माघ ९ गतेसम्म चल्ने महायज्ञमा प्रखर युवा वाचक पण्डित रामचन्द्र तिमल्सिना र १०८ भागवातका अभियानकर्ता पण्डित हरिचन्द्र तिमल्सिनाले कथा वाचन गर्ने श्री शङ्केश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव लक्ष्मी नारायण डंगोलले जानकारी दिए ।
टोखा नगरपालिका-३ बखुण्डोलमा रहेको शङ्केश्वर महादेवलाई धार्मिक पर्यटनका हिसावले समेत चिनाउनुका साथै अधुरो रहेको मन्दिर परिसरमा पर्खाल बनाउने तथा रकम जुट्यो भने महादेवको मन्दिरको पुनर्निर्माण तथा आवश्यक भौतिक पुर्वाधारहरूको निर्माण गर्ने उनले बताए ।
सप्ताह यज्ञको दैनिक कार्यक्रम: प्रत्येक दिन विहान ७:०० बजेदेखि मण्डप पूजा, ८:०० बजेदेखि पाठ पारयण, १०:०० बजेदेखि ४:०० बजेसम्म कथा प्रवचन भजन झाँकी, बेलुकी ७:०० बजे देखि १०:०० सम्म महात्म्य कथा भजन झाँकी, ८ गते साँझ जागरम, लाखबत्ती बाल्ले भागवतको पुस्तकमा तिल चढाउने र ९ गते भागवत समापन ।