• आज भिमा द्वादशी नेवाः समुदायले भिन्द्यः को पूजा साधना गरी मनाइँदै

    ९ फागुन, टोखा टाइम्स, काठमाडौँ । हरेक वर्ष विक्रम संवत् अनुसार माघ शुक्ल द्वादशी तथा नेपाल संवत् अनुसार सिल्लाथ्व द्वादशी तिथिलाई भिमा द्वादशीको रुपमा मान्ने गरिन्छ। नेवा: समाजमा भिं द्वादशीको नामले चिनिने यस तिथिमा भिन्द्य: तथा भिमसेनको पूजा गर्ने प्रचलन रहेको पाईन्छ । भिन्द्य: र भिमसेन एकै हो वा फरक हुन् भन्ने विषयमा दुई मत रहेता पनि यस दिन सबैले समान रुपमा पूजा गर्ने गर्दछन्।

    विशेष गरी व्यापार तथा समृद्धिका लागि पुजिने भिन्द्यः (भिमसेन) भिमा एकादशी अर्थात् एक दिन अगाडि व्रत बस्ने मान्यता रहेको छ। यसै कारण भिमा एकादशीको दिनमा भिमसेनको मन्दिरहरुमा विशेष पूजाहरु गरिँदैन। यसको भोलिपल्ट अर्थात् भिं द्वादशीको दिन घर, मन्दिर तथा पसलहरुमा चोखो भइ समयबजी राखेर भव्य पूजा गरि घरमा प्रसाद खाने चलन रहेको छ। यस दिन भिमसेनको पूजा गरेमा व्यापार व्यवसायमा वृद्धि हुने, घरमा सुख-शान्ती हुने, रोगबाट मुक्त हुने तथा घरमा शुभ हुने जनविश्वास रहेकोछ ।

    यस दिन परम्परागत रुपमा टोखामा रहेको भिं द्य: मन्दिरमा विशेष घुइँचो लाग्ने गर्छ । एकदशीका दिन बेलुका भिं द्य:को मुर्तिलाई विशेष आभूषणले सजाउने गर्छ । भिमा द्वादशीका दिन विहानदेखि भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्छ । दाफा भजन खल:हरूले विशेष भजनकृतन समेत गर्ने गरिन्छ । एउटै ढुङ्गाबाट निर्मित  यस भिन्द्यःको मुर्ति पाँच फिट अग्लो पुर्णकधको रहेको छ । आज विशेष गरी चाकु व्यवसायीहरुले धुमधामका साथ पूजा गरी भोज खाने गर्दछन् ।

    यसैदिन पाटनमा भिम्सेन पूजा परिक्रमा भनी प्राचीन नगर भित्रका सबै भिम्सेनस्थान घुम्ने गरिन्छ। यसै गरी यसै दिन दक्षिण ललितपुर भेगका थेचो, चापागाउँ, सुनाकोठी, धापाखेल आदि बस्तिहरुमा देवपुजा अर्थात् कुलपूजा मनाउने गरिन्छ।

    थेचो क्षेत्रमा कुलपुजा मात्र नभइ माधवनारायण जात्रा पनि हुने गर्दछ। पौष पूर्णिमादेखि सुरु हुने १ महिने माघ मेला अथवा माधवनारायण मेला यसै दिन समापन गर्ने गरिन्छ। थेचोको पिङ्गल क्षेत्रबाट सुरु हुने यस जात्रामा सहस्रधारा बगाउने तथा शरिरमा बत्ती बालेर दिपदान समेत गर्ने गरिन्छ।

    Facebook Comments Box