टोखा टाइम्स, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगर समितिले शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगर समितिले टोखा-६ मिलन बजारमा रहेको आफ्नो नगर कार्यालय प्राङ्गणमा उक्त रक्तदान कार्यक्रम गरिएको हो ।
पछिल्लो समय विभिन्न अस्पतालहरुमा रगतको अभावले गर्दा बिरामी मानिसहरुले समयमा रगत नपाएर दुःख पाउने गरेको समस्यालाई मध्यनजर गर्दै रास्वपा टोखा नगर समितिले शनिबार सम्पन्न गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्त दान गरेको टोखा नगर समितिका सभापति सुर्य प्रसाद काफ्लेले जानकारी दिए ।
कार्यक्रममा पार्टींका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने र काठमाडौं क्षेत्र नं. ६ का संघीय सांसद् तथा पूर्व शिक्षा मन्त्री शिशिर खनालको सहभागिता रहेको थियो ।
रास्वपा टोखाले ११ वटै वडा कमिटी गठन गरिसकेको र हाल टोखामा ५०० भन्दा बढि पार्टी सदस्य बनाइसकेको बताउदै नगर सभापति काफ्ले भने- ‘टोखा -५ मा वडा कमिटिको अधिवेशन सम्पन्न भैसकेको छ अब वडा नं. १० को अधिवेशन छिट्टै हुँदैछ । सबै वडाहरुको अधिवेशनमा नगर कमिटिले जोड दिएको छ ।’