टोखा टाइम्स, ४ मंसिर २०८१
टोखा नगरपालिका–९ नयाँ बस पार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ । नगरपालिकाले आज नयाँबसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमति खोला करिडोरमा निर्माण गरी सञ्चालनमा रहेका ८२ टहरा पसल हटाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना हटाइएको जानकारी दिए ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमती करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताए । टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिकाको रहेको उनको भनाइ थियो ।
नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताए । नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाएको थियो ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षौदेखि व्यापारी र केही व्यक्तिले हडपेका बसपार्क क्षेत्रको विष्णुमती खोला किनारका सार्वजनिक जग्गामा तत्काल पार्क निर्माण गरिने जनाएको छ । सो पार्कको नगरपालिकाले डिपिआर समेत तयार गरिसकेको छ । हरियाली पार्कभित्र पव्लिक शौचालय, बाल उद्यान, खुल्ला व्यायाम शाला र मन्दिर रहने छन् ।