• टोखामा १५ औं नेवाः एकता दिवस

    टोखामा १५ औं नेवाः एकता दिवस

    टोखा टाइम्स, २४ पुस । प्रत्येक वर्ष नेपाल संवतको तिथि अनुसार पोहेलाथ्व नवःमिको दिनमा मनाउँदै आएको १५औं नेवाः एकता दिवस उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा बुधवार टोखामा सम्पन्न भयो।

    १५ औ नेवा एकता दिवसका संयोजन नेवाः देय् दबुका केन्द्रीय अध्यक्ष प्रवित्र वज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो कलासंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

    नेवा समुदायभित्र विविधता भए पनि विविधताभित्र एकता भएको उहाँको भनाइ थियो।‘भाषा, संस्कृति,पहिचान जोगाउन नेवाः देय् दबूयाले काम गरिररहेको छ। यो अत्यन्त सकारात्मक छ। निरन्तरता पाओस्,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो’, आफ्नो भेषभूषा,कलासंस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’

    त्यस्तै फरक सन्दर्भमा उहाँले समयको मागअनुसार जनताको चाहना बमोजिम विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुने पनि बताउनुभयो। संविधान जारी हुँदाको अवस्था सम्झँदै उपप्रधानमन्त्री सिंहले दुई पटक संविधान सभा विघटन भएपछि पेचिलो अवस्थामा संविधान जारी भएको स्मरण गर्नुभयो ।

    कार्यक्रममा वक्ताले संविधानले आदिवासी जनजातिलाई अझै सम्बोधन गर्न बाँकी रहेको बताएका थिए।‘सरकारलाई सुनाउनुपर्ने कुरा सुनाउनुभएको छ। डेमोक्रेटिक सिस्टममा सबैले आफूलाई लागेको कुरा भन्न पाउँछन्। यो नै यसको सुन्दरता हो। मैले गर्न सक्ने काम गर्छु,’ उहाँले भन्नुभयो।

    नेवाः देय् दबूको संयोजनमा नेवाः मुक्ति मोर्चा, नेपाल नेवाः राष्ट्रिय संघ समाजवादी, नेपाः राष्ट्रिय पार्टी, लोकतान्त्रिक नेवाः संघ, जनता समाजवादी नेवाः संघ, ज्यापु महागुथि नेपाः, नेवाः जागरण मञ्च, हलिं नेवाः दबूनेपाः देय् मू कवः, हलिं नेवाः गुथि, नेवाः ग्वाहालि पुचः, आदिवासी नेवाः राजनीतिक अभियान, नेवाः देय् गुथि नेपालमण्डल लगायत विभिन्न टोखाका स्थानीय टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समिति, नेवा: गुथि टोखा र खल,पुचःको संयुक्त आयोजनामा यसरी पन्ध्रौं नेवाः एकता दिवस मनाउँन लागेको हो ।

    टोखाको सरस्वती चौरबाट सुरूभएको सांस्कृतिक बाजागाजा सहित टोखा नगर परिक्रमा पश्चात ट‍ोखाको थने लाछीमा सभामा परिणत भएको सभामा विशेष अतिथिको रूपमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, नेवाः अभियानता मल्ल के सुन्दर, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा उपस्थित थिए ।

    कार्यक्रममा नेवाः एकता दिवसको अवधारणालाई लिएर मल्ल के सुन्दरले आफ्नो अभिव्यक्ति राख्नुभयो, संविधान संशोधनको विषयमा नेवाः अवधारणा नेपाल नेवाः राष्ट्रिय संघ समाजवादीका अध्यक्ष माइला बाबु देउलाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा टोखा घोषणा पत्रको वाचन नेवाः देय् दबू स्वनिगः प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जनले प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा नेवाः कला, भाषा संस्कृतिका साथै संरक्षण र सम्बर्द्धनमा योगदान गरेको भन्दै टोखा नगरपालिका र टोखा -२ र ३ वडालाई सम्मान गरेको थियो । सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि मानवीय उपप्रधान एवम् सहरी बिकास मन्त्री प्रकाश मान सिंह प्रदान गरिएको थियो

    उक्त कार्यक्रममा देय दबुका निवर्तमान अध्यक्षले नेवाः देय् दबू टोखा नगर समितिका नयाँ सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । समितिको अधिवेशन मंगलबार सम्पन्न भएको हो । साथै कार्यक्रममा सहयोग गर्ने खल: पुचहरूलाई धन्यवाद पत्र प्रदान गर्ने गरिएको थियो ।

    नेवाः देय् दबूका महासचिव सत्यनारायण डंगोलले सञ्चालन गरेको कार्यक्रममा नेवार समुदायको पहिचान झल्कने विभिन्न नाच तथा सांगीतिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो ।

    नेपाल संवत ११३० पोहेलाथ्व नवःमीको दिनमा लाखौं नेवाःहरु दशरथ रंगशालामा भेला भई नेवाः समुदायले जन स्तरवाट नेवाः स्वायत्त राज्य घोषणा गरेको, विविधता भएका नेवाःहरु एकता भएको घोषणा गरेको दिनको सम्झनामा प्रत्येक बर्ष यो दिवस मनाउदै आएको हो।

    Facebook Comments Box