टोखा टाइम्स, २७ पुस । टोखा नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रममा आज टोखाको मुख्य सडकहरुमा आधुनिक सडक बत्ती जडान हुने भएको छ । टोखा नगरपालिकाको ६५ प्रतिशत लगानी र नेपाल विद्युत प्राधिकरणको ३५ प्रतिशत लगानीमा सडक बत्ती जडान हुन् लागेको हो । जसमा टोखा नगरपालिकाको २ करोड ८४ लाख ८३ हजार ९२३ लगानी गर्नेछ । त्यस्तै नेपाल विद्युत प्राधिकरणले १ करोड ५३ लाख ३७ हजार ४९७ गरी कुल लगानी ४ करोड ३८ लाख २१ हजार ४ सय २० रुपैयाँ लागतमा सडक बत्ती जडान हुनेछ ।
शुक्रबार नगरपालिकाको कार्यलयमा हस्ताक्षर कार्यक्रममा टोखा नगरपालिकाको तर्फबाट नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागका निर्देशक टेकनाथ तिवारी, राष्ट्रिय सडक बत्ती प्रर्वद्धन आयोजनाका उप–प्रबन्धक प्रमोद रिजाल र नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्रका प्रमुख बाबुराम सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा ६५ प्रतिशत लागत नगरपालिकाले अब नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्नुपर्नेछ । सडक बत्ती जडान कार्य नेपाल विद्युत प्राधिकरणले बोलपत्र आह्वान गरेर खरिद कार्य गर्नेछ । बत्तीको सुपरिवेक्षण विद्युत प्राधिकरणले गर्नेछ । सडक बत्ती निर्माण सम्पन्न भएको ५ वर्षसम्मको मर्मत सम्भारको कार्य निर्माण कम्पनीले गर्नुपर्नेछ । निर्माण व्यवसायीको दायित्वमा पर्ने वारेन्टी पिरियड भित्रका करेक्सन लगायत वार्षिक मर्मत सम्झौता भन्दा बाहिरका बत्तिहरु मर्मत, सम्भारका लागि नेपाल विद्युत प्राधिकरणको सहयोगमा नगरपालिकाले आफ्नो खर्चमा गराउन सक्नेछ ।