• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१८ फाल्गुन २०८१, आईतवार


    बिज्ञापन

    टोखामा गोली हानेर समातिएका गुड्डु लाल मोहम्मद प्रकरणका भारतीय सुटर भएको खुलासा

    प्रहरीका अनुसार, टोखामा गोली हानी समातिएका गुड्डु दुई वर्षअघि गोठाटारमा लाल मोहम्मदलाई गोली हानेर एउटा पेस्तोल समेत छाडेर भागेका व्यक्ति हुन् !

    १८ फागुन, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गोली हानी पक्राउ गरेका व्यक्ति दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी रहेको खुलेको छ ।

    कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतका अनुसार, टोखामा गोली हानी पक्राउ गरिएका गुड्डु पटेल मोहम्मद हत्यामा संलग्न सुटर हुन् ।

    प्रकरणका फरार आरोपीलाई खोजी गरिरहेको प्रहरी टोलीले उनी नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा पटेलले प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको उनले बताए ।

    उनका अनुसार, प्रहरीले सुरूमा दुई राउण्ड हवाई फायर गरेको थियो । यद्यपि, स्थितिलाई नियन्त्रणमा लिन थप गोली चलाउनु परेपछि उनी घाइते भएको बस्नेतले बताए ।

    ‘उनलाई अहिले उपचारका लागि अस्पताल लगेका छौं’, एसएसपी बस्नेतले अनलाइनखबरसँग भने ।

    पहिले प्रहरीले हतियार ओसारपसारमा संलग्न सामान्य व्यक्तिलाई मात्र समातेको तर, नाइकेसम्म पुग्न नसकेको भन्दै आलोचना भएको थियो ।

    मोहम्मदलाई भारतीय सुरक्षा निकायले नक्कली नोट कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएको थियो । भारतीय प्रहरीले उनीबारे चासो राख्दै पटकपटक हस्तान्तरण गरिदिन नेपाल प्रहरीका अधिकृतहरुलाई अनुरोध गरेको थियो ।

    मोहम्मदले आफू मारिनु एक हप्ता अगाडि मात्र सुरक्षा चुनौति रहेको भन्दै स्थानीय प्रहरी बिटलाई खबर गरेका थिए । तर, स्थानीय प्रहरीले त्यो सूचनालाई गम्भीरतापूर्वक लिएको थिएन ।

    पहिले हत्या आरोपमा जेल बसेर छुटेका मोहम्मद मारिनुअघि गोठाटारमा गार्मेट उद्योग चलाइरहेका थिए ।

    के थियो घटना ?

    सर्लाहीको गोडैता नगरपालिका–१०, मनहर्वा स्थायी घर भएका मोहम्मद ३ असोज २०७९ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट मारिएका थिए ।

    गोठाटारमा गार्मेन्ट उद्योग चलाइरहेका उनी त्यो दिन फ्याक्ट्रीका लागि आवश्यक प्लास्टिक लिन ग्राहक रामप्रसाद गौतमको बा ६ च ५१५२ नम्बरको कारमा जोरपाटी गएका थिए ।


    फर्किएर आउँदा साढे ६ बजेतिर फ्याक्ट्री अगाडि मोटरसाइकलमा कुरेर बसेका दुई सुटरले उनलाई नढल्नुञ्जेल गोली हानेका थिए । पछि प्रहरीले गरेको अनुसन्धानका क्रममा यसमा दुई जना भारतीय सुटर प्रयोग भएको खुलेको थियो ।

    तीमध्ये एक जना गुड्डुलाई प्रहरीले अहिले गोली हानी पक्राउ गरेको हो । मोहम्मदलाई गोली हानेपछि चार राउण्ड गोली समेत भएको एउटा पेस्तोल छाडेर उनी भागेका थिए ।

    त्यसबेला प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनमा पटेललाई भारतीय नागरिक भनिएको छ । भारतको रक्सौल बिहार घर भएका उनी अन्दाजी ४०/४५ वर्षको भएको त्यसबेलाको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

    लाल मोहम्मद हत्याले सम्झाएको १४ वर्ष पुरानो गोलीकाण्ड

    त्यसबेला जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको जाँचमा गुड्डु पटेल र राजु भनिने दिने पटेल घटनास्थल नजिकै रहेको कोशी पारि गेस्ट हाउसमा बसेको खुलेको थियो ।

    त्यहाँ बस्ने प्रबन्धक नितिन मदान नामक व्यक्तिले मिलाइदिएका थिए ।

    उनीहरुलाई मोहम्मद हत्याका लागि सुपारी दिने बब्लु पासवानलाई १६ वैशाख २०८१ मा जिल्ला प्रहरी कार्यालय, पर्साले गोली हानी पक्राउ गरेको थियो । त्यसबेला उनको साथमा लागूऔषध ब्राउन सुगर र गोली बरामद भएको भनिएको थियो ।

    प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार, सुमी भनिने सुस्मिता स्याङ्तान र मेरिना भन्ने ममता तिवारीले मोहम्मदको गतिविधिबारे लामो समयदेखि रेकी गरिरहेका थिए ।

    त्यसको जानकारी सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत उनीहरुले भारतीय नागरिक पासवानलाई पठाइदिने गरेका थिए ।

    त्यसपछि पासवानको निर्देशनमा दुई जना सुटर काठमाडौं आएका थिए । उनीहरुलाई वीरगञ्जका मोहराम मियाँ र अर्का एक नाबालकले पेस्तोल काठमाडौंसम्म ल्याइदिएका थिए ।

    उनीहरुलाई ४० हजार नेपाली रुपैयाँ दिने सर्तमा पासवानले काठमाडौं जाने भनेको बयानका क्रममा खुलेको थियो ।

    ‘मलाई २ थान म्याग्जिनसहितको पेस्तोल, एउटा पेस्तोल गरी ३ वटा र २६ राउण्ड गोली प्लास्टिकमा राखेर पठाइदिएका थिए’, मियाँले भनेका छन्, ‘त्यसपछि म वीरगञ्ज बसपार्कबाट काठमाडौं आउने रात्री बसको टिकट काटेर काठमाडौं आएको थिएँ ।’ – सबै अनलाइन खबरबाट

    Facebook Comments Box