• टोखा टाइम्स

    • प्रकाशित मिति:२८ चैत्र २०८१, शुक्रबार


    बिज्ञापन

    बालाजु (ल्हुति पुन्ही) बाईसधारा मेलाको तयारी पुरा, शनिबार ल्हुती पुन्ही मेला

    टोखा टाइम्स । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन हुने बालाजु ल्हुती पुन्ही (बाईसधारा) मेला तथा खट जात्राको तयारी तथा व्यवस्थापनको बारेमा आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    यस वर्ष चैत्र ३० गते शनिबार ल्हुती पुन्ही मेला परेको छ । मेलासंगै शुरू हुने खट जात्राको महत्व तथा व्यवस्थापनको बारेमा जानकारी दिने उद्देश्यले बालाजु ल्हुति पुन्ही (बाईसधारा) मेला व्यवस्थापन समितिले बालाजु उद्यानमा आज बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

    बालाजु ल्हुती पुन्ही बाईसधारा मेला तथा पाँच दिनसम्म चल्ने खट जात्राको बारेमा बालाजु ल्हुति पुन्ही (बाईसधारा) मेला व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बलामीको संयोजनमा भएको सो पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिका १६ वडाका वडाध्यक्ष रोजीना श्रेष्ठ, स्काउटर रञ्जनलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो भने समितिका सचिव विजय कुमार झाले कार्यक्रममा सहजिकरण गरेको थियो ।

    यस वर्ष बाईसधारा (ल्हुति पुन्ही) मेलालाई व्यवस्थित गर्नका लागि मेला व्यवस्थापन समितिका तर्फबाट सम्पूर्ण आवश्यक तयारी गरिनुका साथै भक्तजनहरुको सुरक्षालाई प्रमुख प्राथमिकतामा राखिएको समितिका अध्यक्ष तथा संयोजक प्रकाश बलामीले बताए । मेला तथा खट जात्रा सम्पन्न गर्नका लागि आवश्यक आर्थिक व्यवस्थापन काठमाण्डौं महानगरपालिकाबाट बजेट विनियोजन भएको समेत उनले पत्रकार सम्मेलनमा जानकारी गराए । मेला र जात्राको लागि भनेर महानगरले १ ५ लाख बजेट व्यवस्थापन गरेको छ । जस मध्य १० लाख मेला र ५ लाख खट जात्राको लागि रहेको समितिका अध्यक्ष बलामीले बताए ।

    सम्मेलनमा कामनपा १६ कि वडाध्यक्ष रोजीना श्रेष्ठले बालाजु (ल्हुती पुन्ही) बाइसधारा मेला तथा जात्रालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न मुल समिति मातहत रहने गरि आवश्यक उपसमितिहरूको गठन गरिए काम गरिरहेको बताइन् । वडाध्यक्ष श्रेष्ठले चैत्र ३० गते शनिबारका दिन मला भर्न र जात्रा अवलोकन गरेन सबैमा अनुरोध गरिन् ।

    त्यस्तै, स्काउटर रञ्जित लाल श्रेष्ठले विगतका वस्तुस्थितिलाई प्रस्तुत गर्दै आगामी मेला लक्षित स्काउले व्यवस्थापन समिति, नगर प्रहरी, ट्राफिक लगायतसंग समन्वय र सहकार्य गरि मेलालाई व्यवस्थित बनाउने बताए । नेपाल भाषामा ल्हुति भन्नाले ढुङ्गाको पहरी रसाएर आएको पानी भन्ने बुझिन्छ । प्रारम्भमा यहां पहरो रसाएर पानी बग्ने गर्दथ्यो र त्यसैको नामबाट नै यसको नाम ल्हुति रहन गएको भन्ने किंवदन्ती रहेको पाइन्छ । यसै मेला अन्तर्गत मनाइने ५ दिने खट जात्रामा विशेष गरि ४ वटा खटहरु क्रमशः लौरी विनायक गणेश (पुरानो गुह्येश्वरी), श्वेत विनायक गणेश बालाजु तथा लोलाडको जितगुरु गणेश र वज्रयोगिनी देवताहरु रहने गर्दछ ।

    बाइसधारा मेलाको लागि यस वर्ष समितिका तर्फबाट गरिएको तयारीहरू:-

    १) बाईसधारा उद्यान भित्र रहेको २२ वटै धाराहरु तथा यस मेला तथा जात्राका लागि यहाँ रहेका धार्मिक, पुरातात्विक चिजहरुको धार्मिक तथा सांस्कृतिक महत्व प्रदर्शन गर्ने गरि तयारी गरिएको । २) भक्तजन तथा अथितिज्यूहरुलाई व्यवस्थित तवरबाट मन्दिर दर्शन गर्नका लागि नेपाल स्काउट, सुरक्षा निकाय, विभिन्न संघ संस्थाहरु तथा स्थानिय स्वयं सेवकद्वारा सेवा प्रवाह गर्ने व्यवस्थापन गरीएको । साथै भईपरि आउने समस्याहरुको समाधानको लागि कमाण्ड पोष्टको व्यवस्था गरिएको । ३) आपतकालिन स्वास्थ्य सेवाका लागि विभिन्न स्वास्थ्य संघ-संस्थाहरुसंगको सहकार्यमा प्रथामिक उपचार तथा एम्बुलेन्सको व्यवस्था गरिएको ।

    ४) खानेपानी तथा व्यवस्थित शौचालयको व्यवस्था गरिएको ।

    ५) भक्तजनहरुको सुरक्षालाई पहिलो प्रथामिकतामा राख्दै सो दिन बालाजु चोक देखि बालाजु उद्यान परिसर तथा बालाजु बाईपाससम्म उच्च सुरक्षा सतर्कताका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी तथा महानगरिय प्रहरी बलसंग समन्वय गरिएको ।

    ६) नेवारी खाना तथा नेवारी परम्परागत बस्तुहरुको प्रवर्द्धका लागि स्टलहरुको व्यवस्था गरिएको । ७) कार्यक्रमलाई प्रचार प्रसारका लागि मेलाका दिन विभिन्न मिडिया मार्फत प्रत्यक्ष प्रसारण गरिनुका साथै मेला क्षेत्रहरुमा एल.इ.डि. स्क्रिनहरु राखिने व्यवस्था गरिएको ।

    ८) मेलाको दिनमा मेला व्यवस्थापनमा खटिनुहुने सुरक्षा निकाय, स्वयं सेवक तथा अथितिहरुका लागि चिया नास्ता, खाना खाजाको व्यवस्था गरिएको ।

    ९) खट जात्रालाई व्यवस्थित तथा प्रवर्द्धन गर्नका लागि विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरिने । १०) स्थानिय कलाकार तथा नेपाल प्रहरी व्याण्डबाट मौलिक संस्कृति झल्कने खालका सांगितिक कार्यक्रम प्रस्तुत गरिने । अन्तमा कार्यक्रम सम्पन्न भए पश्चात् मेला तथा जात्रा व्यवस्थापनमा सहयोग पुऱ्याउनुहुने तथा सरोकारवाला सम्पूर्ण व्यक्ति तथा संघ संस्थाहरुको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरि यस वर्षका लागि मेला जात्राका सम्पूर्ण कार्यक्रमहरूको समापन गरिने प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

    Facebook Comments Box