• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ बैशाख २०७९, बिहीबार


    बिज्ञापन
  • तारकेश्वर र टोखाको वडाध्यक्ष र मेयरमा उम्मेदवारी दिनुपरे कांग्रेसले तालमेल नगर्ने

    काठमाडौँ । सत्ता गठबन्धन आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्न तयार भए पनि प्रमुख सत्ता घटक कांग्रेसभित्र यसको खुलेर विरोध सुरु भएको छ । तालमेलबारे केन्द्रले निर्णय लाद्न खोजे विद्रोह हुने भन्दै तल्लो तप्काबाट नेताहरुले शीर्ष नेतृत्वको ध्यानकर्षण गराइरहेका छन् ।

    चुनावी तालमेलबारे स्थानीय तहलाई नै निर्णय गर्न दिनुपर्ने मतभेद कायम रहेकै बेला प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा उभिएका छन् । देउवाकै अडानले गठबन्धन गरेरै निर्वाचनमा जाने निष्कर्षमा कांग्रेस पुगेको छ ।

    शीर्ष नेतृत्वको यो निर्णय अहिले कांग्रेस नेताहरुका निल्नु न ओकल्नु बनेको स्रोतले जनाएको छ । केन्द्र र तल्लो तहबीच द्वन्द्व सुरु भएको छ । क्रमशः आफ्नो पकड भएको सबै स्थानीय तहमा कांग्रेस तालमेलको विपक्षमा देखिएको छ । विराटनगर, भरतपुर हुँदै यो छनक काठमाडौंमा पनि प्रष्ट देखिएको हो ।

    सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौंमा कांग्रेसको राम्रो पकड छ । मुख्य पदहरुमा कांग्रेसकै नेताहरु आकांक्षी छन् । वडा, नगरपालिकाको प्रमुख पदमा सकेसम्म कांग्रेसले पाउनुपर्ने उनीहरुको धारणा छ । उम्मेदवार तय गर्दा स्थानीय अवस्थाको विश्लेषणसहित पार्टीको मतभारका आधारमा गर्नुको विकल्प नभएको स्थानीय नेताहरुको तर्क रहेको टोखा नगरपालिकाका नगर सभापति ओम विमलीले बताए ।

    गठबन्धनको प्रमुख उदेश्य एमाले हराउनु रहेकाले नेतृत्व र गठबन्धनमा रहेका स्थानीय नेताहरुले पनि उम्मेदवार सिफारिस गर्दा हेक्का राख्नुपर्ने नेताहरुको भनाइ रहेको काठमाडौं क्षेत्र नं–६ का क्षेत्रिय सभापति श्यामकृष्ण खड्की बताए । गठबन्धनका नाममा केन्द्र वा जिल्लाले निर्णय लाद्न खोजे मान्य नहुने उनको भनाइ छ ।

    गठबन्धनको विकल्प नखोज्ने तर पार्टीको हैसियत र मतभारकै आधारमा हुनु पर्ने विषयमा जिल्लाले सहि मुल्याङकन् गर्नुपर्ने नेताहरुको सुझाव छ । त्यस्तै, कांग्रेस नेता विष्णुभक्त तिमिल्सिना तल्लो तहको नेताहरु मात्र नभइ कतिपय केन्द्रिय नेताहरु नै केन्द्रले चुनावी तालमेल लाद्न नहुने पक्षमा उभिएका छन् ।

    स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको हुँदा गठबन्धनका दलहरुबीच स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने अन्यथा आआफू निर्वाचन लड्ने पार्टीका केन्द्रीय महामन्त्री समेत रहेका गगन थापाले उल्लेख गरेका छन् ।

    चुनावी तालमेलका सवालमा काठमाडौंमा मात्र नभइ अधिकांश स्थानीय तहमा नेपाली कांग्रेस र गठबन्धनको ढाँचा बाझिएको छ । यस्तो अवस्थामा कांग्रेसले कसरी गठबन्धनभित्र पनि आफ्नो साख जोगाउँछ त ? भन्ने चासोको विषय बनेको छ ।

    Facebook Comments Box