• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:९ बैशाख २०७९, शुक्रबार


    बिज्ञापन
  • एसइई बन्दा पनि एसएलसीकै सास्ती

    काठमाडौँ । ‘४ दिन लाइपन धुलीबाट आयाकी हौं। बाटउणा कसा दुःख भया ? याँ पन बस्नाखी होटल पाइएन तसाइले ७ जनी एकै होटलमा बस्याकी छौं। परीक्षा दिनाखी पन यसा दुःख हे।’ बझाङ साइपाल गाउँपालिका–४ की छात्रा गीता रोकायाले पीडा पोखिन्।

    धुली माध्यमिक विद्यालयमा अध्ययनरत उनी घरबाट एसईई परीक्षा दिन चार दिन पैदल हिँडेर तल्कोट पुगेकी छन्। दुर्गाभवानी मावि तल्कोटबाट उनले परीक्षा दिनुपर्ने छ। ७ जना विद्यार्थी खौला बजारको एक होटलमा बसेका छन्। सबै एउटै कोठामा बस्दा पढ्ने वातावरण नभएको चिन्ता उनीहरूलाई छ।

    माध्यमिक शिक्षा परीक्षा (एसईई) आज सुरु हुँदैछ। कक्षा १२ सम्मलाई सरकारले माध्यमिक तहको शिक्षा माने पनि एसईई पुरानै शैलीमा चल्दैछ। नाम फेरिए पनि प्रवृत्ति उही छ। विद्यार्थीले एसएलसीको जत्तिकै सास्ती यो परीक्षामा पनि भोग्दैछन्। जाजरकोटस्थित त्रिभुवन माध्यमिक विद्यालयकी छात्रा स्मृति राना परीक्षा दिन केही दिनअघि नै नलगाडस्थित त्रिभुवन मावि दल्ली पुगेकी छन्। उनकी साथी इसिता खत्रीलाई त्यहाँ पुग्न एक दिन लाग्यो। दुवैले त्यहाँ कोठा भाडामा लिएर परीक्षा दिनुपर्ने बाध्यता छ। घरबाट टाढा गएर परीक्षा दिनु चुनौती छ नै, कोठा नपाउँदा साथीहरूसँगै कोचिएर बस्नु परेको स्मृति बताउँछिन्। ‘साह्रैै समस्या छ। परीक्षाको तयारी गर्नुपर्ने बेलामा व्यवस्थापकीय तयारीमा समय बितेको छ। परीक्षा नै बिग्रने डर भयो’, उनले भनिन्।

    दैलेखको पश्चिमी क्षेत्र आठबीस नगरपालिका–९ की जिरकला बिक पशुपति माविमा पढ्छिन्। तर, परीक्षामा आठबीस नगरपालिका–८ को कालिका मावि तिलेपाटामा हुन्छ। ‘परीक्षा केन्द्र नजिक बस्नलाई ठाउँ छैन। बिहान साढे ४ बजे नै घरबाट हिँड्नुपर्छ,’ उनले भनिन्। हिँड्दै दिन बित्ने भएकाले परीक्षाको राम्रो तयारी गर्न नपाउने उनी बताउँछिन्। कर्णालीका दुर्गम जिल्लामा एउटा गाउँबाट अर्कोमा जान घन्टांै लाग्छ। त्यस्ता ठाउँमा होम सेन्टरबाट परीक्षा दिन नपाइने निर्णयले विद्यार्थी र अभिभावकलाई समस्या छ।

    परीक्षाको शैलीले तनाव र सास्ती मात्र दिने गरेको अभिभावक कुशल थापा बताउँछन्। ‘दुर्गम तथा हिमाली जिल्लामा होम सेन्टर हटाउने निर्णय व्यावहारिक छैन,’ उनी भन्छन्।

    कर्णाली प्रदेशसभा सदस्य कृष्णा शाह यो परीक्षामा विद्यार्थीले धेरै समस्या झेल्ने गरेको बताउँछिन्। भन्छिन्, ‘अधिकांश परीक्षा केन्द्रमा खानेपानी र शौचालयको अभाव छ। घरदेखि टाढा हुँदा छात्राहरू यौनहिंसामा पर्ने जोखिम छ।’ शिक्षा ऐनमा विद्यालय तहसम्म घरबाट आधा घन्टाको दूरीमा अध्यापन गराउने व्यवस्था छ। तर, विद्यार्थीलाई थप सास्ती दिने गरी परीक्षा केन्द्र परिवर्तन गरिनु बाल अधिकारको समेत हनन् हुने काम भएको अधिकारकर्मी बताउँछन्। विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा लिने निर्णय गरेको छ। १० कक्षाको परीक्षा प्रदेश स्तरमा लिने सैद्धान्तिक सहमति भए पनि केन्द्रबाटै लाद्ने प्रवृत्ति नहट्दा समस्या भएको शिव मावि कालेगाउँ जाजरकोटका प्रधानाध्यापक तिलकबहादुर खत्री बताउँछन्।

    दुर्गमकालाई झनै सकस

    डोटीका दुर्गम स्थानदेखि सयौं विद्यार्थी सदरमुकाम सिलगढीमा पुगेका छन्। उनीहरूले एक दिनकै हजार रूपैयाँसम्म होटलमा भाडा तिर्नुपर्ने बाध्यता छ। दुई सातामा खान र बस्नका लागि नै ठूलो खर्च व्यहोर्नु पर्ने विद्यार्थीको गुनासो छ। दार्चुलाको व्यास गाउँपालिकामा रहेको सम्पाल मावि सुन्सेराका ७० विद्यार्थी ३ घन्टा हिँडेर हिमालय मावि हुतिमा परीक्षा दिन जाँदैछन्। हिमालय माविमै सिद्ध माविका २५ जना विद्यार्थीको केन्द्र परेको छ। व्यास गाउँपालिकामा ५ वटा मावि छन्। ती माविको केन्द्र हिमालय हो। सम्पाल मावि सुनसेराका शिक्षक पदमराज भट्ट भन्छन्, ‘होम सेन्टर हटाएपछि विद्यार्थी समस्यामा परे।’ डडेल्धुरामा ७० विद्यालयका ३१ सय १८ विद्यार्थी परीक्षा दिने तयारीमा छन्।

    साइपालकै काँडा माविका अर्का विद्यार्थी अनिल बोहरा पनि ३ दिन लगाए तल्कोट पुगे। तल्कोटको दुर्गा भवानी माविका विद्यार्थी साजना शाहीको परीक्षा केन्द्र सत्यवादी मावि भोपुर हो। उनी ४ दिन अगाडि सदरमुकाम चैनपुर आइन्। त्यहाँ बस्दा पढ्न वातावरण नमिलेको दुखेसो छ। बझाङको दुर्गाथली ६ चुवावन कोइली गाउँ घर भएका सुमन जाग्री साथीसहित हतार–हतार बुधबार परीक्षा दिन केदारस्युँस्थित चन्द्रोदय माध्यमिक विद्यालय भाटसैन पुगे। उनको घरबाट चन्द्रोदय मावि भाटसैन पुग्न पैदल १२ घण्टा लाग्छ। उनीजस्तै केदारस्युँ ७ कोटेलीका लोकेश जप्रेल पनि अलपत्र छन्। उनले पनि कोठा नपाएको गुनासो पोखे। सुमन जाग्री र लोकेश जप्रेल जस्तै चन्द्रोदय मावि भाटसैन परीक्षा केन्द्रमा ७ विद्यालयका १ सय ९४ जना विद्यार्थीले परीक्षा दिँदैछन्।

    यस्तै हालत बुंगल नगरपालिकाको महादेव मावि अठपालीको पनि छ। भौगोलिक हिसाबले निकै दुर्गम रहेको बुंगलमा पनि विद्यार्थीले परीक्षा अवधिभर डेरा खोज्नुपर्ने बाध्यता छ। त्यसैगरी, गोरखा, ल्हो मावि स्यालाका १३ जना विद्यार्थी एसईई दिन चार दिन पैदल हिँडेर भीमोदय मावि आरुघाट केन्द्र आइपुगेका छन्। चुमनुब्री गाउँपालिकामा परीक्षा केन्द्र नभएकाले धार्चे गाउँपालिका पार गरी उनीहरू आरुघाट गाउँपालिका आइपुगेका हुन्।

    विद्यार्थीलाई मानसिक सास्ती

    परीक्षा बोर्डको होमसेन्टर नराख्ने निर्णयले पहाडी भेगका बालबालिकालाई मानिसक रूपमै असर पुर्‍याएको छ। अध्ययन गर्ने समयमा उनीहरू एक साता अघि घर छोडेर परीक्षा केन्द्र क्षेत्रमा कोठा खोज्न बाध्य छन्। ‘कोठा नपाएकै कारण एउटैमा ६ जनासम्म बस्न बाध्य छन्’, अभिभावक गेल्जे शेर्पा भन्छन्, ‘पहिला आउनेले कोठा बुक गरिसक्ने भएकाले नपाउने डरले एक महिनाअघि नै कोठा खोजेर अग्रिम भुक्तानी गर्नु पर्छ।’ यसले बालबालिकामा मानसिक त्रास पैदा भएको अभिभावक रंजित लामा बताउँछन्। शिक्षा विकास तथा समन्वय एकाइ उदयपुरका सूचना अधिकारी भवानी कट्टेलले परीक्षा बोर्डकै नीतिगत व्यवस्था भएकाले आफूहरू कार्यान्वयन गर्न बाध्य भएको बताए।

    मुस्ताङमा अहिलेसम्मकै बढी परीक्षार्थी

    हिमाली जिल्ला मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा (एसर्ईई)दिने विद्यार्थीको संख्या हालसम्मकै बढी छ। यस वर्ष १ सय ८० जना विद्यार्थीले एसईई परीक्षा दिने केन्द्राध्यक्ष रामचन्द्र अधिकारी बताउँछन्। यस वर्ष मुस्ताङको थासाङ गाउँपालिकामा निजी क्षेत्रको एक बुद्धिष्ट विद्यालय थपिएसँगै एसईई दिने विद्यार्थीको संख्या बढेको हो।

    ५ लाख बढी परीक्षार्थी

    यस वर्षको परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी हुँदैछन्। एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए। उनले यस वर्ष ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९ सय १४ र छात्रा २ लाख ५७ हजार ५३ जना गरी कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुने बताए।

    दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २ सय ९९ विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन्। परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन्। आजको अन्नपूर्ण दैनिकमा समाचार छ ।

    Facebook Comments Box