टोखा टाइम्स, काठमाडौँ । लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ ।
पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो ।
उपत्यकाका पहाड शिवपुरी, नगरकोट, जर्सिङपौवा, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँसहित देशैभर वर्षा भएको छ । केही स्थानमा भारी वर्षा तथा अधिकांश स्थानमा सामान्यदेखि हल्का वर्षा भएको छ ।
शनिबार भने देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।