टोखा नगरपालिका थाले विष्णुमती करिडोर विस्तारको दोस्रो चरणको नापजाँच कार्य
टोखा टाइम्स, १७ पुस, काठमाडौं । टोखा नगरपालिकाले दोस्रो चरणको विष्णुमती करिडोर निर्माण अन्तर्गत आजबाट टोखा प्रहरी प्रभागदेखि बुढानिलकण्ठ क्षेत्रमा पर्ने विष्णुमती करिडोर क्षेत्रमा रहेका सरकारी जग्गाहरुको संरक्षण अभियानका लागि रेखाङ्कन कार्य सुरु भएको छ ।
आज बिहान टोखा नगरपालिकाको नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतसहित वडाका जनप्रतिनिधिहरु, स्थानीयबासी, नेपाल प्रहरि, नगर प्रहरि र नापी कार्यालय टोखाको रोहवरमा नापजाँच कार्य सुरु भएको टोखा नगर पालिकाको प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसिले जानकारी दिएका छन् ।
बिसीकाअनुसार पहिलो चरणमा टोखा नगरपालिकाले नयाँबसपार्कदेखि ग्राण्डी टावरसम्मको करिडोर क्षेत्रको जग्गा संरक्षण गर्दै सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको छ । केही ठाउँमा कालोपत्रे समेत गरिसकेको छ । त्यस्तै टोखा ११ को मनमैजु पुलदेखि मनोहर तिर्थ धामसम्म १० फिटे फुटपाथ निर्माण सुरु गरेको छ ।
टोखा नगरपालिकाले मेरुदण्डको रुपमा विष्णुमती करिडोर सडक निर्माण कार्यलाई प्राथमिकता दिएको छ । विष्णुमती करिडोरमा नयाँबसपार्कदेखि बुढानिलकण्ठसम्म दुईलाइन सडकको ट्रयाक खोलिसकेपछि साङ्ले खोला करिडोर क्षेत्रमा व्यक्तिले हडपेका जग्गाहरु संरक्षण गर्ने उद्देश्य नगरपालिकाले लिएको छ ।
आज भएको जग्गा नापजाँच कार्य टोखा वडा नं. ६ मा पर्ने विष्णुमती करिडोरमा पर्दछ । टोखा–६ मा सुभ होम्सले विष्णुमती करिडोर क्षेत्रमा कम्पाउण्ड वाल लगाएको छ । सो क्षेत्रको वालहरु सहमतीमै हटाएर करिडोर सडक निर्माण गरिने वडा नं. ६ का वडाअध्यक्ष शान्ता खनालले जानकारी दिनुभयो ।
भोलि २०८१ पुस १८ गते विहान ८ बजे टोखा -३ र ६ (टोखा प्रहरी प्रभाग माथि) विष्णुमती खोलाको सिमाना रेखांकन गर्ने भएको हुँदा सम्बन्धि जग्गा तथा घरधनीहरुलाई उपस्थितिका लागि नगरपालिकाले अनुरोध गरेको छ ।