• दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा आशिष र सपना उत्कृष्ट

    टोखा टाइम्स, २० पुस, काठमाडौँ । काठमाडौंका आशिष भुजेल र सपना रिखाम दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार उत्कृष्ट खेलाडी चुनिएका छन् । उत्कृष्ट बनेका आशिषले पुरुष ६८ केजीमुनि र सपनाले महिला ४६ केजीमुनि स्वर्ण पदक जितेका थिए ।

    टोखा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० केजीमुनि काठमाडौंका शुभम्जंग कुमार, ५४ केजीमुनि काठमाडौंका रोजन लामा, ६३ केजीमुनि चितवनका हरिबहादुर परियार र ५८ केजीमुनि काठमाडौंका अर्पण लामाले स्वर्ण जिते ।

    काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला ४९ केजीमुनि काठमाडौंकी पासाङ लामा, ५७ केजीमुनि भक्तपुरकी सोया चक्रधर, ४३ केजीमुनि चितवनकी सोनम महतो र ६३ केजीमुनि काठमाडौंकी स्वस्तिका महर्जनले स्वर्ण जितेका थिए ।

    टोखा नगरपालिका वडा ५ मा भएको प्रतियोगितामा करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जनाएका छन् । विजेतालाई टोखा नगरपालिकाका खेलकुद संयोजक नरोत्तम राणा, टोखा वडा ५ का अध्यक्ष मदन गुरुङलगायतले पुरस्कृत गरे ।

    Facebook Comments Box