टोखा टाइम्स, काठमाडौं । बबरमहल–बानेश्वर क्षेत्रमा शिक्षकहरूको आन्दोलन जारी रहँदा मंगलबार माइतीघर मण्डलामा सहकारी पीडितहरूले फरक ढंगले आक्रोश व्यक्त गरे। उनीहरूले पेटीकोट लगाएर मुख र टाउकोमा कालोपट्टी बाँधेर महिलाहरूले अर्धनग्न भई प्रदर्शन गरेका थिए ।
मुखमा कालो पट्टी बाँधेर, टाउकोमा कालो कपडा बेरेर प्रदर्शनकारीहरू सडकमा निस्किएका थिए। प्लेकार्डमा ‘सहकारी विश्वासको मृत्यु’ लेखिएको थियो। यो कार्यक्रम सहकारीपीडित बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा भएको हो।
महासंघका अध्यक्ष कुशलभ केसीले बताएअनुसार सहकारी घोटालामा परेको जनता लामो समयदेखि न्यायको पर्खाइमा छन्। “सरकारले पटकपटक गरेका सम्झौता कार्यान्वयन नगरेकाले हामी बाध्य भएर फरक शैलीमा प्रदर्शन गर्नुपरेको हो,” केसीले भने।
अध्यक्ष केसीका अनुसार सहकारीपीडितहरूले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीपरिषद् लगायत सबै निकायलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन्, तर अझै न्याय पाउन सकेका छैनन्।
सर्वोच्च अदालतमा सहकारीसम्बन्धी मुद्दाको सुनुवाइ सोमबार सम्पन्न भए पनि निर्णय नआएको भन्दै प्रदर्शनकारीहरूले आक्रोश पोखेका छन्। उनीहरूले माइतीघरबाट बबरमहल सम्म पुगेर कोणसभा गरेका थिए।
प्रदर्शनमा करिब १५ सय पीडित सहभागी भएको कुसलभ केसीको दाबी छ। सहकारी र लघुवित्त पीडितहरू संयुक्त रूपमा अझ बलियो आन्दोलन गर्ने तयारीमा रहेको महासंघले जनाएको छ।