टोखा टाइम्स, वैशाख ८, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि निरन्तर छलफल भइरहेको छ । आज पनि बिहानैदेखि छलफल भएको समिति सचिव दशरथ धमलाले जानकारी दिनुभयो ।
विधेयकमाथि दफाबार छलफल गर्न समितिले निश्चित समय तोकेर चैत ८ गते ११ सदस्यीय उपसमिति गठन गरेको थियो । सबै दफामा सहमति जुटाउन ३५ दिनको समय पाएको उपसमितिसँग अब १४ दिन बाँकी छ । विधेयकमा रहेको १६३ दफामध्ये अहिलेसम्म एक सय दफामा छलफल भएको छ । तीमध्ये ८० दफामा प्रारम्भिक चरणको सहमति जुटेको छ । बाँकी दफाहरुमा छलफल भइरहेको छ । छलफल हुन बाँकी रहेका विषयहरु निकै जटिल खालका र महत्त्वपूर्ण पनि रहेकाले धेरै छलफल गर्नुपर्ने र विधेयक पारित हुन समय लाग्ने शिक्षा समितिका सचिव दशरथ धमलाले बताउनुभयो ।
सरकारले वैशाख १२ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेको छ । यही अधिवेशनमा विधेयक पेश गर्नेगरी उपसमितिले काम गर्दै आएको छ । जतिसक्दो छिटो टुङ्ग्याउने भन्दै विधेयकमाथि निरन्तर छलफल भइरहेको समितिको भनाइ छ ।
कानून निर्माण गर्ने कुरामा हतार गर्न नहुने र सबै काम संसदीय प्रक्रिया पूरा गरेर हुने भएकाले आन्दोलन गरेर मात्रै छिटो काम नहुने समितिका सचिव धमलाको भनाइ छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालय कर्मचारीहरु २० दिनदेखि सडक आन्दोलनमा छन् ।
आज पनि आन्दोलाका लागि शिक्षकहरु बिहानैदेखि माइतीघरमा जम्मा भइसकेका छन् । शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण शिक्षामा गम्भीर असर परेको भन्दै अभिभावक सङ्घ नेपाल र अभिभावक महासङ्घले राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएका छन् । सरकारले माग पूरा गर्नको लागि सहमतिपत्र तयार पारे पनि शिक्षकहरु विश्वस्त हुन सकेका छैनन् ।