सत्यनारायण डंगोल (महासचिव, नेवाः देय दबू) टोखा टाइम्स, नेपालको प्राचीन मल्लयुद्ध परंपराको इतिहासमा सान्चा पहलमान एक यस्तो नाम हो, जसको उच्चारण गर्दा आज पनि एकखालको ऊर्जा र गौरवको अनुभूति हुन्छ।
काठमाडौं उपत्यकाको जीवन्त मुटु असन, इन्द्रचोक र केलटोलका पुराना नेवार बस्तीहरू आज पनि त्यो युगका मूक साक्षी हुन्, जहाँको माटो र अखडाहरूमा नेपाली पुरुषार्थ र अदम्य साहसको गाथा लेखिएको थियो। सान्चा पहलमान (नेवारीमा निपूर्ण वा बलशाली) नेपाली शारीरिक कौशल, सांस्कृतिक विरासत र अजेय आत्मबलका शिर्ष पुरुष थिए। उनको जीवनगाथा केवल एक पहलवानको मात्र कथा नभई, नेपाली राष्ट्रिय पहिचानको पुनर्जागरण गर्ने एक सशक्त सांस्कृतिक अभियानको गाथा पनि हो।
जन्म, परिवेश र आरम्भिक साधना
सान्चाको जन्म र बाल्यकालको आधिकारिक अभिलेख दुर्लभ भए तापनि, उनी काठमाडौंको नेवार समुदायको एक आम परिवारमा १८७० को दशकको आसपास भएको मानिन्छ। उनको बाल्यकाल तात्कालीन काठमाडौंको सांस्कृतिक वातावरणमा बित्यो, जहाँ मल्लयुद्ध (कुस्ती) केवल एक खेल नभई सामाजिक, धार्मिक र सांस्कृतिक जीवनको अभिन्न अङ्ग थियो।
सान्चाले आफ्नो युवावस्था पूरै मल्लयुद्धको परंपरागत शिक्षा र अभ्यासमा समर्पित गरे। उनको दैनिक जीवन अत्यन्त कठोर अनुशासनमा चल्थ्यो। सूर्योदयसङ्गै उठेर विष्णुमतीको चिसो पानीमा नुहाउने र त्यसपछि माटोको अखडामा ‘कसरा’ (माटोमा तेल दलेर गरिने अभ्यास) गर्ने उनको बिहानको नित्यकर्म थियो। दण्ड, बैठक, मुद्गल घुमाउने र आफ्नो शरीरमा तोरीको तेलले मालिस गर्ने नियमित शारीरिक अभ्यास गर्थे। मल्लयुद्धमा शारीरिक बलभन्दा बढी मानसिक स्थिरता र एकाग्रता आवश्यक पर्छ भन्ने मान्यता राखी योग, ध्यान र श्वास-प्रश्वासको आत्मिक र मानसिक साधनामा पनि उनी उत्तिकै महत्व दिन्थे। सान्चाको यो कठोर साधनाले उनको शारीरिक शक्तिलाई मात्र होइन चरित्र र मनोबललाई समेत निखारेको थियो। उनको जीवनवृत्तिले महानता जन्मले होइन, त्याग, तपस्या र अनुशासनले हासिल हुन्छ भन्नेकुरा प्रमाणित गर्छ।
मल्लयुद्ध परंपराको संरक्षक
मल्लयुद्धको खेल कौशल मानव सभ्यता जत्तिकै पुरानो छ। महाभारत कालका कृष्ण-कंश, भीम-जरासन्ध र भीम-दुर्योधन युद्ध देखि सबै सारीरिक सुगठन प्रदर्शन वा प्रतियोगिताहरू मुख्यत: कुस्ती वा मल्लयुद्ध नै थिए। नेपाली मल्लयुद्धको इतिहास पनि मल्लकाल वा त्यो भन्दा अघिसम्म पुग्छ, जहाँ त्यतिबेलाका राजा स्वयम् मल्लयुद्धका अभ्यासकर्ता, संरक्षक र प्रेमी हुन्थे। मल्ल राजाहरू मात्र होइन पछि राणाकालमा श्री ३ हरूले पनि दरबारका पटाङ्गिनीहरूमा कुस्ती प्रतियोगिता गराएर मनोरञ्जन लिने गर्दथे। पछिसम्म उपत्यकाका तीनै राज्य भक्तपुर(ख्वप:), पाटन (यंल) र काठमाण्डौ (यें) मा गाईजात्रा, इन्द्रजात्रा, माघे संक्रान्ति र विशेषगरी दशैँका बेला भव्य ‘मल्लखेल’ (कुस्ती प्रतियोगिता) आयोजना हुन्थे। यो परम्परा पछि गएर विस्तारै केही ओझेलमा परे पनि, स्थानीय स्तरमा यसको महत्व उसैगरी कायम थियो।
सान्चा पहलमानले यही परंपरालाई १८९० देखि १९२० को दशकको बिचमा पुनर्जीवित गरी उत्कर्षमा पुर्याए। उनी असन, इन्द्रचोक र टेकुको मल्लखेलमा बारम्बार विजय प्राप्त गर्दै नेपाली मल्लयुद्धको निर्विवाद नायक बने। कुनैपनि मल्लयुद्धमा कसैसङ्ग पनि कहिल्यै उनले पराजय भोग्नु परेन। उनी केवल पहलवान मात्र थिएनन्, नेपाली आत्मबलका प्रतीक थिए जसले आफ्नो कौशलले समाजलाई गौरव र प्रेरणा प्रदान गरे।
नेवारी मल्लकला
सान्चाको मल्लयुद्ध शैली अद्वितीय थियो, विचार सुस्पष्ट थियो र उनी सधैं भन्थे, ‘शक्ति त्यतिबेला मात्र सफल हुन्छ जब यसको प्रयोग बलपूर्वक नभई बुद्धिले गरिन्छ।’ उनले नेवारी मल्लकला (स्थानीय कुस्ती शैली) लाई निकै उचाइमा लगेर यसमा महारथ नै हासिल गरेका थिए। उनमा बलभन्दा चालमा निर्भर रहने, प्रतिद्वन्द्वीको आक्रमणबाट फुत्किने र शरीरको सन्तुलनलाई होसियारीसाथ कायम राख्ने खासशैली (Footwork and Evasion) थियो। पहिले प्रतिद्वन्द्वीलाई थकाउने, उसको शक्ति क्रमश: क्षीण पार्दैलग्ने र अन्तिम निर्णायक क्षणमा मात्र आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने चतुर्याइ थियो। उनका ‘घोडा दाब्ने चाल’ (प्रतिद्वन्द्वीको खुट्टामा प्रहार गरी सन्तुलन बिगारिदिने), ‘काँध घुमाउने फेक’ (काँधमा लोड गरेर नचाएर फ्याँक्ने) र ‘माथि उठाएर भुईँमा बजार्ने तकनिक आज पनि मल्लयुद्ध अभ्यासीहरूका लागि महत्वपूर्ण सीप हुन्। उनको मल्लयुद्ध आफैमा ‘युद्ध’ नभएर प्रत्येक चालमा संयम, समय र बुद्धिको समन्वयको विशुद्ध ‘कला’ अनि बुद्धिमत्ता र रणनीतिको उत्कृष्ट मिश्रण थियो। यसैले उनलाई साधारण पहलमानको श्रेणीबाट माथि उठाएर मल्लकलाका सिद्धहस्त खेलाडी बनायो।
ख्याकसङ्गको चर्चित द्वन्द्व
सान्चाको कीर्तिलाई इतिहासमा अमर बनाउने सबैभन्दा महत्त्वपूर्ण घटना सन् १९०० को सेरोफेरो भएको तिब्बती पहलवान ख्याक विरुद्धको निर्णायक मल्लयुद्ध थियो।
सान्चाको शरीरको बनोट र कद परम्परागत कुस्तीवाजको जस्तो मोटोघाटो, अग्लो र भयलाग्दो नभएर झट्टहेर्दा साधारण नै लागे पनि उनमा अचम्मको बल र फुर्ती थियो। थोरै होचोजस्तो कल्छौंदो वर्णका तर गठिलो शरीरका उनी प्रायः दौरा, सुरुवाल र इस्टकोटमा हुन्थे। वास्तविक बल उनको हातमा थियो र एकपटक कसैलाई पक्रेपछि उनको पकडबाट उम्कन लगभग असम्भव जस्तै हुन्थ्यो।
उता तिब्बती पहलमान ख्याक भने हेर्दै अग्लो, मोटोघाटो र निकै शक्तिशाली देखिन्थ्यो।
त्यो समयमा नेपाल र तिब्बत बिचको व्यापारिक सम्बन्ध अत्यन्त प्रगाढ थियो र तिब्बती व्यापारीहरूसङ्गै आउने बलशाली ‘ख्याक’ नामक पहलवानले काठमाडौंका प्रतिष्ठित पहलवानहरूलाई एकपछि अर्कोगर्दै पराजित गरिरहेको थियो। ख्याकको विशाल कद, लामो हात र अतुल्य बलले अन्य स्थानीय मल्ल योद्धाहरू उसङ्ग भिड्ने साहस नै गुमाइसकेका थिए। त्यस बखत काठमाण्डौका जनताको एउटै आशा सान्चा पहलमान हुनगए र नेपाली स्वाभिमानको रक्षाका लागि सान्चालाई अखाडामा उत्रिन सबैले प्रेरित गर्न थाले।
इन्द्रचोकको खुला चौरमा ऐतिहासिक मल्लयुद्धको आयोजन भयो। ढोल, नगरा, सहनाई र तुरहीको आवाजलेवातावरण गुञ्जायमान थियो र नेपाल मण्डलका तीनवटै शहरबाट मानव समुद्र खेल हेर्न जुटेको थियो।
आफूभन्दा अलिक सानो र होचो देखेर पहिलो चरणमा ख्याकले आफ्नो विशाल शारीरिक बलको उपयोग गर्दै साञ्चालाई हेप्न र मिच्न खोज्यो। सान्चाले आफ्नो प्रसिद्ध ‘ब्यालेन्स’ को प्रयोग गरी ख्याकको आक्रामक प्रहारबाट आफूलाई जोगाउँदै गए। उनले धैर्यतापूर्वक ख्याकको शक्तिको प्रतिरक्षा मात्रगरी उसलाई थकाउँदै गए। रणनीति परिवर्तन गर्दै दोस्रो चरणमा उनी आफ्ना चालबाजीमा केन्द्रित भए। अनि ख्याकको बललाई उसकै विरुद्ध प्रयोग गर्ने रणनीति अपनाउँदै उनले ‘घोडा दाब्ने चाल’ प्रयोग गरेर ख्याकको सन्तुलन बिगारिदिए र जमीनमा लडाए। ख्याक तत्कालै उठ्न सफल भए पनि उसको आत्मविश्वास डगमगायो। अन्तिम निर्णायक क्षणमा सान्चाले आफ्नो सबैभन्दा उत्कृष्ट र कलात्मक ‘दुई काँध समात्ने’ चालको प्रयोगद्वारा ख्याकको बलको सहारा लिँदै उसैलाई घुमाएर माथि उठाए र भुइँमा उत्तानो पछारी अन्तत: ख्याकलाई पराजित गरे।
दर्शकहरू हर्षातिरेकमा चिल्लाए “जय सान्चा ! जय नेपाल !” त्यो क्षण केवल एक कुस्तीको जित थिएन, नेपाली आत्मगौरवको अभिव्यक्ति थियो, जसले नेपाली माटोको बल र यहाँको संस्कृतिको शक्ति बाहिरी जगतमा प्रमाणित गर्यो।
विजयको प्रभाव र अमर विरासत
सान्चाको ख्याक माथिको यस विजयले तात्कालीन समाजमा गहिरो मनोवैज्ञानिक प्रभाव छोड्यो।
सान्चाको वीरता र कीर्तिमानले नेपाली जनतामा “हामी भौतिक रूपमा साना हुन सक्छौं, तर विवेक, साहस र कौशलमा कोहीभन्दा कम छैनौं” भन्ने आत्मविश्वास जगाइदियो। उनका कथा लोककथाहरू, भजन, जात्रा र नाटकहरूमा समावेश हुन थाले र नेवार संस्कृतिमा उनलाई ‘मल्ल-देवता’ (पहलमान-देवता) र तिब्बती ख्याक नामको लडाकालाई उपत्यकाको पुरानै विश्वास अनुरूपको “ख्याक” अर्थात् “मृतात्मा”को रूपमा लिने सांस्कृतिक मान्यता जस्तै बन्नगयो। केही स्थानहरूमा साञ्चाको सम्मानमा ‘मल्लगुठी’ (कुस्ती समूह वा ट्रस्ट)हरू समेत स्थापना भए, जसको उद्देश्य युवाहरूलाई मल्लयुद्धको तालिम दिनु र यस परंपरालाई जीवित राख्नु थियो।
उत्तरार्धको जीवन र प्रेरणा
सक्रिय मल्लयुद्धबाट अवकाश लिएपछि सान्चाले बाँकी जीवन युवा पुस्तालाई तालिम दिनमा समर्पित गरे र स्थानीय अखडाहरूका लागि ‘गुरु’ बनेर शक्ति सञ्चयका साथमा नयाँ नयाँ चाल विकासमा जोड दिए। “कुस्ती भनेको क्रोध होइन, कर्म हो; बल होइन, बुद्धि हो।” भन्ने नै उनको मूल शिक्षा थियो। यसले मल्लयुद्धलाई केवल मांसपेशी वा शरीर बलको खेल नभई, मानसिक संयम, आत्मिक बल र रणनीतिक कसरतको रूपमा अगाडि बढायो।
ठ्याक्कै तिथि-मिति र कारण अज्ञात भए पनि उनको मृत्यु लगभग १९३९ तिर भएको अनुमान छ र उनको स्मृति काठमाडौंका ‘मल्लखेल चोक’ र जनविश्वासमा आज पनि जीवित छ। पछिका प्रसिद्ध आधुनिक नेपाली कुस्तिवाज भीमबहादुर थापा, मानकाजी, र गोकर्ण शाक्य जस्ताले पनि साञ्चालाई आफ्नो ‘आदर्श गुरु’ मान्ने गरेको पाइन्छ।
अहिले पनि काठमाण्डौका नेवार बस्तीहरूमा शारीरिक रूपले सुगठित, अलिकन होचो जस्तो देखिने र ‘सानु’ नामहुने समेत तीन प्रकारका मान्छेलाई मित्रभाव र प्रेमले “सान्चा पहलमान” भनेर पुकार्ने गरेको सुनिन्छ।
निष्कर्ष
सान्चा पहलमान केवल नेपाली मल्लयुद्ध इतिहासका एक पात्र मात्र होइनन्, उनी नेपाली आत्मगौरव, सांस्कृतिक चेतना र अदम्य शक्तिको ज्वलन्त प्रतीक हुन्। साधारण परिवेश र स्थानीय अभ्यासमा पनि यदि अनुशासन, राष्ट्रप्रेम र आत्मबल जोडिएको छ भने, संसारको कुनै पनि चुनौतीलाई परास्त गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरेर देखाए।
आज पनि असन र इन्द्रचोकको भिडभाडमा पुग्दा हाम्रो पुरानो पुस्ताले त्यहाँको माटोको गन्धमा सान्चाको पसिना र साहसको सुगन्ध महसुस गर्छन्। उनको शौर्य र खेल कौशल नेपाली जनस्मृतिमा सधैँ अमर छ, उनी केवल पहलवान होइनन्, नेपाली आत्माको मूर्त र अपराजित स्वरूप हुन् ।
धन्यवाद !