• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१५ माघ २०८२, बुधबार


    बिज्ञापन

    काठमाडौं-५ : २६ उम्मेदवार प्रतिस्पिर्धामा

    काठमाडौं (टोखा टाइम्स) । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा  काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा २६ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, राप्रापका कमल थापा, रास्वपाका सस्मित पोखरेल र नेपाली कम्युनिस्ट पार्टी कल्पना शर्माले उम्मेदावारी दिएका छन् ।

    त्यसैगरी नेपाल मजदुर किसान पार्टीका शोभालाल श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ज्ञानेन्द्र प्रजापती, गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारी, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ, राष्ट्रिय जनमोर्चा अशोकविक्रम जीसी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) निमेश खनाल, मंगोल नेसनल अर्गनाइजेसनकी मीरा गुरुङ, मितेरी पार्टी नेपालकी सुनिता न्यौपानेले पनि उम्मेदवारी दिएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) युवराज काफ्ले, जनता समाजवादी पार्टी, नेपाल दानिन्द्र जोशी, त्रिमूल नेपाल रमेश तामाङ, आम जनता पार्टी कोमल पौडेल, प्रगतिशील लोकतान्त्रिक पार्टी विष्णु श्रेष्ठ र संयुक्त नागरिक पार्टीका श्यामकाजी सुनुवार पनि चुनावी मैदानमा छन् । त्यसैगरी जय मातृभूमि पार्टी बसन्तराज कुँवर, श्रम संस्कृति पार्टी अमित थापाले उम्मेदवारी दिएका छन् ।

    क्षेत्र नम्बर ५ मा ५ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । ढकबहादुर कार्की, रमिता सापकोटा, धर्म डंगोल, प्रभा श्रेष्ठ र क्यामुना मिजारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    २०७९ को निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस महामन्त्री प्रदीप पौडेलबीच भिडन्त भएको थियो । जसमा पौडेलले बाजी मारे ।

    काठमाडौं-५ मा ७८ हजार ११४ जना मतदाता छन् । जसमा ४० हजार ८३२ महिला र ३७ हजार २७८ पुरुष छन् । उनीहरूको मतले जित हारको फैसला गर्ने छ ।

    २१ फागुनमा हुने निर्वाचनको लागि यो क्षेत्रमा ३१ वटा मतदानस्थल र ९० वटा मतदान केन्द्र तोकिएको छ ।

    यस्तो थियो २०७९ को परिणाम

    २०७९ को प्रतिनिधिसभा चुनावमा विजयी भएका कांग्रेसका प्रदीप पौडेलले १५ हजार २६९ मत ल्याएका थिए । एमालेका ईश्वर पोखरेलले १० हजार १९०, रास्वपाका प्रणय राणाले ५ हजार ४७७, राप्रपाका रामप्रसाद उप्रेतीले ३ हजार १६२ मत ल्याएका थिए ।

    त्यसैगरी स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङले २ हजार ७६१, हेमराज थापाले २ हजार ४४६ र सुशान्त श्रेष्ठले १ हजार ७१२ र रन्जु न्यौपानेले ६०० मत ल्याएका थिए ।

    त्यसैगरी नेमकिपाका शैलेश डंगोलले १ हजार १२२ र हाम्रो नेपाली पार्टीका मधुसुदन पाठक ३६४ मत ल्याएका थिए ।

    Facebook Comments Box