• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२३ फाल्गुन २०८२, शनिबार


    बिज्ञापन

    काठमाडौँ–५ मा सस्मित पोखरेल विजयी, भने– ‘यो विजय हाम्रो साझा सपना र संघर्षको विजय हो’

    टोखा टाइम्स । काठमाडौँ : काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन्। विजयपछि उनले सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिँदै यो जित साझा सपना र संघर्षको परिणाम भएको बताएका छन्।

    पोखरेलले मतदाताले देखाएको विश्वास, साहस र आशाले आफूलाई यहाँसम्म ल्याएको उल्लेख गर्दै सबैप्रति गहिरो सम्मान र कृतज्ञता व्यक्त गरेका छन्।

    उनका अनुसार यो विजय कुनै एक व्यक्तिको नभई परिवर्तनको चाहना राख्ने युवाहरू, आफ्ना सन्तानको उज्ज्वल भविष्यको सपना देख्ने आमाबुबा र इमानदार नेतृत्वको अपेक्षा गर्ने सम्पूर्ण मेहनती नेपालीहरूको विजय हो।

    पोखरेलले मतदाताबाट प्राप्त जनादेशलाई पदको रूपमा नभई सेवाको जिम्मेवारीका रूपमा ग्रहण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले संसदमा जनताको आवाज उठाउने, साझा सवालहरू सम्बोधन गर्ने र समस्या समाधानका लागि निरन्तर प्रयास गर्ने बताएका छन्।

    “आउनुहोस्, हामी सबै मिलेर एउटा नयाँ अध्याय सुरु गरौँ— जहाँ आशा निराशाभन्दा बलियो हुनेछ, विकास वचनमा होइन काममा देखिनेछ, र राजनीति सच्चा अर्थमा आम नागरिकको सेवा बन्नेछ,” उनले भनेका छन्।

    पोखरेलले मतदाताले दिएको माया, विश्वास र समर्थनका लागि आभार व्यक्त गर्दै मुलुकको उज्ज्वल भविष्यका लागि सबै मिलेर अघि बढ्न आह्वान गरेका छन्।

    Facebook Comments Box