टोखा टाइम्स, काठमाडौँ । आज भिमा द्वादशी नेवाः समुदायले भिन्द्यः को पूजा साधना गरी मनाइँदै छ । हरेक वर्ष विक्रम संवत् अनुसार माघ शुक्ल द्वादशी तथा नेपाल संवत् अनुसार सिल्लाथ्व द्वादशी तिथिलाई भिमा द्वादशीको रुपमा मान्ने गरिन्छ। नेवा: समाजमा भिं द्वादशीको नामले चिनिने यस तिथिमा भिन्द्य: तथा भिमसेनको पूजा गर्ने प्रचलन रहेको पाईन्छ । भिन्द्य: र भिमसेन एकै हो वा फरक हुन् भन्ने विषयमा दुई मत रहेता पनि यस दिन सबैले समान रुपमा पूजा गर्ने गर्दछन्।
विशेष गरी व्यापार तथा समृद्धिका लागि पुजिने भिन्द्यः (भिमसेन) भिमा एकादशी अर्थात् एक दिन अगाडि व्रत बस्ने मान्यता रहेको छ। यसै कारण भिमा एकादशीको दिनमा भिमसेनको मन्दिरहरुमा विशेष पूजाहरु गरिँदैन। यसको भोलिपल्ट अर्थात् भिं द्वादशीको दिन घर, मन्दिर तथा पसलहरुमा चोखो भइ समयबजी राखेर भव्य पूजा गरि घरमा प्रसाद खाने चलन रहेको छ। यस दिन भिमसेनको पूजा गरेमा व्यापार व्यवसायमा वृद्धि हुने, घरमा सुख-शान्ती हुने, रोगबाट मुक्त हुने तथा घरमा शुभ हुने जनविश्वास रहेकोछ ।
यस दिन परम्परागत रुपमा टोखामा रहेको भिं द्य: मन्दिरमा विशेष घुइँचो लाग्ने गर्छ । एकदशीका दिन बेलुका भिं द्य:को मुर्तिलाई विशेष आभूषणले सजाउने गर्छ । भिमा द्वादशीका दिन विहानदेखि भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्छ । दाफा भजन खल:हरूले विशेष भजनकृतन समेत गर्ने गरिन्छ । एउटै ढुङ्गाबाट निर्मित यस भिन्द्यःको मुर्ति पाँच फिट अग्लो पुर्णकधको रहेको छ । आज विशेष गरी चाकु व्यवसायीहरुले धुमधामका साथ पूजा गरी भोज खाने गर्दछन् ।