टोखा टाइम्स, दरबारमार्ग, फागुन २५, २०८२ । दरबारमार्गस्थित ग्यालरी १०८ मा कलाकार एरिना ताम्राकारको चित्र प्रदर्शनी ‘Ma, Myself’ सुरु भएको छ। अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा आयोजित यस प्रदर्शनीले नारीत्व, आत्मपहिचान र आन्तरिक शक्तिको भावलाई केन्द्रमा राखेको छ।
प्रदर्शनीमा राखिएका ताम्राकारका कृतिहरूमा बारम्बार देखिने तलतिर झुकेको दृष्टिले मौनता र आत्मपहिचानमाथि गरिने गहिरो, भित्री चिन्तनलाई संकेत गर्छ। ती दृष्टिहरूले भित्री मनन र आत्मपरिचयको यात्रालाई उजागर गर्छन्। त्यसैबीच चित्रहरूमा देखिने तेस्रो आँखाको उपस्थिति ले स्पष्टता, आत्मविश्वास र आन्तरिक शक्तिको अनुभूति दिलाउँछ। यसरी प्रदर्शनीले व्यक्तिगत अनुभूति र भावनालाई दृश्य रूपमा प्रस्तुत गर्दै दर्शकलाई केही क्षण रोकिन, आफ्नै अस्तित्वसँग जोडिन र आत्मबोध महसुस गर्न प्रेरित गर्छ।
यस प्रदर्शनीको केन्द्रमा रहेको प्रतीक हो—“म” । कलाकारले यसलाई “म आफैं–आन्तरिक शक्ति” का रूपमा व्याख्या गरेकी छन्। नेपाल प्रचलित लिपिमा लेखिएको “म” साधारण तर शक्तिशाली चेतना र पहिचानको प्रतीकका रूपमा चित्रहरूमा उभिएको छ। यो प्रतीकले ऐनाजस्तै काम गर्दै व्यक्तिको भित्री र बाहिरी दुवै रूपलाई प्रतिबिम्बित गर्छ। तेस्रो आँखाको अवधारणाले चित्रहरूमा अर्को गहिरो आयाम थप्छ, जसले सतहभन्दा पर पुगेर विचार, भावना र चेतनाको तहसम्म हेर्ने दृष्टिको संकेत गर्छ।
चित्रहरूमा प्रयोग गरिएका गाढा सुन्तला, कालो र सुनौलो रङहरूले शक्ति, आवेग र सहनशीलताको भाव बोकेका छन्। आकृतिहरू र प्रतीकहरूको पुनरावृत्तिले कृतिहरूमा शान्त र लयात्मक प्रवाह सिर्जना गरेको देखिन्छ।
कलाकार ताम्राकारका अनुसार उनका कृतिहरू समकालीन समाजमा महिलाको स्थानप्रति प्रश्न उठाउने र त्यसलाई नयाँ ढंगले पुनर्विचार गर्ने प्रयास हुन्। “मेरा लागि “ म” भनेको आफैं भित्रको शक्ति हो, जुन तेस्रो आँखाबाट अनुभूत हुन्छ,” उनले भनिन्। उनका अनुसार नेपाल प्रचलित लिपिमा रहेको “म” को आकृतिले आत्म–चेतना, आत्म–स्वीकृति र आत्म–पहिचानको प्रतीकात्मक अर्थ बोकेको छ।
उनले आफ्ना चित्रहरू व्यक्तिगत जीवनयात्रा र अनुभवहरूको सचेत तथा अचेतन अन्वेषणबाट जन्मिएको बताइन्। “म” शृङ्खला नारीत्वमा आधारित रहेको र त्यसलाई गाढा सुन्तला, कालो र सुनौलो रङमार्फत अभिव्यक्त गरिएको उनले बताइन्। “चित्रहरूमा देखिने तलतिर झुकेका आँखाहरूले मौनता र आत्म–मननलाई संकेत गर्छन् भने तेस्रो आँखाको दृढ दृष्टिले उपस्थिति, अधिकार र आन्तरिक शक्तिलाई व्यक्त गर्छ,” ताम्राकारले सुनाइन्।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित यो प्रदर्शनी महिलाहरू र नारीत्वप्रतिको सम्मान पनि हो। प्रदर्शनीले शक्तिलाई यसको विविध रूपहरूमा शान्त तर गहिरो रूपमा स्वीकार गर्दै दर्शकलाई आफ्नै भित्र रहेको शक्तिलाई चिन्ने र स्वीकार गर्ने अवसर प्रदान गर्छ।