हिक्मत डंगोल, टोखा टाइम्स । भक्तपुरका विभिन्न शक्ति पीठहरू—ब्रम्हायणी, महेश्वरी, कौमारी, बाराही, इन्द्रायणी, महालक्ष्मी आदि देवी पीठहरूको प्रतिनिधिस्वरूप विभिन्न मुकुट धारण गराई श्री नवदुर्गा भवानी गणको स्थापना गरिएको पाइन्छ। यी शक्तिहरूको समष्टिगत प्रतीकका रूपमा स्थापित नवदुर्गा गण नृत्य विशेषतः भक्तपुर वनमाला गुठीद्वारा सञ्चालन हुँदै आएको छ।
यो नृत्य प्रत्येक वर्ष गणेश चतुर्थी (गठां मुगः) का दिन विधिवत् रूपमा सुरु भई भलभल अष्टमीका दिन सम्पन्न हुने परम्परा रहेको छ।


तान्त्रिक स्वरूप र धार्मिक विश्वास:
श्री नवदुर्गा भवानी गण नृत्य विशेष मुद्रा, विधि र मन्त्र उच्चारणसहित सम्पन्न हुने तान्त्रिक नृत्य हो। यस नृत्यमा सहभागी हुने व्यक्तिले सम्बन्धित देवगणको मुकुट धारण गरेपछि देवता स्वयं प्रवेश गर्ने (देव प्रवेश) विश्वास गरिन्छ। यही कारणले यो नृत्यलाई अत्यन्तै श्रद्धा, भय र सम्मानका साथ हेरिने गरिन्छ।
उत्पत्तिसम्बन्धी पौराणिक कथन:
नवदुर्गा नृत्यको उत्पत्तिसम्बन्धी एउटा रोचक पौराणिक कथन अनुसार, परापूर्वकालमा भक्तपुरको पूर्वतर्फ घना जंगलसहित रहेको इकुडो नामक स्थानमा नवदुर्गा भवानी आफ्ना गणसहित विराजमान थिइन् र त्यहीँ नृत्य गर्ने गर्थिन्।
एक दिन त्यहाँ एक तान्त्रिक आचाजु आइपुगे। नवदुर्गा गणहरूले उनलाई भेटी भोग लिन लाग्दा उनले विन्ती गरे—
“हे प्रभु! भोग दिनु अघि प्रभुहरूको पूजा गर्न पाऊँ।”
देवगणहरूले अनुमति दिएपछि उक्त तान्त्रिकले आफ्नो तन्त्रविद्याको प्रयोग गरी देवगणहरूलाई तारण हालेर बाँधे र घरमा ल्याई गोप्य रूपमा पूजा तथा नृत्य गराउन थाले। पछि यो रहस्य उनका गुरुलाई थाहा भयो र गुरुले नवदुर्गा गणलाई आफ्नै घरमा लगेर गोप्य पूजा र नृत्यको परम्परा चलाए।
तर गुरूकी जात नमिल्ने श्रीमतीले निषेधित कोठाको साँचो नपाए पनि एक दिन गुरू स्नानमा गएको बेला कोठा खोली देवगणहरू देखिन्। हेर्न नहुने व्यक्तिले हेरेपछि तन्त्रविद्याको प्रभाव समाप्त भयो र देवगणहरू भक्तपुरको पूर्वतर्फ प्रस्थान गरे।
बाटोमा एउटा सुँगुर भेटी त्यसको भोग लिएको कथन पाइन्छ, जसकै कारण आजसम्म नवदुर्गा भवानीलाई सुँगुर बलि चढाउने परम्परा रहेको मानिन्छ।
गुरुले देवगणलाई फर्कन आग्रह गर्दा देवगणहरूले आदेश दिए—
“अब यो नृत्य जीवित मानिसहरूलाई सिकाइ सबैले हेर्न पाउने गरी देखाइयोस्।”

माली समुदाय र परम्पराको निरन्तरता:
गुरुले आफ्नो घरमा पूजा सामग्री ल्याउने मालीलाई देवी नाच नाच्ने इच्छा छ कि छैन भनी सोध्दा मालीले स्वीकार गरे। उनले फूल राख्ने भाँडो (सोकोल) मा देवगणहरू राखी आफ्ना नाता–कुटुम्ब भेला गराई अरू कसैले नदेख्ने गरी नृत्य सिके र यसरी श्री नवदुर्गा भवानी गण नृत्यको सार्वजनिक परम्परा सुरु भयो।
यसै कारण आजसम्म पनि मालीको सोकोलमा अरूले हात हाल्न नहुने मान्यता प्रचलित छ।

मुकुट, सहभागी संख्या र देवगण:
श्री नवदुर्गा भवानी गण नृत्यमा कुल १३ वटा मुकुट हुन्छन्। श्री महादेवको मुकुट भने जीवित गणले धारण गर्दैनन्। पूजामा भने १९ जनालाई भाग चढाइन्छ, जसमा १३ जीवित गणसहित देवनकिं, सिफःद्य, पात्र, खिं, तां र काँय समावेश छन्।
मुकुट लगाउने गणहरू यसप्रकार छन्—
1. ब्रम्हायणी
2. महेश्वरी
3. कौमारी
4. वैष्णवी
5. बाराही
6. इन्द्रायणी
7. चामुण्डा (महाकाली)
8. महालक्ष्मी
9. भैरव
10. गणेश
11. सिंहिणी
12. ब्राहिंणी
प्रदर्शन क्षेत्र र सांस्कृतिक विस्तार:
श्री नवदुर्गा गण नृत्य भक्तपुरमा वर्षमा २४ पटक प्रदर्शन गरिन्छ। साथै उपत्यका र आसपासका विभिन्न स्थानहरूमा पनि देखाइने परम्परा छ, जस्तै—
टोखा, चपली, तुप्या, देउपाटन (पशुपति), साँगा, चुगाँ, साँखु, थिमी, नगदेश, वोडे, चाँगु, बनेपा, नाला, खडपु, चौकोट, धुलिखेल, पनौती आदि।
तस्वीर वी नेवार