• चतुर्मास दाफा भजन खलःलाई कृष्ण जात्राको लागि खट हस्तान्तरण

    टोखा टाइम्स, काठमाडौँ ।  संस्कृति संरक्षित क्षेत्र टोखाका दाफा भजन खलःलाई कृष्ण जात्राको लागि खट हस्तान्तरण गरिएको छ । टोखा संस्कृति सम्पदा संरक्षण दबुले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार तपलाछी दबुमा एक कार्यक्रमको आयोजना गरी टोखामा रहेका चतुर्मास पाँच दाफा भजन र एक भजन खलः गरी छ दाफा भजनहरुलाई  सो खट  हस्तान्तरण गरिएको हो ।

    टोखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोलको सभाध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा खट निर्माणका लागि आर्थिक सहयोग गर्ने  दाताहरु नाति डंगोल, सिह वीर डंगोल, समिर श्रेष्ठ, पञ्च नारायण श्रेष्ठ, दशराज श्रेष्ठ र भिन्द्यो डंगोललाई तलेजु गुथिका मूः नायो हेमराज श्रेष्ठले सम्मान पत्र वितरण गरिएको थियो ।

    खट हस्तान्तरण कार्यक्रममा तलेजु गुथिका मूः नायो हेमराज श्रेष्ठ , टोखा नगरपालिका २ र ३ का वडाध्यक्ष द्वय धर्मेन्द्र श्रेष्ठ , रमेश डंगोल, टोखा संस्कृति संरक्षित विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ,  नेवाःगुथि तोखाका अध्यक्ष रमेश नापित, दाफा भजन खलःका प्रतिनिधि तथा दबुका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

    टोखामा रहेका दाफा भजन खलःहरुले चतुर्मास भजन अन्तरगत श्रीकृष्ण जन्माष्टमी विशेष रुपमा मनाउदैँ आइरहेका छन् । अष्टमिका दिन आफ्नो भजन घरमा कृष्णसम्बन्धी तस्वीर प्रदर्शन गर्नुका साथै कृष्णको पूजा आराधना गरी रातभर जागा बसि कृष्णको स्तुति आरधाना गर्ने प्रचलन रहेको छ । नवमीका दिन बिहान कृष्णको प्रतिमालाई खटमा राखि बाजागाजाका साथ धुमधामले टोखा मूल बस्ती भित्र जात्रा गरी नगर परिक्रममा गर्ने चलन छ ।

    Facebook Comments Box